लाइसेन्स परीक्षामा ७२ प्रतिशत इन्जिनियर फेल- कहाँ भयो कमजोरी ?

  • चैत १६, २०७९ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा इन्जिनियरिङ पेशामा आवद्ध हुन नेपाल इन्जिनियरिङ काउन्सिलमार्फत इन्जिनियरिङ अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने कानूनी व्यवस्था छ । अघिल्लो वर्षसम्म त्यस्तो अनुमतिपत्र प्राप्त गर्न नेपालभित्रका विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरे पुग्थ्यो । विदेशमा पढेका विद्यार्थीहरूले पनि त्रिभुवन विश्वविद्यालयमार्फत समकक्षतापत्र (इक्युभ्यालेन्ट सर्टिफिकेट) निकालेर बुझाए काउन्सिलले थप अध्ययन गरेर अनुमतिपत्र दिन्थ्यो ।

मेडिकल, कानूनलगायतका अन्य क्षेत्रमा व्यवसायिक अनुमतिपत्र लिन पहिलेबाट नै छुट्टै परीक्षाको व्यवस्था छ । तर, इन्जिनियरिङ क्षेत्रमा त्यस्तो परीक्षा नहुँदा उत्पादित जनशक्तिहरूको गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ । विशेषगरी विदेशबाट इन्जिनियरिङ अध्ययन गरेका विश्वविद्यालयको गुणस्तर र विद्यार्थीहरूले त्यहाँ अध्ययन गर्दा हासिल गरेको दक्षतालाई नेपालका विश्वविद्यालयको अनुपातमा मापन गर्ने कुनै आधार छैन । यो समस्यालाई समाधान गर्न यसै वर्षबाट इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङ अनुमतिपत्र परीक्षाको व्यवस्था गरेको छ । अर्थात अबदेखि इन्जिनियरिङ अध्ययन गरेपछि पनि इन्जिनियरिङ अनुमतिपत्र लिन काउन्सिलले लिने छुट्टै परीक्षा उत्तीर्ण गर्नैपर्छ ।

केही दिनअधि सम्पन्न पहिलो इन्जिनियरिङ अनुमतिपत्र परीक्षाको नतिजा निकै निराशाजनक रह्यो । परीक्षामा सहभागी दुई हजार ६ परीक्षार्थीमध्ये ५६५ जना (करिव २८ प्रतिशत) मात्र उत्तीर्ण भए । यसले नेपालको इन्जिनियरिङ शिक्षामाथि मात्र होइन, अघिल्ला वर्षहरूमा विनापरीक्षा अनुमतिपत्र लिएका इन्जिनियरहरूको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाएको छ । तर, यस्तो नतिजा आउनुमा धेरै कारण छन् ।

 

परीक्षामा सहभागी दुई हजार ६ परीक्षार्थीमध्ये ५६५ जना (करिव २८ प्रतिशत) मात्र उत्तीर्ण भए । यसले नेपालको इन्जिनियरिङ शिक्षामाथि मात्र होइन, अघिल्ला वर्षहरूमा विनापरीक्षा अनुमतिपत्र लिएका इन्जिनियरहरूको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाएको छ ।

पहिलो, अनुमतिपत्रको लागि यस्तो परीक्षा यही वर्ष गरिएको हो । परीक्षा अगाडि काउन्सिलले उल्लेख्य मात्रामा नमुना प्रश्नपत्र उपलब्ध गराएन । परीक्षाको लागि तोकिएको पाठ्यक्रमले ४ वर्ष अध्ययन गरेको सबै विषय समावेश गर्‍यो र यसले परीक्षण गर्न खोजेको सीप एवं क्षमता स्पष्ट भएन । त्यसैले परीक्षार्थीहरू परीक्षाको तयारी कसरी गर्ने भन्नेबारेमा प्रस्ट हुन पाएनन् र नतिजा कमजोर आयो ।

दोस्रो, नेपालका सर्वाेत्कृष्ट विद्यार्थीहरूको रोजाइमा पर्ने त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसबाट उत्तीर्ण प्रायः विद्यार्थीहरूले परीक्षा प्रणाली लागू हुनुअगावै अनुमतिपत्र पाइसकेका थिए । त्रिविका केवल १०० जना विद्यार्थी यो परीक्षामा सामेल थिए । जसमा ४६ जना उत्तीर्ण भए । त्यसैले यस वर्ष परीक्षामा सामेल हुने प्रायः विद्यार्थीहरूले (१९०३ जना) पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल र विदेशी विश्वविद्यालयमा अध्ययन गरेका थिए । अनुत्तीर्ण संख्या (२७ प्रतिशत) उनीहरूकै बढी देखिएको छ । त्यसमा पनि विदेशमा पढेर आएका ३७८ मध्ये केवल ५८ जना (१५ प्रतिशत) विद्यार्थी उत्तीर्ण भए । परीक्षाको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमकै वरिपरि रहेर बनाइएको हुनाले विदेशमा र नेपालकै अन्य विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई यो परीक्षा केही कठिन भएको अड्कल गर्न सकिन्छ । यसबाहेक अन्य तथ्यांकले देखाए झैं त्रिविबाहेकका विश्वविद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको यो परीक्षामा पनि छरपस्ट देखिएको छ ।

तेस्रो, यो पटकको परीक्षामा चार वर्ष इन्जिनियरिङमा पढाइ हुने सबै विषयलाई पाठ्यक्रममा समावेश गरिएको थियो । प्रश्नहरुसमेत त्यसरी नै सोधिएका थिए । इन्जिनियरिङका प्रत्येक विषय आफैंमा कठिन छ । अझ सबै विषयका भित्री विषयलाई समेत विनानमुना प्रश्न तयारी गर्न धेरै गाह्रो हुन्छ । विद्यार्थीहरूलाई पहिलेबाट पढेका सबै विषय र त्यहाँबाट परीक्षामा सोध्न सकिने सम्भावित प्रश्नहरू अहिलेसम्म याद रहने सम्भावना पनि न्यून हुन्छ । यसले गर्दा समेत परीक्षामा धेरै विद्यार्थी असफल भएको देखिएको छ ।

तर, धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको दोष परीक्षा पद्धति र पाठ्यक्रमको घनत्वलाई मात्र दिन मिल्दैन । यसमा सहभागी विद्यार्थीहरूको क्षमता, उनीहरुको विश्वविद्यालयको शैक्षिक गुणस्तर र उनीहरूले हासिल गरेको ज्ञानले पनि उत्तिकै भूमिका खेलेको छ । तर, यो पहिलो परीक्षा भएकाले अन्तिम समीक्षा गर्न पर्याप्त तथ्यांक छैन । अझै केही परीक्षाको नतिजा हेरेपछि बल्ल एउटा निक्र्योलमा पुग्न सम्भव हुन्छ ।

इन्जिनियरिङ अनुमतिपत्र परीक्षा सजिलो पक्कै हुनुहुँदैन । यो सक्षम इन्जिनियरलाई मात्र बजार प्रवेश गराउने फलामे ढोका बन्नैपर्छ । इन्जिनियरिङ ठूलो जिम्मेवारी भएको पेसा हो । एउटा असक्षम इन्जिनियरले निर्माण गरेको संरचना भत्किए हजारौं मानिसको ज्यान एकैपटक जोखिममा पर्दछ ।

यद्यपि अनुमतिपत्र परीक्षाको पाठ्यक्रमा पनि केही सुधार तत्काल गर्न सकिन्छ । सबै पाठ्यक्रम समेटेर यो परीक्षालाई लोकसेवा वा इन्जिनियरिङको सेमेस्टर परीक्षा जस्तो ज्यादा घनत्व भएको बनाइएको छ । जुन आवश्यक छैन । बरू थोरै विषय जाँच्ने तर त्यसमा इन्जिनियरको रट्ने क्षमताको साटो समग्र विषयको बुझाइ जाँच्दा उचित हुन्छ । यसका लागि परीक्षार्थीहरूलाई परीक्षा दिँदा सहविषय छान्ने अवसर प्रदान गर्न सकिन्छ । जस्तैः इलेक्ट्रोनिक्स इन्जिनियरलाई कम्युनिकेसन सिस्टम र कम्प्युटर नेटवर्क ऐच्छिक विषयको रूपमा छान्न दिन सकिन्छ । यस्तै विकल्प अरू विषयमा समेत दिन सकिन्छ । यसले विद्यार्थीलाई आफ्नो विज्ञता एवं सहजताको आधारमा थोरै विषयमा राम्रो तयारी गर्न सहयोग पुग्छ । साथै गुणस्तर मापनमा पनि प्रतिकूल असर पर्दैन । किनभने सामान्य सापेक्षताको सिद्धान्तलाई आधार मान्दा पनि एउटा विषय ऐच्छिक लिएर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीले आवश्यक परे त्यस्तै अर्काे विषय सहजै पढ्न वा उत्तीर्ण गर्नसक्छ । यसबाहेक नमुना प्रश्नपत्रको उपलब्धता र परीक्षाले जाँच्न चाहेको प्राविधिक पाटो स्पष्ट पारिदिए सक्षम विद्यार्थीलाई अझ सहज हुनेछ ।

इन्जिनियरिङ अनुमतिपत्र परीक्षा सजिलो पक्कै हुनुहुँदैन । यो सक्षम इन्जिनियरलाई मात्र बजार प्रवेश गराउने फलामे ढोका बन्नैपर्छ । इन्जिनियरिङ ठूलो जिम्मेवारी भएको पेसा हो । एउटा असक्षम इन्जिनियरले निर्माण गरेको संरचना भत्किए हजारौं मानिसको ज्यान एकैपटक जोखिममा पर्दछ । साथै राज्यलाई पनि ठूलो आर्थिक क्षति हुनसक्छ । त्यसैले अबका दिनहरूमा काउन्सिलले यस परीक्षालाई अनुभवका आधारमा अद्यावधिक गर्दै रटेर अनुमतिपत्र निकाल्ने माध्यमको साटो काविल इन्जिनियर चिन्ने बाटो बनाउनुपर्दछ । इन्जिनियरिङ अनुमतिपत्रको परीक्षा सरल तर गुणस्तर नाप्न सक्षम हुनुपर्दछ । यसलाई विश्वविद्यालयका सेमेस्टर परीक्षाले मापन गर्न छुटाएका गुणस्तर मापन गर्न केन्द्रित गर्नुपर्दछ । तर, परीक्षालाई गुणस्तरीय बनाउन पाठ्यक्रमको अनावश्यक भारमात्र थपिए यसले परीक्षा तयारी कक्षाको नाममा महंगा ट्युसन सेन्टरहरूलाई प्रश्रय दिनेछ । त्यसैले नेपाल इन्जिनियरिङ काउन्सिलले परीक्षाको सबै तथ्यांकलाई विस्तृत विश्लेषण गरेर यसलाई प्रत्येक वर्ष सुधार गर्दै लैजान आवश्यक छ ।

[email protected]|https://aamodkh.github.io

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब