एसईई परीक्षा : बारामा प्रश्नपत्र बाहिरियो, महोत्तरीमा सुरक्षार्थ खटिएका सईको मृत्यु

  • चैत १७, २०७९ | ४०८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । पहिलो दिनको परीक्षा निकै शान्त वातावरणमा सम्पन्न भएको छ । विगतको जस्तो परीक्षार्थीलाई निष्कासन गर्नुपर्ने, केन्द्राध्यक्ष, निरीक्षकलाई निलम्बन गर्नुपर्ने जस्ता घटना भने न्यून रहे । 

केही जिल्लामा सामान्य घटनाबाहेक देशभरको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय उप–परीक्षा नियन्त्रक भक्त बहादुर गोदारले यो वर्ष पहिलो दिनको परीक्षा एकदम सहज वातावरणमा सम्पन्न भएको बताए । 

बारा, धनुषा र महोत्तरी गरी तीन जिल्लामा सामान्य घटना भएको उनको भनाई छ । बारामा एसईई सुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको थियो । 

परीक्षा हलभित्र रहेका परीक्षार्थीले प्रश्नपत्रको फोटो खिचेर बाहिर रहेका अर्का व्यक्तिलाई पठाएका थिए । त्यही आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

प्रश्नपत्र बाहिरिए पनि परीक्षा भने नरोकिएको प्रहरीले जनाएको छ । परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको उनको भनाई छ । 

प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ४ जनालाई निलम्बन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको हो । सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थी पवन साहको भने आजको परीक्षा मात्रै रद्द गरिएको छ ।     

त्यस्तै धनुषामा एक परीक्षा निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सपहीस्थित वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादवलाई पक्राउ गरेको हो । निरीक्षक यादवले ह्वाट्सएपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाएर सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीले उतारेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

धनुषामै अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि ५० मिनेट ढिलागरी परीक्षा सुरु भएको थियो । 

धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको हो । 

प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी परीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए । 

महोत्तरीमा एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु भएको छ । बलवा नगरपालिका–१० स्थित धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । 

ती जिल्ला बाहेक अन्य जिल्लामा शान्त वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको गोदारले बताए । 

यसवर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा ५ लाख १६ हजार ५९१ जनाले रजिस्ट्रेशन भरेका थिए । तर, यो वर्ष एसईई दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । 

कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको देखिन्छ । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब