छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध उच्च बलात्कार मुद्दा विचाराधीन, जिल्ला अदालतमा पुनर्मिलन

  • माघ २०, २०७९ | ४२८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । आफूलाई ‘कुमारी आमा’ बताउँदै आन्दोलनरत निहारिका राजपुत अहिले विवाहको तयारीमा छन् । एक साताभित्र बिहे हुने निश्चित भएपछि बुधबार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरिरहेको अवस्थामा भेटिइन् ।

उनको साथमा छोरा बिआन मात्र थिएनन्, शिवराज श्रेष्ठ पनि थिए । तर, ठीक तीन महिना अघिसम्म अर्कै परिस्थिति थियो । निहारिका शिवराजलाई बलात्कार आरोप लगाउँदै आन्दोलनरत थिइन् ।

राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास, पटकपटकको गिरफ्तारी र अनशनपछि सरकार उनको माग सम्बोधन गर्ने बाटोमा अघि बढेको थियो । शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । तर, निहारिकाको माग बमोजिम बच्चा र शिवराजको डीएनए परीक्षण गर्ने निर्णय भयो । १८ कात्तिकमा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको बच्चाको डीएनए जाँच श्रेष्ठबाट निकालिएको डीएनएनको नमूनासँग मेल खायो ।

पहिले निहारिकाले डीएनए मेल खाए श्रेष्ठलाई हदैसम्मको सजाय  हुनुपर्ने  माग गरेकी थिइन् । तर, सोमबार एकाएक निहारिका र शिवराजबीच जिल्ला अदालत, धनुषामा मिलापत्र भएको छ ।

जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग मिलापत्र गरेकी हुन् । आइतबार मात्रै जिल्ला अदालत, धनुषामा निहारिकाले अंश मुद्दा दिएकी थिइन् । सोमबार मिलापत्र गरी दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको’, मिलापत्रमा भनिएको छ ।

उनीहरुले सोमबार मिलापत्र मात्र गरेनन्, अदालती विवाह (कोर्ट म्यारिज) समेत गरिसकेका छन् । यही साताभित्र सामाजिक परम्परा अनुसार मन्दिरमा पनि विवाह गर्ने तयारी गरेको निहारिकाले बताइन् ।

‘अदालतमा कोर्ट म्यारेज भइसक्यो, यही साता मन्दिरमा पनि परिवारसहित टिकाटालो गर्दैछौं’, उनले अनलाइनखबरसँग भनिन्, ‘राम्रोसँग जिन्दगी बितोस् भन्ने हो, त्यही सोचेर अगाडि बढेको छु ।’

पहिले निहारिकाले आरोप लगाएका शिवराज पनि अतितहरुलाई बिर्सेर नयाँ शिराबाट जिन्दगी अगाडि बढाउन तयार रहेको बताउँछन् ।

‘पहिला मिलेको भए दुवै जना र घरपरिवारले यति दुःख भोग्नु पर्थेन होला । तर, दुवै जना अर्काको बहकाउमा लाग्यौं’, शिवराजले अनलाइनखबरसँग भने, ‘त्यतिबेला हामी परिपक्व थिएनौं । मिलाउनेभन्दा पनि दुवैतिर बिगार्ने मान्छेहरुले खेले ।’

शिवराजले निहारिकाले पनि धेरै दुःख पीडा पाएको बताउँदै विगतको सबै विषयलाई भुलेर नयाँ जीवन अगाडि बढाउने निर्णय गरेको बताए ।

जब छोराले भिडियो कल गरे…

निहारिका र शिवराजबीच मेलमिलाप हुने परिस्थिति कसरी बन्यो ? यसपछाडिको रोचक कथा शिवराज र निहारिका स्वयंले अनलाइनखबरसँग सुनाएका छन् ।

निहारिकाका अनुसार सम्बन्ध बिग्रे पनि शिवराजको मोबाइल नम्बर उनीसँग सेभ छँदै थियो । अघिल्लो साता निहारिकाकी छोरा विआन मोबाइल खेलाउँदै थिए । त्यतिबेला झुक्किएर ह्वाट्सएपमा शिवराजको नम्बरमा भिडियो कल गएछ ।

बिआन शिवराजसँग भिडियो कलमा देखेपछि निहारिकाले गाली गरिन् । तुरुन्तै फोन खोसेर  ‘किन गरिस्’ भन्दै शिवराजप्रति आक्रोश व्यक्त गरिन् । तर, शिवराजले आफूले कल नगरेको भन्दै एकपटक फोन कताबाट आएको हो हेर्न भने ।

त्यसक्रममा छोराले नै फोन गरेको थाहा पाएको निहारिका बताउँछिन् । ‘शिवराजले मलाई अनब्लक गरेको मैले थाहै पाएको थिइन, त्यसैले सुरुमा कुरा गरिरहेको देख्दा आक्रोशित बनेँ’, उनी भन्छिन्, ‘मैले प्रहरीमा कम्प्लेन गरिदिन्छु पनि भनेकी थिएँ । तर खास कुरा अर्कै रहेछ ।’ त्यसपछि शिवराजले उनलाई भेटका लागि प्रस्ताव गरे ।

‘सुरुमा उनले स्वीकारिनन्, मैले दुई मिनेट मात्र भएपनि बाबुलाई हेर्न चाहन्छु भनेँ’, शिवराज भन्छन्, ‘निकै रिक्वेस्ट गरेपछि दुवै जना भेट्ने भयौं, त्यसपछि मेलमिलापको कुरा अघि बढेको हो ।’

ट्याटु देखेपछिको खटपट

तीन वर्ष अघि महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनाल कुमारी सिंह (निहारिका राजपुत) प्लस टु पढ्न जनकपुरधाम आएकी थिइन् ।

जनकपुरधाममै डेरा लिएर बसेकी निहारिकाको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराजसँग चिनजान भएको थियो । विस्तारै उनीहरुबीचको चिनजान प्रेम सम्बन्धमा परिणत भयो । सम्बन्ध प्रगाढ बन्दै गयो ।

तर, एकदिन शिवराजले निहारिकाको गर्धनमा एउटा ट्याटु देखे । त्यही ट्याटुका कारण शिवराज र निहारिका सम्बन्ध बिग्रियो । शिवराज कुनै पनि हालतमा निहारिकालाई नस्वीकार्ने मनस्थितिमा पुगे । निहारिकालाई मोबाइलदेखि सामाजिक सञ्जालका सबै प्लेटफर्मममा ब्लक गरिदिए ।

त्यतिबेला निहारिकाको गर्भमा एक महिनाको बच्चा थियो । निहारिकाको धेरैतिरबाट गर्भ तुहाउन दबाव आइरह्यो । तर उनले बच्चा जन्माइन् र बच्चाको न्यायका लागि कानूनी लडाइँ सुरु गरिन् ।

सुरुमा जिल्ला प्रहरी कार्यायल धनुषाको महिला सेलमा निहारिकाले श्रीमान् श्रीमतीको रुपमा आफ्नो सम्बन्ध कायम गरी पाउँ भन्दै निवेदन दिएकी थिइन् । पटक पटकको छलफलमा शिवराजले कुनै पनि हालतमा नस्वीकार्ने बताएका थिए ।

निहारिकाले आफूलाई शिवराजले ६ कात्तिक २०७६ मा बन्धक बनाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएकी थिइन् । अनलाईन खबर

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब