काठमाडौं । संविधान संशोधनको छुट्टै प्रस्ताव दर्ता गराउन पुगेका जनता समाजवादी पार्टी नेपालको सो प्रस्ताव संसद सचिवालयले दर्ता गर्न मानेन । गैरसरकारी विधेयकको रुपमा संविधान संशोधनको विधेयक दर्ता गराउन शुक्रबार जसपा नेपालका नेताहरु सिंहदरवारस्थित संसद सचिवालयको कार्यालय पुगेका थिए । उनीहरुले तयार पारेको विधेयक अध्ययन गरेपछि सचिवालयका महासचिवले यस विषयमा सभामुख अग्नि सापकोटासँग छलफल गरेपछि मात्र दर्ता गर्ने भनेपछि नेताहरु खाली हात फर्केका छन् ।
पार्टीका महासचिव केशव झाका अनुसार जसपाले तयार पारेको विधेयक फरम्याटका बारेमा सचिवालयका कर्मचारीले अध्ययन गरेका छन् । त्यसको बारेमा थप छलफल सभामुख सापकोटासँग गरेपछि आइतवार दर्ता गर्ने भनेर नेताहरुलाई फर्काएका छन् ।
सरकारले जारी गरेको नयाँ नक्साको सम्बन्धमा संविधान संशोधन गर्न संशोधन विधेयक संसदमा दर्ता गराएको छ । तर, जसपा नेपालले आफूहरुले राखेको मागको आधारमा प्याकेजमै संविधान संशोधन गर्न माग गरेको छ ।
त्यसै आधारमा उनीहरु आज संशोधन विधेयक दर्ता गराउनका लागि सचिवालय पुगेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved