मधेसको माखेसाङ्ग्लो राजनीति

  • वैशाख ३१, २०७८ | ९४० पटक पढिएको | रामरिझन यादव
alt

 प्रधानमंत्री खड्ग प्रसाद शर्मा ओलीले अस्ति संसद्मा विश्वासको मत लिइरहँदा फेरि एउटा शब्दले चर्चा पायो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अभिभाषणमा पुनः त्यो शब्दलाई दोहोराएपछि संसद् नै तात्यो । प्रधानमंत्री त कनफ्यूज्ड नै भए । एकातिर तराईमधेसको एउटा ठूलो खेमा सत्ताको खेलमा सहाराको रुपमा उभिएको अवस्थामा प्रधानमंत्रीमाथि यसप्रकारको आरोपले उनी तिलमिलाए । राजनीतिक नेताहरुको कसिलो र ओजिलो मन्तब्यको जबाफ दिन कलमले हरफ टिपिरहेका प्रधानमंत्रीको अनुहारमा मास्क भएकोले उनको मनोवैज्ञानिक दशा पता लगाउन सकिएन । तर रोष्टममा उभिदा जे बोले त्यो तराईमधेसमा आज पुनः चर्चा परिचर्चाको विषय बनेको छ । तराईमधेसको गफारे चिया पसल, जहाँ घन्टौ बसेर बुद्धिजीवीदेखि समान्यजन गफको खेती गर्छन । त्यसैले तत्कालीन अवस्थामा प्रधानमंत्रीजस्तो व्यक्तिले यसप्रकारको शब्दको उच्चारण गर्नु तराईमधेसको प्रतिष्ठासंग गाँसियो, जसले आन्दोलनलाई भरपूर उर्जा प्रदान गर्यो । आन्दोलन सफल नभए पनि ६ महिनासम्म चल्यो, जो तराईमधेसको इतिहासमा तेस्रो मधेस आन्दोलनको रुपमा लिपिवद्ध छ । उक्त आन्दोलनलाई सफल बनाउन मेचीदेखि महाकालीसम्म मानवसाङ्ग्लो बनाएको थियो । 

प्रधानमंत्रीको स्पष्टिकरण :
अध्यक्ष उपेन्द्र यादवले माखेसाङ्ग्लो शब्द कोट्याइसकेपछि अब रोष्टममा उभेर प्रधानमंत्रीले जवाफ फर्काउनु पर्ने पालो थियो । सभामुखले प्रधानमंत्रीलाई रोष्टममा बालोउन बित्तिकै उनले सबैभन्दा पहिले यही हरफबाट जबाफ फर्काउन प्रारम्भ गरे र मधेसी समुदायलाई होच्याएको होइन भन्ने स्पष्टिकरणलाई वङ्ग्याए । किनकी मधेस आन्दोलनको बेला उनले कहिल्यैसकारात्मक कुरा गरेनन् । सधै विपरितार्थ शब्दाबली नै प्रयोग गरे । यसले गर्दा मधेसी समाजमा प्रधानमंत्रीप्रति नकारात्मक सोचको बीजारोपन हुन गयो । माखेसाङ्ग्ले, आँपको रुखबाट दुईचारवटा फल खसे पनि, मधेसको भूमि विहार र उत्तर प्रदेशजस्ता शब्दाडम्बरले उनको साखलाई घटाउने काम गरेको थियो । यद्यपि यी शब्दजालबाट मधेस विरोधी खुबै रोमान्चित भएको हुनु पर्छ ।

 तर यसप्रकारको व्यवहारले पारेको दुष्प्रभावबाट निर्वाचन प्रभावित हुन पुग्यो ।  फलस्वरुप  प्रदेश न. २ मा मधेसवादीको सरकार बन्यो । होइन भने तत्कालीन कम्युनिष्ट पार्टी त्यतिबेला वेजोडको शक्तिको रुपमा देखा पर्ने थियो त्यहाँ । एउटा मात्र उदाहरणले यसको  पुष्टि गर्दछ ।  हिजोसम्म जहाँ कम्युनिष्ट शक्तिलाई नेपाली कांग्रेसको पुच्छारसम्म पनि पुग्न गाह्रो थियो, त्यहाँ उसले कांग्रेसलाई झण्डै उच्छेनेको देखियो । यस्तो परिस्थितिमा प्रधानमंत्रीले संयमता अपनाएको भए ६ वटा प्रदेशमा जसरी कम्युनिष्टले एकल सरकार बनाए,त्यसरी उसले मिलीजुली भएपनि मधेसवादीहरुलाई सरकार बन्नबाट बेदखल गर्न सक्थे । प्रदेश न. २ मा पनि गेरमधेसीकै सरकार हुन्थ्यो । 

तर जे भए पनि ढिलै सही प्रधानमंत्रीको घैटोमा घाम लागेको छ । फेरि तिनै शक्तिको एउटा फाँटले तिनकेको सहाराजस्तै अहिले प्रत्यक्ष रुपमा भोंट नहाले पनि अब्बल दर्जाका सहयोगी साबित हुँदैछन् । त्यसैलेमनमस्तिष्कले नमाने पनि शक्ति सन्तुलनको खेलले आज प्रधानमंत्रीलाई मधेसको अगाडि झुक्न बाध्य पारेको छ । राजनीतिमा यसप्रकारको खेलको अभ्यास कुनै नौलो होइन । तर प्रधानमंत्री केपि शर्मा ओलीको लागि भने अवश्य असहनीय छ । किनकी उनको दिमागी शब्दकोशबाट संघीयता, समावेशी, समानुपातिकताको उच्चारण विरलै भएको देखिन्छ । 

तर नेपालमा भने उनी एक्लो नेता हुन्, जसले अर्काको विचारलाई तहसनहस पार्ने गरी शब्दको प्रयोग गर्न सक्ने क्षमता राख्दछ । त्यसैले कहिलेकाही उनको वाक्पटुताले वाक्कलह निम्ताउँछन् । मधेसमा निम्ताएको रडाको त्यसैखुबीको परिणाम हो । तरमाखेसाङ्ग्ले शब्दलाई  जसरी संसदमा उनले व्याख्या गरे त्यो उनको विशिष्टता हो । वाक्पटुता हो ।नेपाली धेरैको मातृभाषा भए पनि प्रधानमंत्रीजतिको लबज भनेकमैमा भटिन्छन् ।कहिले काही विमल निभा पनि हार खान्छन् । ठठ्यौली पाराका शब्दविन्यासले उनको अभिभाषणलाई चाखलाग्दो बनाउछन् जो कतिपयको लागि कर्णप्रिय हुन्छन् भने केहीको मुटुमा नै घोच्छ ।
उनले मधेस आनदोलनको बेला प्रयोग गरेका कतिपय उखान टुका र शब्दालङ्कारले मधेसी समुदायलाई घोचेकै हो, जसको भरपाई उनलेआज गर्नु परेकोछ । तर संसद् रेशमलाल चौधरीको रिहाई सबैभन्दा ठूलो सोधभर्नामध्ये एक हुन्थ्यो, जसले सिंगो तराईमधेसलाई अहिलेसम्म उद्वेलित पारिसक्थ्यो । विश्वासको मत लिनुभन्दा पहिले यो अहम् प्रश्नलाई हल गर्न सकेको भए संसदमा यसप्रकारको नाटक मंचनको आवश्यकता नै पर्ने थिएन । पार्टीमा देखिएको विमति पनि सेलाए झै हुन्थ्यो । प्रधानमंत्रीलाई कतिपय कारणले विरोध गरे पनि तराईमधेसमा सकारात्मक सोचको सम्प्रेषण हुन्थ्यो । 

 तर उल्लेखनीय कुरा के छ भने प्रधानमंत्रीले एउटै तीरले दुइटा चरा मार्न खोजेको देखिन्छ ।  यो उनको सनातनी आदत हो । यसप्रकारको अभ्यास उनले विगतमा पनि गरिसकेका छन् । तात्कालीन समाजवादी पार्टीलाई त झण्डै विखण्डित पारेको ! राजनीतिमा टुटफूट र जुटलाई जायज भनिए पनि प्रधानमंत्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिले त्यो हद पार गर्दा व्यक्ति होइन, संस्थाको वदनामी हुन्छ । प्रजातन्त्रलाई साँस फेर्न गाह्रो हुन्छ । किनकी वेस्टमिनिष्टर मोडलमा प्रधानमंत्री नै सर्वेसर्वा हुन्छन् । 

माखेसाङ्ग्लेको शब्दविन्यास :
माखेसाङ्ग्लो शब्दको उत्पत्ति माकुरो शब्दबाट भएको हुनु पर्छ । किनकी माकुरा र तत्पश्चात् बन्ने शब्द माखो( झिँगो) आउँछ । साङ्ग्लो भनेको बाँध्ने सिक्री(सिकरी) हो । अर्थात् माखेसाङ्ग्लो भनेको झिँगालाई बाध्ने एक प्रकारको उपक्रम हो, जसलाई प्रयोगात्मक नेपाली शब्दकोशले कतैबाट उम्कन नसक्ने गरी थापिएको पासो वा घरभित्र परेपछि निस्कन नसक्ने स्थिति भनेर व्याख्या गरेका छन् । यसलाई जालो र फन्दा पनि भनिन्छ । त्यस्तै नेपाली शब्दभण्डार, संक्षिप्त नेपाली शब्दसागर र नेपाली संक्षिप्त शब्दकोश सबैमा समान रुपले अर्थाइएको पाइन्छ । यसलाई संश्लेषण गर्दा दुईतिरबाट च्यापेर बीचमा जकडिने कामलाई भनिएकोमा माकुरोले त्यसरी नै आफ्नो जालमा अन्य किरा फट्याङ्रग्रोलाई फसाएर सिकार गर्छन् । सयौ वर्षदेखि देशका शासकहरुले फट्याङग्रोसरह मधेसीलाई माखेसाङ्ग्लोमा फसाएर परिचयविहीन बनाएका छन् ।त्यसैले संविधान संशोधनको आवश्यकता परेको हो । 

 यसप्रकारको जालोबाट उन्मुक्ति पाउन मधेसी समाजले प्रजातन्त्रको प्रादुर्भाव भए लगत्तै वि.स.२००८ सालमा तराई कांग्रेसको स्थापना गरे । तर विडम्बना के छ भने मधेसवादले करिव ६ दशकपश्चात् मात्रनेपाली राजनीतिको अभिन्न अंग बन्न सक्यो । त्यतिबेलासम्म माखेसाङ्ग्लो भित्र गुम्सिएको तराई कांग्रेस रुपी सोचसत्ताधारीको दृष्टिमा एउटा साम्प्रदायिक रंग थियो, जसलाई चारैतर्फबाट च्यापेर जकडिने काम गरिएको थियो । मधेसी समाज पनि त्यसैको होस्टेमा हैसे गरेका थिए । २०१५ सालको आम निर्वाचनको परिणामले यो कुरालाई पुष्टि पनि गर्यो । माखेसाङ्ग्लो भित्र गुम्सिएको तराई कांग्रेस सून्य अंक झर्यो भने मधेसको ठेक्का दुई तिहाई ल्याएका नेपाली कांग्रेस र राणावादी प्रतिपक्षी दल गोर्खा परिषद्ले लिए । कम्युनिष्ट सहायक बने ।

माखेसाङ्ग्लो भित्र गुम्सिएको मधेसः
प्रजातन्त्रको उषाकालदेखि अहिलेसम्मको नेपाली राजनीतिलाई व्याख्या, विश्लेषण र संशलेषण गर्ने हो भने तराईमधेसको राजनीतिलाई शब्दाडम्बरको जालमा यसरी अल्झाइएको पाइन्छ कि सामान्य ज्ञान भएका मधेसीहरुले भेउ नै पाउँदैनन् । पढेलेखेका सचेत र सम्भ्रान्त वर्गको लागि पद, पैसा र प्रतिष्ठा भए पुग्यो । होइन भने रघुनाथ ठाकुर मधेसीजस्ता कति व्यक्ति नेपालमा थिए जो २०१५ सालमा पुस्तक लेख्ने हैसियत राख्थे भन्ने कुरा अहिले विमर्शको विषय बनाउने हो भने आफूलाई ठूलठूला विद्वान कहलाउनेहरुको दाँत अमिलो हुन्छ । नेपाली साहित्यमा त्यतिबेलाका विलक्षण प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको खुबै चर्चा गरिन्छ । गुणगान गाइन्छ । उनले लेखेको मुनामदनलगायत पुस्तकमाथि दिनहूँ विमर्श भैरहेका हुन्छन् ।

 तर रघुनाथ ठाकुर मधेसीले लेखेका आधा दर्जन पुस्तकमध्ये कुनै पनि पुस्तकमाथि कहिल्यै पनि कुनै मधेसी नेताले विमर्श के चर्चा गर्न पनि गर्न भ्याएनन् । नेपालीय मधेसी साहित्यको त्यो मूल्यवान धरोहर सिंगो नेपाली साहित्यको अब्बल दर्जाका ऐतिहासिक विषयवस्तु हुन् । अर्थात् जतिबेला नेपालमा नेपालीलाई कानुनी रुपमा राष्ट्रिय भाषाको दर्जा प्राप्त थिएन, त्यतिबेला रघुनाथ ठाकुरले हिन्दीमा लेखेका ती पुस्तकहरुको शब्द, शैली र भाषा अध्ययन गर्ने हो भने बाबा नागार्जुनकोभन्दा कम छैन । किनकी उनले त्यो शीपसुनसरीको गाउँमा पुलीडन्टा खेल्दै सिकेको होइन ।  विश्वमा नै नाम कमाएका वनारस हिन्दू विश्वविद्यालयमा पढदै गर्दा नेपालीय मधेसी साहित्यको सिर्जना गरे । एस.एल.सी.मा उम्दा अंक ल्यापछिनेपाल सरकारले उनलाई छात्रवृत्तिमा पढ्न त्यहाँ पठाएका थिए ।

 
तर उनको त्यो साहित्यलाई पंचायती शासकले माखेसाङ्ग्लो भित्र च्यापेर राखेको मात्र होइन, उनको हत्या समेत गरेकोले कुनै पनि मधेसीले पढ्न हिम्मत गरेन । नेपालीय प्रजातन्त्रको पुनर्वहालीको लागि प्रवासमा वसेर संघर्ष गरिरहेका सरोज कोइरालालाई मधुवनीमा जुन टीमले हत्या गर्यो सम्भवतः त्यसैले रघुनाथ ठाकुर मधेसीलाई पनि विष खुवाएर मारेको हुन सक्छ भन्ने आशंका गरिन्छ । किनकि रघुनाथ ठाकुरले जो कुरा ०१५ सालमा लेखेका थिए त्यसले नेपाली राजनीतिमा ५ दशकपछि मधेस जनविद्रोहको रुपमा मूर्त रुप धारण गर्यो ।

विविध रंगका एक दर्जन कलम उनले आफ्नो कमिजको अगाडि पट्टीको खल्तिमा बोक्ने गर्थे । यो उनको सौख थियो । रघुनाथ ठाकुरजस्तो लेखकको कृतिलाई शासक वर्गले माखेसाङ्ग्लो भित्र यसरी अल्झाएर वर्षौवर्षसम्म राखे कि नयाँ पुस्ताले त्यसको अभाष नै पाएनन् । किनकी पंचायती सरकारले आफ्नो विरोधी जो सुकैलाई तीन दशकसम्म अराष्ट्रिय तत्वको माखेसाङ्ग्लो लगाएको थियो । त्यसमा पनि एउटै भाषा एउटै भेष भन्ने थेगोलाई राष्ट्रियकरण गरिएकोले अन्य भाषा र साहित्यको कुनै गुन्जायस नै थिएन ।
त्यसैले माखेसाङ्ग्लोको रुपमा रहेको निर्दलीय निरंकुश पंचायतकाल र तत्पश्चात् पुनस्र्थापित बहुदलीयकालबीचमा तात्विक अन्तर रहेकोले पच्छिलोकालमा माखेसाङ्ग्लोलाई तोड्न सीमान्तकृत समुदाय गोलवन्द हुन थालेका थिए जसको विशाल परिघट्नाको रुपमा जनयुद्धलाई लिन सकिन्छ । विश्वक्रान्तिको ढोका खोल्नमा फ्रेन्च रिभुलुसनको जुन हात छ त्यस्तै हात नेपालमा सीमान्तकृत समुदायमा पुनर्जागरण ल्याउनमा जनयुद्धको छ । मधेस जनविद्रोह त्यसको परिपूरक मात्र हो ।  रघुनाथ ठाकुरले ५ दशक पहिले गरेको भविष्यवाणी मधेस विद्रोहको रुपमा दृष्टिगोचर भएपछि मधेसी समुदायमाथि वर्षौदेखि लगाइएको माखेसाङ्ग्लोलाई केही हदसम्म तोड्ने काम भयो । 

वर्तमान परिवेशभित्र माखेसाङ्ग्लो :
हिजोसम्म क्षेत्रीय दलको रुपमा रहेका मधेसी पार्टीहरु अहिले यति तागतवर भएका छन् कि उसले सिंगो सीमान्तकृत समुदायलाई च्यापेर राखेको माखेसाङ्ग्लोलाई भताभुंग पार्न उद्धत देखिन्छन् । त्यसैले उसले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । यो कुरा जनता समाजवादी पार्टीको प्रत्येक नेता तथा कार्यकर्तामा परिलक्षित हुनु पर्ने हो । तर अस्ति संसदमा  अध्यक्ष महन्थ ठाकुरले गरेको भाषण मधेसवादमा मात्र सिमित रहेकोले पार्टीको राष्ट्रिय सोचसंग बाझेको महसूस गर्न थालिएको छ । अर्थात् पार्टीको सोच क्षेत्रीयताभन्दा उभो लागिसकेकोले त्यही अनुकूल व्यवहार पनि हुन सके त्यसले वैकल्पिक पार्टी निर्माणमा जसपालाई उभ्याउन मदत गर्थ्यो।

 यद्यपि अध्यक्ष ठाकुरले राखेको माग जायज हो र संसद् रेशमलाल चौधरीको रिहाईलगायतका मागहरु पूरा हुनु पर्छ भन्ने कुरामा सिंगो पार्टी पंक्ति एकमत छ । उनको मागमा दम पनि छ, किनकी ऊ सत्ताको भर्याङलाई आफ्नो आधार बनाएको छैन । माग सम्बोधन गर्ने हो भनेप्रधानमंत्री ओलीलाई समर्थन गर्ने पहिलेदेखिको सोच नै संसदमा दृष्टिगोचर भएको हो । पार्टी भित्रको यस्तो विषम् परिस्थितिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पक्षमा उभिनुभन्दा तटस्थ बस्नु नै बेस हुन्थ्यो । किनकी पार्टी एक भए पनि महंथ ठाकुर र उपेन्द्र यादवको डाइमेन्सन मिल्दैन भन्ने कुरा मधेस जनविद्रोहपश्चात्देखि नै जानेबुझेको तत्य हो । मजफोलाई संतुलनमा राख्नको लागि नै तमलोपाको जन्म भएको कुरा धेरैलाई थाहा छ । सैद्धान्तिक र वैचारिक रुपमा कतै भिन्नता नभएको पार्टीहरु मधेसमा चिरा चिरामा विभक्त हुनु मधेसी समुदायको लागि अभिशाप हो भन्ने कुरा बुझ्दा बुझ्दै मधेसवादको झण्डामुनी रहेर यी पार्टीहरु दुइटै संविधान सभामा बेग्ला बेग्लै चुनाव लडेका थिए जो मधेसी जनताको अभिमतको वर्खिलाप थियो । 

अन्त्यमा, अहिले पार्टी भित्र जे भैरहेको छ त्यो मधेसी जनताको मनोविज्ञान विपरित हो । मधेसी जनता चाहे जुनसुकै पार्टीमा होस् जसपाको एकीकृत स्वरुप हेर्न चाहन्छ । त्यसैले गाँठी कुरा के हो भने  पार्टी एकीकृत रह्न सक्यो भने यसले वैकल्पिक पार्टीको रुप ग्रहण गर्ने प्रचूर सम्भावना छ । तराईमधेसमा रहेको यसको बर्चश्वले नै पहाडलाई प्रभावित पार्ने हो । किनकी वैकल्पिकश्रोतको उठान पहाडबाट सम्भव छैन ।  त्यसैले अहिले सत्ता शक्तिभन्दा मधेसको माग प्रमुख हो चाहे त्यो कांग्रेसले पूरा गरोस् वा कम्युनिष्टले भन्ने कुरा मधेसी समाज राम्ररी बुझेका छन् । किनकी सबै एकै ड्याङ्गका मुला हुन् । 

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब