तराईमा अत्यधिक चिसोले जनजीवन प्रभावित, विद्यालय धमाधम बन्द गरिंदै

  • पुस १९, २०७९ | ७७६ पटक पढिएको | सीमा संदेश
alt

तराईमा चिसो अत्यधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ ।वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ ।

एक साता यता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको सर्वसाधरणले बताएका छन् । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीले सर्वसाधरणलाई सताएको चिकित्सकहरु बताउँछन् ।

शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ ।

चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा-ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रताडित छन् ।

यो साता वीरगञ्जको तापक्रम एकदमै कम देखिएको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले जानकारी दिए ।

सोमबार साँझ न्युनतम तापक्रम १० डिग्री मापन गरिएको थियो । यो वर्ष सबैभन्दा कम तापक्रम पुस १४ गते मापन गरिएको थियो । पुस १४ गते न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको थियो । ‘एक सातादेखि चिसो बढेको बढेकै छ । मौसममा सुधार आउन सकेको छैन्,’ उनले भने, ‘ त्यसैले चिसो धेरै छ । सबैभन्दा कम तापक्रम पुस १४ गते ७ डिग्री देखिएको थियो ।’

उनका अनुसार बिहान ८ः४५ बजेको न्युनतम र बेलुका ५ः४५ बजे अधिकतम तापक्रम रेकर्ड राख्ने गरिएको ५ ।

कतै दाउरा वितरण, कतै पर्खाइमा नागरिक

चिसोबाट बच्न मध्य तराईमा समूहमा बसेर आगो तापेको दृश्य देखिएको छ । आ-आफ्नो घर अगाडी दाउरा, मुढा, कोइला बालेर तापेका हुन् । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

चिसोबाट नगरबासीलाई जोगाउन पर्सागढी नगरपालिकाले दाउरा वितरण गरेको छ । सबैया साझेदारी वन व्यवस्थापन समूहबाट दुई चट्टा काठ खरिद गरि वितरण गरिएको मेयर गोकर्ण पाठकले जानकारी दिए ।

पालिकाको नौ वटै वडाको चोकचोकमा आगो बाल्न दाउरा पठाईएको उनले बताए ।

पालिकाले दिएको दाउरा बालेर दिनभर चोकमा आगो तापेर बसेको वडा नं. ३ का मुकेश चौधरीले बताए ।

तर कतिपय पालिकाले भने दाउरा वितरण गर्न सकेका छैनन् । गतवर्ष पालिकाले आगो ताप्न दाउरा वितरण गरेको भएपनि यसपटक वास्ता नगरेकोे स्थानीयको गुनासो छ ।

चिसोमा न्यानो लत्ता कपडाको अभावमा जीवन कष्टकर हुने जिराभवानी गाउँपालिका-२ का माथुर माझी मुसहरले बताए ।

जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले भने डिभिजन वन कार्यालयले पालिकालाई काखापाखा गरेको आरोप लगाए । ‘दैनिक एक जना कर्मचारी डिभिजन वन कार्यालयमा धाइरहेका छन् ।’ उनले भने ‘तैपनि हामीलाई दाउरा उपलब्ध हुन सकेको छैन ।’

पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले पनि दाउराका खरिद गर्नका लागि आवश्यक रकम डिभिजन वन कार्यालयको खातामा दाखिला गरेपनि दाउरा नआएकोले वितरण गर्न नसकेको बताए ।

डिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले भने कार्यालय प्रमुख विदामा रहेकाले दाउरा उपलब्ध गराउन नसकेको बताए । कार्यालय प्रमुख आउने वित्तिकै पालिकाहरुलाई दाउरा पठाउने उनको भनाइ छ ।

विद्यालयमा जाडो बिदा

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि बारा पर्साका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् ।

वीरगञ्ज महानगरपालिका सहित पर्साको पोखरिया नगरपालिका, जगरनाथपुर, जिराभवानी, सखुवाप्रसौनी गाँउपालिकाले पुस २२ गते शुक्रबारसम्म जाडो बिदा दिएका छन् ।

बाराको कलैया उपमहानगरपालिका, देवताल गाउँपालिकाले पनि ४ दिन विद्यालय बन्द गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले मौसममा देखिएको प्रतिकुलतालाई मध्यनगर गरेर पुस २२ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिए ।

‘चिसोले गर्दा बालबालिकाको नियमित विद्यालयमा हुने पठनपाठन असहज देखियो,’ उनले भने, ‘हिउँदे विदाबाट कट्टा हुनेगरि पुस १९ गतेदेखि २२ गतेसम्म पठनपाठन स्थतिग गरेका छौं ।’

वीरगञ्जमा ९० वटा सामुदायिक विद्यालय र १ सय ४४ वटा संस्थागत विद्यालय छन् । संस्थागत विद्यालय मध्ये २४ वटाले इमिसमा आवद्ध भएका छैनन् ।

सामुदायिक तर्फ ४४ हजार ४१९ र संस्थागततर्फ ४१ हजार विद्यार्थी छन् । इमिसमा आबद्ध नभएका विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या भने यसमा समावेश छैन ।

चिसो बढेकोले विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय भएको जिराभवानी गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले जानकारी दिए ।

कठ्याङ्ग्रिने जाडोको कारण पठनपाठनमा कठिनाइ भएको हुँदा मंगलबारदेखि शुक्रबारसम्म बिदा दिन विद्यालयलाई भनिएको उनले बताए ।

बाराको कलैया उपमहानगरपालिकाले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा चार दिनको बिदा दिएको छ ।

नगर शिक्षा समितिको सोमबार बसेको बैठकको निर्णयनुसार पुस २२ गते शुक्रबारसम्मका लागि बिदा दिइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा शाखा प्रमुख प्रल्हादप्रसाद वर्णवालले बताए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब