अखाद्य मिठाई बेच्नेलाई ५ लाख जरिवाना, ५ वर्ष कैद

  • कार्तिक १८, २०८३ | २७ पटक पढिएको | सीमा संदेश
alt

तिहार र छठलाई लक्षित गर्दै सरकारले अखाद्य पदार्थ तथा मिठाईको बिक्रीवितरण नियन्त्रण गर्न बजार अनुगमन तीव्र पारेको छ । अखाद्य पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, निकासी वा पैठारी गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई बिक्रीमा राखिएका मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ । उपभोक्ताले सहजै देख्न सक्ने गरी सोकेस वा काउन्टरमा उक्त विवरण राख्नुपर्ने विभागले जनाएको छ ।

विभागले चार दिनअघि सूचना जारी गर्दै मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउन निर्देशन दिएको थियो । मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो ? मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ ? र प्रतिकिलो मूल्य कति हो ? भन्ने विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

यो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने सबै व्यवसायीका लागि लागू हुनेछ । विभागले निर्देशन पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जनाएको छ ।

विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर मात्र व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । तोकिएको मापदण्ड पूरा नगरे तत्काल २० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने र जरिवाना नबुझाए व्यवसाय सिलबन्दी गर्न सकिने व्यवस्था छ ।

विभागको निर्देशनलगत्तै देशैभरका जिल्ला प्रशासन कार्यालयले व्यवसायीलाई ऐन पालना गर्न निर्देशन दिएका छन् । ऐन उल्लंघन गरे कडा कारबाही गर्ने चेतावनी प्रशासन कार्यालयले दिएका छन् । विभागले सबै पसललाई लेभलिङ गरेर मात्र खाद्य पदार्थ वा मिठाई बिक्री गर्न निर्देशन दिएको छ ।
विभागका कर्मचारी रामप्रसाद ओलीले बजार अनुगमनलाई तीव्रता दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दशैँदेखि निरन्तर अनुगमन जारी रहेको र तिहारमा पनि जारी रहनेछ ।’

खाद्य स्वच्छता तथा गुणस्तर ऐनको दफा ३८ को खण्ड २ मा अनुगमन, जाँचबुझ वा आकस्मिक निरीक्षणका क्रममा कुनै खाद्य पदार्थको उत्पादन, प्रशोधन वा पैठारीमा त्रुटि, कमी, कमजोरी भएको वा ऐनबमोजिम तोकिएको स्वच्छता, गुणस्तर तथा मापदण्डअनुरूप नभएको वा मानव उपभोगका लागि सुरक्षित नदेखिएमा कारबाही गर्न सकिने व्यवस्था छ ।

ऐनमा भनिएको छ– ‘अनुगमन निरीक्षण र आकस्मिक निरीक्षणमा जाने अधिकारीको प्रतिवेदनको आधारमा महानिर्देशकले त्यस्तो खाद्य पदार्थको उत्पादन, प्रशोधन, पैठारी गर्ने खाद्य व्यवसायीलाई त्यस्तो खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता दिन आदेश दिन सक्नेछ ।’

बजारबाट फिर्ता गरिएको खाद्य पदार्थ पुनः बिक्रीवितरण गर्न नपाइने व्यवस्था ऐनमा छ । प्रदेश तथा स्थानीय तहलेसमेत खाद्य निरीक्षकमार्फत निरीक्षण तथा अनुगमन गर्न सक्नेछन् । त्यस्तै, खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गरी विश्लेषण तथा प्रतिवेदन तयार गर्ने व्यवस्था पनि ऐनले गरेको छ ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरले विशेषगरी बजारमा बिक्रीका लागि राखिएका मिठाईको गुणस्तर परीक्षण तथा अनुगमन सुरु गरेको छ ।

तिहारमा प्लाष्टिक र आयातित फूल प्रतिबन्ध

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाले यसपालिको तिहारमा प्लाष्टिकजन्य र आयातित फूल, माला तथा सजावटका सामान बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । स्वदेशी फूलको प्रवर्धनका लागि महानगरले यस्तो निर्णय गरेको हो ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्धित सामान बिक्री गरेको पाइए तत्काल जफत गरिने चेतावनी दिएको छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार टोलीले अनुगमन चुस्त बनाउनेछ ।

नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा माला सहजरूपमा बिक्री–वितरण गर्न कामपाले सरोकारवाला निकायसँगको समन्वयमा ३३ वटा निश्चित स्थान तोकेको छ । जसअन्तर्गत नयाँ बानेश्वरको एनबी सेन्टर र आइप्लेक्स मल, बत्तीसपुतलीको फोनिक्स टावर, शंखमूल र मध्यबानेश्वरको सेल्सबेरी, भृकुटीमण्डप, सिफलचौर, तीनकुनेचौर, चाबहिलको केएल टावर, कालीमाटी बैंक्वेट, कलंकी भाटभटेनी, गोंगबु, सुन्धाराको काठमाडौँ मल तथा महाराजगञ्ज, बालुवाटार र अनामनगरका मुख्य व्यापारिक क्षेत्रहरू रहेका छन् ।

यसैबिच, फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहारमा कुल ९४ लाख ८० हजार थान पुष्प सामग्रीको कारोबार हुने अनुमान गरेको छ । जसमा ५१ लाख ८० हजार थान फूलको माला र ४३ लाख थान गोदावरी तथा गमला समावेश छन् । यस वर्ष तिहारमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्यानको अनुमान छ ।

सन्तानब्बे जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री म ...

कार्तिक १८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १८ गते । बुधबार ...

तीन खुट्टा भएको बालिका जन्मियो

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म ...

मधेशको सत्ता राजनीतिमा नयाँ मोडको संकेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब