पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ । सङ्घीय संसद्को छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै जनता समाजवादी पार्टीका नेता डा. भट्टराईले प्रधानमन्त्री ओली संविधान, लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न हुनुभएको दाबी गर्दै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिनुभयो
डा. भट्टराईले लोकतन्त्र र कानुनविरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुर्याउन सत्ताको दुरुपयोग नगरी राजनीतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गर्नुभयो । लोकतन्त्र सुनिश्चित गर्न र देशलाई राजनीतिको सही बाटोमा हिँडाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको तर्क थियो । भट्टराईले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव समेत दिनुभयो ।
‘तपाईं जुन उचाइमा पुग्नुभएको छ । त्यही रहनुहोस् । तपाईंले अनावश्यक ढङ्गले यस्ता प्रकारका गतिविधिमा संलग्न हुँदा तपाईं आफैँमाथि पनि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ । र, लोकतन्त्र र तपाईंको आफ्नै छविलाई बचाएर अगाडि बढाउनका लागि तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ, ’ भट्टराईले भन्नुभयो ।
कोरोना सङ्क्रमणको जटिल र सम्वेदनशील समयमा मानवीय सवालमा केन्द्रीत हुनुपर्नेमा देशमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उहाँले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षड्यन्त्र गरेर बस्छ र संवैधानिक अंगहरु कब्जा गरेर आफ्नो खुसीले सबै संवैधानिक अङ्गमा नियुक्ति गरेर निरङ्कुशतातर्फ देशलाई लैजान सकिन्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभ सङ्केत होइन ।’
हालै जारी गरिएका दुई वटा अध्यादेश प्रकरणले ठूलो अनिष्टको सङ्केत गरेको भन्दै उहाँले फिर्ता भइहाल्यो भनेर छोड्न नहुने बताउनुभयो । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउन अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठेको टिप्पणी पूर्वप्रधानमन्त्री भट्टराईले गर्नुभयो ।
लकडाउनको समयमा रातारात तराईको जिल्ला पुगेर सांसदलाई काठमाण्डौ ल्याइएको घटनाले सबै कुरा स्पष्ट गरेको भन्दै उहाँले त्यसलाई कानुनी प्रक्रियाअनुसार समाधान गर्न आग्रह गर्नुभयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved