कोरोना नियन्त्रणमा सरकारको १० अर्ब : कहाँ कति खर्च भयो ? यस्तो छ हिसाब किताब "राहत र क्वारेन्टिनमै सकियो ३ अर्ब ८४ करोड"

  • जेठ २२, २०७७ | ३३८ पटक पढिएको | सीमा संदेश
alt

सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि झन्डै १० अर्ब रुपैयाँ खर्च गरिसकेको बताएको छ । तर १० अर्ब खर्च कहाँ भयो त भनेर धेरैले प्रश्न गर्न थालेका छन् । १० अर्ब रुपैयाँ धेरै रकम भएको तर सरकारले देखिने गरी त्यो रकम खर्च नगरेको भन्दै त्यो रकमको हिसाबकिताब खोजिरहेका छन् । दुई दिनअघि मात्रै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि बजेट नै नदिएको आरोपसमेत लगाएका थिए । यद्यपि संघीय सरकारले भने प्रदेश सरकार र स्थानीय तहलाई समेत बजेट पठाएको र पठाएको बजेट खर्चसमेत नभएको जनाएको छ । 

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न तहले गरी कुल ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरिसकेका छन् । 

जसमध्ये संघीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । 

किट, मेसिन र पीपीई लगायतमै गयो ६ अर्ब ३ करोड

समितिका सदस्यसचिव विडारीका अनुसार कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले ६ अर्ब ३ करोड रुपैयाँ खर्च गरिसकेको छ । 

संघीय सरकारले खर्च गरेको ६ अर्ब ३ करोड रकममध्ये अधिकांश रकम औषधी तथा औषधीजन्य उपकरणमा खर्च गरिएको हो । कुन कुन शीर्षकमा खर्च भयो त भन्ने रातोपाटीको प्रश्नमा विडारीले भने, ‘संघीय सरकारले खर्च गरेकोमध्ये अधिकांश रकम औषधी तथा औषधीजन्य उपकरणमा खर्च भएको छ । त्यो भनेको पीसीआर मेसिन, किट, आरडिटी किट, पिपिई, प्रोटेक्टिभ चस्मा, पञ्जा, बुट आदि सबै खर्च हो । त्योबाहेक भारतबाट खरिद गरी ल्याइएको औषधी आदि पनि त्यसैमा समावेश भएको छ ।’

चीनबाट उद्धार गरी ल्याइएकाको खर्च पनि जोडियो
संघीय सरकारले चीनको उहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना विद्यार्थीहरुको खर्च पनि यहीँ समावेश ग्रिएको सचिव बिडारीले बताए । उनले भने, ‘यो खर्चमा चीनको ऊहानबाट ल्याइएका १ सय ७५ जना विद्यार्थीको खर्च पनि समावेश गरिएको छ । उनीहरुलाई यहाँ ल्याउँदा लागेको हवाई भाडा, क्वारेन्टिनमा राख्दाको खाना तथा बस्दोवस्तीको खर्च र अन्य खर्च पनि समावेश भएको छ ।’

सेनाको ढुवानी र पूर्वाधार निर्माणको खर्च पनि संघीय सरकारकै 

कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारले गरेको खर्चमा पूर्वाधार निर्माण तथा औषधी र औषधीजन्य उपकरणको ढुवानी गर्न सेनाले गरेको उडानको खर्चसमेत जोडिएको छ ।
 सचिव विडारीले भने, ‘संघीय सरकारले खर्च गरेको ६ अर्ब ३ करोडमध्ये केही रकम पूर्वाधार निर्माण र औषधीजन्य उपकरणको ढुवानीमा समेत खर्च भएको छ । विभिन्न जिल्ला र प्रदेशमा स्वास्थ्य उपकरण पुराउन नेपाली सेनाको हेलिकोप्टरहरु प्रयोग गरिएको छ । त्यसको खर्च पनि यही खर्चमा समावेश गरिएको छ भने अन्य पूर्वाधार निर्माणमा भएको खर्च पनि यही खर्चभित्र रहेको छ । यी सबै खर्च जोड्दा संघीय सरकारले ६ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको हो ।’

प्रदेशले सक्यो १ अर्ब ८ करोड रुपैयाँ
कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले पनि १ अर्ब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश सरकारको आन्तरिक बजेट बाहेक नै संघीय सरकारले २ अर्ब रकम कोरोना रोकथामका लागि निकासा गरेको सचिव विडारीले बताए । 

संघीय सरकारले विभिन्न प्रदेशहरुलाई २ अर्ब रुपैयाँ संघीय बजेटबाट प्रदेशहरुलाई पठाएको थियो । जसमध्ये १ अर्ब ८ करोड रुपैयाँ प्रदेश सरकारहरुले खर्च गरेका छन् । २ अर्ब रकम पठाएको भएपनि प्रदेश सरकारले दिएको बजेटसमेत खर्च गर्न सकेका छैनन् । 

स्थानीय तहले सके २ अर्ब ७६ करोड, १ सय २४ स्थानीय तहको विवरण आएन
कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले पनि २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय २९ स्थानीय तहले आफूले गरेको खर्चको विवरण कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पठाएका छन् । 

संघीय सरकारले विभिन्न स्थानीय तहहरुका लागि ४ अर्ब रुपैयाँको संघीय बजेट पठाएकोमध्ये स्थानीय तहहरुले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका हुन् । अहिले ६ सय २९ स्थानीय तहको मात्रै विवरण प्राप्त भएकाले खर्च भएको रकममा केही वृद्धि हुने सचिव विडारीले बताए । 

राहत र क्वारेन्टिनमै सकियो ३ अर्ब ८४ करोड
संघीय सरकारबाहेक प्रदेश सरकार र स्थानीय तहमार्फत् भएको अधिकांश खर्च राहत तथा क्वारेन्टिनको निर्माणमा खर्च भएको प्रधानमन्त्री कार्यालयका सचिव समेत रहेका विडारीले बताए । 
उनले भने, ‘संघीय सरकारको बजेट औषधी र औषधीजन्य उपकरणमा खर्च भएपनि प्रदेश सरकार र स्थानीय तहले गरेका अधिकांश खर्च राहत वितरण र क्वारेन्टिन निर्माणमै सकिएका छन् । प्रदेश सरकारले गरेको १ अर्ब ८ अर्ब र स्थानीय तहले गरेका २ अर्ब ७६ करोड खर्चमध्ये केही केही स्थानमा केही सामान्य पूर्वाधार निर्माणमा खर्च भएको भएपनि अधिकांश खर्च भनेको राहत वितरण र क्वारेन्टिन निर्माणमै खर्च भएका छन् ।’

‘राहत पनि कोरोना रोकथामको खर्च हो र ?’ भन्ने रातोपाटीको प्रश्नमा सचिव विडारीले भने, ‘कोरोनाकै कारण लकडाउन गरिएको र त्यसको मारमा परेकाहरुलाई राहत दिइएकाले यो पनि कोरोना रोकथामकै लागि भएको खर्च मान्नुपर्छ । क्वारेन्टिन भनेको त अझै स्पष्टरुपमै नियन्त्रणका लागि गरिएको काम भयो । त्यसकारण यी दुबै खर्च कोरोना रोकथामकै लागि हो भनेर बुझ्नुपर्छ ।’

एनजीओ, आइएनजीओ र विकास साझेदारको खर्च जोडिएन
कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि हालसम्म भएको ९ अर्ब ८७ करोड खर्चमा नेपालमा क्रियाशील एनजीओ, आईएनजीओ र विकास साझेदारहरुले गरेको खर्च समावेश नगरिएको सचिव विडारीले बताए । विभिन्न स्थानमा विभिन्न संघ संस्थाहरुले राहत वितरण गरेको भएपनि त्यसको विवरण नआइसकेको हुँदा त्यहाँ भएको खर्च समावेश नभएको उनले बताए ।  

कोरोना कोषमा २ अर्ब ३२ करोड रकम


सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको पनि सचिव विडारीले बताए । 
यद्यपि उक्त रकमले नियन्त्रणमा सहयोग पुर्‍याएको भएपनि पर्याप्त नरहेको उनको भनाइ छ । कोषमा भएको रकममध्ये १ अर्ब २० करोड रुपैयाँ निकासा गरी खर्च गरिएको र अरु रकम कोषकै खातामा रहेको पनि उनले बताए । कोरोना कोषबाट खर्च भएको १ अर्ब २० करोडबाहेक अरु रकम भने संघीय सरकारको बजेटरी सिस्टमबाट खर्च भएको सचिव विडारीले बताए । 

अझै सहयोग गर्न आग्रह
समितिका सदस्य सचिवसमेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले कोषमा हालसम्म सहयोग गर्नेलाई धन्यवाद दिँदै अझै सहयोग गर्न आग्रहसमेत गरेका छन् । 

उनले भने, ‘कोषमा ज–जसले सहयोग गर्नुभयो, त्यो महत्वपूर्ण छ र कोरोना नियन्त्रणमा यसले धेरै मद्दत पुराएको छ । कोरोना कोषमा ज–जसले सहयोग गर्नुभएको छ उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु र अहिले पनि दैनिक जसो रकम थपिने क्रममा नै रहेको छ । अझै थप सहयोग गरिदिन पनि म आग्रह गर्छु ।’

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब