काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन महिनासम्म कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गर्नुभएको छ । उहाँले साउन अन्तिमतिर उच्च बिन्दुमा पुग्ने र मंसिर अन्तिमतिरबाट कोरोना संक्रमणको संख्या ओरालो लाग्ने बताउनुभएको हो ।
बिहीबार राष्ट्रिय सभामा संसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘भदौको शुरूबाट कोरोना ओरालो लाग्छ, तर दशैंतिर छठका कारणले संक्रमण बढुन सक्छ, त्यो खतराबाट हामीले जोगाउनुपर्छ ।’
अहिले कोरोना संक्रमितको संख्या ओरोलो लागेको बताउँदै नेपालीहरूमा इम्युनिटी पावर बढी भएका कारण संक्रमणको संख्या कमी भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘कोराना भनेको रुघा–खोकी जस्तो हो । तातोपानी खाएर भगाउनुपर्छ भने उच्च मनोबल राख्नुपर्छ ।’
‘दशैं–तिहार र छठ जस्ता चाडहरू आउँदै छन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’ –उहाँले भन्नुभयो ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा विरोध गर्नुको सट्टा प्रधानमन्त्री ओलीले खोजेर पढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘विरोधका लागि मात्र विरोध नगरौं, खुट्टा टेकेर हिँडनुपर्छ, जथाभावी बोलेर भ्रममा पार्ने काम नगरौं ।’
लहलहीमा एमसीसी सम्झौताले नेपालमा अमेरिकी सेना आउँछ भन्ने भ्रम फैलाएको बताउँदै उहाँले भन्नुभयो– ‘पढे हुन्थ्यो नि सम्झौतामा के लेखिएको छ ।’ सम्झौताबाट देशमा विकास र समृद्धि हुन्छ भन्ने चिन्ता बढी देखिएको बताउँदै प्रधानमन्त्री ओलीले यसका बारेमा फेरि बोल्ने बताउनुभयो ।
आफूले इतिहासमा कहिल्यै गल्ती नगरेको बताउँदै देशका नीति नियम कानुन बनाउन देशको सर्वोपरी हितलाई केन्द्रमा गर्नुपर्ने बताउनुभयो । ‘मेरो अभिव्यक्तिमा म चुकेको छैन । ५५ वर्ष भयो राजनीति गरेको, मेरो इतिहास खोजे हुन्छ । एउटा शब्द त्रुटिपूर्ण भए प्रमाणसहित निकालिदिए हुन्छ’, –प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘इतिहासमा सत्य सावित हुनुपर्दछ ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved