काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कब्जा गर्न संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई छलफल र दौडधुप गर्न थालेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरी पार्टी विभाजनमा सघाउन आग्रह गरेका हुन् । पार्टीको आधिकारिकता दाबी गर्नका लागि आवश्यक संख्या पुगेको दाबी गर्दै भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन सक्रिय बनाउनका लागि प्रतिस्थापन विधेयक ल्याएर सहयोग गरिदिन देउवालाई आग्रह गरेको स्रोतले जनायो ।
मन्त्री हेरफेर नगरेको र दुई अध्यक्ष नराखेपछि अहिले जसपाका नेताहरु विभाजित बनेका छन् । उपेन्द्र यादवको व्यवहारबाट रुष्ट अधिकांश नेता पार्टी विभाजन गर्न भट्टराईलाई सहयोग गरिरहेका छन् ।
भट्टराईसँग संघीय संसदीय दल र केन्द्रीय समिति ४० प्रतिशतभन्दा बढी संख्या पुगिसकेको भट्टराईनिकट एक सांसदले बताए ।
‘पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्नका लागि आवश्यक ४० प्रतिशत त उहिल्यै पुगिसकेको थियो,’ भट्टराईनिकट ती सांसदले भने, ‘तर हामीले नयाँ दल दर्ता गर्न चाहेका छैनौं, बहुमतको आधारमा जसपा नै दाबी गर्न खोजेका छौं ।’
भट्टराई समूहले जसपामा बहुमत पुर्याएर सबैभन्दा पहिले जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गरेर निलम्बन गर्ने, निष्कासन गर्नेदेखि संसदीय दलको नेताबाट हटाउने तयारी गरेको स्रोतको दाबी छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved