देउवा पक्षमा मधेशका सांसद शून्य

  • मंसिर १०, २०८३ | ६९ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन कुमार थापा पक्षबीचको विवाद चर्किँदै गएको छ । शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन गतिविधि अघि बढाएपछि सभापति थापाले त्यसमा सहभागी हुने पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएका छन् । तर, पार्टीभित्रको यो विवादमा भने मधेश प्रदेशका कांग्रेस सांसद देउवा पक्षको गतिविधिमा सहभागी नभएको पाएको बताइएको छ।

प्रदेशसभा सदस्यहरूको सहभागितालाई हेर्दा मधेश प्रदेश देउवा पक्षको प्रभावबाट बाहिर देखिएको एकजना पदाधिकारीले बैठकमा ब्रिफिंग गरेको जनाएको छ । अन्य प्रदेशमा प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म देउवा पक्षको महाधिवेशनमा सहभागी भइरहँदा मधेशमा भने कांग्रेसका कुनै पनि प्रदेशसभा सदस्य खुलेर देउवा पक्षमा उभिएका छैनन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसमेत सक्रिय रूपमा देउवा पक्षमा देखिएका छैनन् । जसले गर्दा कांग्रेसभित्रको शक्ति संघर्षमा मधेश प्रदेशका जनप्रतिनिधिहरू तत्कालका लागि संयमित र तटस्थ देखिएको संकेत गरेको छ ।

यद्यपि, उनीहरू संस्थापन पक्षमै पूर्ण रूपमा खुलेर लागेको वा कुनै पक्षलाई समर्थन नगरेको भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भएको छैन । मंगलबारदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले देउवा समूहको महाधिवेशनलाई अर्को पार्टीको गतिविधिका रूपमा व्याख्या गर्दै त्यसमा सहभागी हुने जनप्रतिनिधिलाई विधानअनुसार कारबाही गरिने बताएका थिए । उनले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिले अर्को पार्टीमा आबद्ध हुने निर्णय गरे सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

पार्टी छाडेर अर्को दलमा लाग्ने तर निर्वाचित पद नछाड्नेहरूलाई विधानअनुसार कारबाही गरिने उनको चेतावनी छ । सभापति थापाले पार्टी सभापतिको हैसियतले सबैलाई मिलाएर लैजान चाहेको भए पनि विधान कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन् । देउवा समूहको महाधिवेशनमा सहभागी हुने प्रदेशसभा र राष्ट्रियसभाका सांसदको संख्या करिब ३५ रहेको समाचारमा उल्लेख छ। कोसी प्रदेशमा केदार कार्की, भुपेन्द्र राई, रामकुमार खत्री, इन्दिरा थापा, सुनिता गच्छदार र खगेश्वरी पौड्याल देउवा पक्षमा देखिएका छन् ।

बागमती प्रदेशमा १५ जना सांसद देउवा पक्षमा रहेको बताइएको छ । गण्डकीमा जीतबहादुर शेरचन, सरस्वती गुरुङ र दिपेन्द्रबहादुर थापा तथा लुम्बिनीमा सरोज थापा -रोज राणा), माया पुनलगायत चार जना सांसद देउवा पक्षमा देखिएका छन् । सुदूरपश्चिममा भने देउवा पक्षको प्रभाव अझ बलियो देखिएको छ । त्यहाँ संसदीय दलका नेता कमलबहादुर शाहसहित नौ जना प्रदेशसभा सदस्य देउवा पक्षमा उभिएका छन् । कांग्रेसका १७ सांसदमध्ये आठ जना मात्रै सभापति थापा पक्षमा रहेको विवरणमा उल्लेख छ । राष्ट्रियसभाका कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्बबहादुर खाती र जगत तिमिल्सिना पनि देउवा समूहमा छन् ।

यता, देउवा समूहमा सहभागी भएको विषयलाई लिएर सभापति थापाको चेतावनीप्रति केही नेताले आपत्ति जनाएका छन् । कोशी प्रदेशसभा सदस्य केदार कार्कीले थापाको अभिव्यक्तिलाई तनावको उपज भन्दै कारबाहीको चेतावनीबाट आफूहरू नतर्सिने प्रतिक्रिया दिएका छन् । कार्कीले जनाए अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन छ । निर्वाचन आयोगमा पार्टीको विवरणसमेत अद्यावधिक नभएको अवस्थामा कारबाहीको चेतावनी दिनु उचित नभएको उनको तर्क छ । कांग्रेसभित्रको आधिकारिकता विवाद र दुई पक्षबीचको शक्ति संघर्षले पार्टीको संगठनात्मक एकतामाथि चुनौती थपेको छ ।

यस्तो अवस्थामा मधेश प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले कुन पक्षलाई साथ दिन्छन् भन्ने चासो बढेको छ । अहिलेसम्म देउवा समूहको महाधिवेशनमा मधेशका सांसदको सहभागिता नदेखिनुले यस प्रदेशको राजनीतिक समीकरण अन्य प्रदेशभन्दा फरक रहेको देखिन्छ । तर, पार्टीको विवादले थप राजनीतिक रूप लिँदै जाँदा मधेशका जनप्रतिनिधिको भूमिका र उनीहरूको आगामी निर्णयले कांग्रेसभित्रको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने लगायतको विषयमा पनि छलफल भएको बताइन्छ ।

मिटरब्याजसम्बन्धी नयाँ कानुन बन्दै, पाँच वर्षसम्म

अनुचित लेनदेन (मिटरब्याज) गर्ने तथा त्यससम्बन्धी पैसा उ ...

मंसिर १० गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर १० गते । बिहीबार ...

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या,

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब