नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको विपत्तिको सामना गर्न एकता प्रदर्शन गर्दै राहत कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ ।
मिर्चैया नगरपालिका–५ स्थित दामोदरानन्द मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले देश राष्ट्रिय शोकमा डुबेको समयमा हिमाल, पहाड र तराई एक भएर राहत सङ्कलन गर्न सबैमा आग्रह गर्नुभयो । हिमाल र पहाड सङ्कटमा परेको बेला मधेशले सहयोग गर्न अघि आइरहेको र मधेशमा बाढी आउँदा पहाड र हिमाल साथमा रहने सहयोगको संस्कृति रहँदै आएको बताउनुभयो ।
रसुवा नुवाकोट र धादिङमा भएको धनजनको अपुरणीय क्षतिको समयमा मधेश प्रदेशबाट सङ्कलन भइरहेको राहत कार्य सन्तोषजनक देखिएको उहाँको भनाइ छ ।
आफू प्रधानमन्त्री भएको समयमा हिमालको सुरक्षाको लागि उठाएको विषय अहिले सत्य सावित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलवायु न्यायको लागि नेपालले अन्तराष्ट्रिय मञ्चमा आवाज उठाउन आवश्यक छ । यतिबेला सरकारले सहमति सहकार्यको लागि फराकिलो सोच लिएर प्रस्तुत हुनुपर्छ।’
मिर्चैया नगरपालिकाले शिक्षाको क्षेत्रमा गरिरहेको लगानी प्रशंसनीय रहेकोसमेत उहाँले बताउनुभयो ।
कार्यक्रममा सिरहा–४ का सांसद तपेश्वर यादव, मिर्चैयाका नगर प्रमुख श्रवण यादवलगायतले मिर्चेया नगरपालिकालाई शिक्षा, विज्ञान र उद्योगको केन्द्र बनाउन पहलका निम्ति प्रचण्डसमक्ष ध्यानाकर्षण गराउनुभयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved