अर्बौंको लसुन चीनबाट आयात ! भारततर्फ तस्करीको आशंकामा सूक्ष्म अनुसन्धान हुँदै

  • माघ २३, २०८१ | ७९ पटक पढिएको | सीमा संदेश
alt

पछिल्लो पाँच आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट सबैभन्दा बढी लसुन नेपाल आयात भएको देखिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको ४ करोड ६९ लाख ३९ हजार किलो लसुन चीनबाट आयात भएको तथ्यांकले देखाएको छ । चीनबाट औसत ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँ मूल्य बराबरको आयात हुने गरे पनि पछिल्लो समयमा किन यति लसुन आयात भयो भन्ने बारे शंका भए पछि भन्सार विभागले सूक्ष्म अनुसन्धान थालिएको छ ।

व्यवसायीहरुले जनाए अनुसार चीनबाट आयात भएको लसुन पछिल्लो समयमा खुला सीमाको फाइदा उठाउँदै तस्करले भारत पठाउने गरेका छन् । यसले गर्दा चीनबाट नेपालमा लसुनको आयात अत्यधिक परिमाणमा बढेको उनीहरु बताउँछन् । पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा सबैभन्दा बढी लसुन चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चीनबाट मात्रै आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २२ करोड ३९ लाख रुपैयाँबराबरको १ करोड ७० लाख २६ हजार किलो आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा ५ लाख ९९ हजार रुपैयाँबराबरको १ हजार ९ सय ९६ किलो लसुन चीनबाट आयात भएको थियो । एक आयातकर्ताका अनुसार चीनबाट आयत हुने लसुनको कूल परिमाणमध्ये झण्डै ८० प्रतिशत भारतमा तस्करी भइरहेको छ । व्यवसायीहरुका अनुसार पछिल्लो समयमा भारतमा लसुनको उत्पादन निक्कै कम परिमाणमा भएको थियो । मौसम प्रतिकूलका कारण भारतमा लसुनको उत्पादनमा कमी आउँदा मागअनुसार आपूर्ति नहुँदा त्यहाँ निक्कै महँगो मूल्यमा बिक्री भइरहेको छ ।

भारतमा प्रतिकिलो लसुनको मूल्य ४ सय भारतीय रुपैयाँ(प्रतिकिलो ६३९.८५ नेपाली रुपैयाँ)छ । चीनमा लसुनको मूल्य प्रतिकिलो करिब १५० देखि १६५ रुपैयाँ नेपाली पर्छ । खरिद भएको सो लसुनमा ढुवानी भाडा प्रतिकिलो करिब १५ रुपैयाँको हाराहारीमा लाग्छ । औपचारिक रुपमा चीनबाट आयात गरिएको लसुन नेपालसम्म आइपुग्दा करिब १८० देखि १९० रुपैयाँसम्म पर्छ । सो लसुन भारतमा तस्करी गरी पठाउँदा प्रतिकिलोमै कम्तीमा ३ सय रुपैयाँसम्म नाफा हुने भएकाले चीनबाट लसुनको आयात नेपालमा अत्यधिक बढेको छ ।

अनौपचारिक रुपमा भारतमा तस्करी हुने गरेकाले यसको विवरण भन्सार विभागको तथ्यांकमा उल्लेख नै छैन । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अत्यधिक परिमाणमा आयात भएको लसुन भन्सार विभागको आयातको सूचीमा १९ औं नम्बरमा परेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा चीनबाट आयात भएको लसुन भन्सारको आयातको सूचीमा ३३७ नम्बरमा परेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा आयातको सूचीमा चीनको लसुन १९५ नम्बरमा परेको थियो । भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पनि पछिल्लो असोज महिनादेखि नेपालमा चीनबाट अस्वभाविक रुपमा लसुनको आयात बढेको जनाए । सूचना अधिकारी श्रेष्ठले भने, ‘गत असोज महिनादेखि नेपालमा चीनबाट अत्यधिक परिमाणमा लसुनको आयात भइरहेको हामीले पाएका छौं, चालु आर्थिक वर्षको ६ महिनामा यो तथ्यांक झनै आश्चर्यजनक रुपमा पाइएको छ,’ उनले अघि थप्दैँ भने, ‘यति ठूलो परिमाणमा चीनबाट लसुनको आयात किन बढ्यो भन्ने विषयमा विभागले सूक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।’

चीनबाट लसुन आयात हुँदा प्रतिकिलोमा ३४ रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ । अत्यधिक परिमाणमा लसुन आयात हुँदा राजस्व पनि धेरै परिमाणमा उठेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चीनबाट लसुन आयात हुँदा सरकारले भन्सार विन्दुमा १ अर्ब ५९ करोड ६१ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड ४० लाख रुपैयाँ राजस्व असुली भएको थियो । चीनबाट आयात भएको लसुन भारत तस्करी भइरहेको विषयलाई बेला बेलामा सीमा क्षेत्रमा बरामद भइरहेको लसुनको घटनाबाट पुष्टि भएको छ । दुई साताअघि मात्रै भारत तस्करी गर्न लागेको ठूलो परिमाणमा चिनियाँ लसुन बिहारको मोतिहारीको सीमा क्षेत्रमा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । सीमा क्षेत्रमा करिब ७ सय मेट्रिक टन लसुन भारतीय प्रहरीले बरामद पनि गरेको थियो ।

त्यस्तै केही साताअघि सर्लाहीको सीमानाका क्षेत्रबाट एक क्वीन्टलभन्दा बढी लसुन, विराटनगरको सीमा क्षेत्र जोगवनी नजिकै १४८ र ३७५ किलो चिनियाँ लसुन भारतीय सीमा सुरक्षाकर्मीले बरामद गरेका थिए ।

धनगढीमा करेन्ट लागेर युवकको मृत्यु

सिरहा माकरेन्ट लागेर एक युवककोमृत्यु भएको छ। जिल्लाको ध ...

छुरी प्रहार गरी युवकको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । ह ...

पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्र ...

चैत्र ३ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र ३ गते, आइतबार । ईश्वी सन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब