मधेश प्रदेश सभाको ८ महिनाको काम बजेट पासमात्रै

  • भदौ २८, २०८० | ४५२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । ३१ असारमा अन्त्य भएको मधेश प्रदेश सभाको अधिवेशन अझै सुरु भएको छैन ।

२०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेश सभाको पहिलो अधिवेशनमा ३६ वटा बैठक भएका थिए । त्यसबेला ७ वटा विधेयक दर्ता गरिएका थिए । जसमध्ये बजेटसँग सम्बन्धित दुईसहित जम्मा तीनवटा मात्रै पारित भए ।

मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक २०७९, आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० गरेर तीनवटा विधेयक पारित भएको सभामुख रामचन्द्र मण्डल बताउँछन् ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार, प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक र मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकलाई विषयगत समितिमा छलफलका लागि पठाइएको छ ।

प्रदेश सभाको दोस्रो अधिवेशन सुरु गर्न सभामुख मण्डलले सरकारलाई ताकेता गरेका छन् । तर सरकारले ढिलाइ गरिरहेको छ । ‘सरकारलाई दोस्रो अविधेशन सुरु गर्ने व्यवस्था मिलाउन दुई/तीन पटक आग्रह गरिसकेको छु,’ सभामुख मण्डल भन्छन् ।

प्रदेश सभाको अधिवेशन आहृवानका लागि मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने व्यवस्था छ । प्रदेश सरकार स्रोतका अनुसार, प्रदेशसभालाई दिने बिजनेस नभएका कारण अधिवेशन आहृवान गर्न ढिलाइ गरिएको हो ।

प्रदेश सभा गतिहीन बन्दा सभामुख मात्र होइनन् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तागठबन्धनकै अन्य दल पनि असन्तुष्ट छन् ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार ९ दिनअघि मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशसभा अधिवेशन आहृवानको विषयमा छलफल भएको थियो । त्यतिबेला मुख्यमन्त्री यादवले चारदिन भित्रै अर्थात भदौ १७ वा १८ गते बैठक बोलाउने वातावरण बनाउने बताएका थिए ।

‘मैले पटकपटक मुख्यमन्त्रीजीलाई बैठक नबोलाए मिडियामा जान्छु भने । त्यसपछि मुख्यमन्त्रीजीले सर्वदलीय बैठक राख्नुभयो’, एमाले संसदीय दलका नेता यादवले भने ‘९ दिनअघि बसेको सर्वदलीय बैठकमा तीन चारदिन भित्र मन्त्री परिषद्को बैठक बसेर सदन बोलाउँछु भन्नुभयो । तर अहिलेसम्म बोलाउनुभएन ।’

प्रदेश सभा बैठक नबस्दा सरकारको काम कारबाही र नागरिकको सरोकारका विषयमा सदनमा आबाज उठाउन नपाएको एमालेको भनाइ छ ।

सर्वदलीय बैठकमा मुख्यमन्त्रीले भदौ १७ वा १८ गते बैठक बोलाउने वातावरण बनाउने सहमति गरेको सत्ता गठबन्धन दल घटक नेकपा माओवादी केन्द संसदीय दलका नेता भरतप्रसाद साहले पनि पुष्टि गरे ।

उनका अनुसार मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धन घटक दलहरुसंग सरकार संचालन लगायत कुनै विषयमा पनि समन्वय समेत गरेका छैनन् । साह भन्छन, ‘मुख्यमन्त्रीजी गठबन्धन दलहरुसँग समेत कुनै समन्वय सहकार्य गर्नुहुन्न । सर्वदलीय बैठकमा प्रदेशसभा बैठक बोलाउने वातावरण बनाउने सहमति गर्नुभयो । तर कार्यान्वयन गर्नु भएन ।’

मधेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सरकारसंग प्रदेश सभालाई दिने बिजनेस रहेको बताए ।

सरकार केही कामहरुमा व्यस्त हुँदा सदन सञ्चालन हुन नसकेको हो अव तुरुन्तै अधिवेशन आहृवान हुने उनको तर्क छ । ‘सरकारसँग सदनका लागि पर्याप्त बिजनेस छ । चार/पाँचवटा केही विधेयक संसदमा पठाइएको छ । अब तुरन्तै अधिवेशन आहृवान हुन्छ’, उनले भने ।

उनका अनुसार सरकारले यो बीचमा केही कार्यालयहरुको सेवा विस्तार, समायोजन लगायतका महत्वपूर्ण काम गरेको छ ।

मधेश प्रदेश सभाको पहिलो कार्यकालमा ६२ वटा विधेयक दर्ता भएका थिए । जसमध्ये ५५ वटा पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेका छन् ।

तलब भत्तामा ८ करोड खर्च

दोस्रो कार्यकालको मधेश प्रदेश सभाको पहिलो अधिवेशनका क्रममा प्रदेश सांसदहरुको तलब भत्तामा मात्र झण्डै पौने आठ करोड रुपैयाँ खर्च भएको छ ।

दोस्रो कार्यकालको आठ महिनामा सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रीबाहेक सांसदको तलब सुविधामा झण्डै पौने आठ करोड रुपैयाँ प्रदेश सभाले खर्च गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव रञ्जित यादवका अनुसार, नयाँ प्रदेश सांसद चुनिएर आएदेखि (पुस १५ गतेदेखि साउन मसान्तसम्म) साढे ७ महिनामा ७ करोड ६५ लाख ४ हजार ४७५ रुपैयाँ खर्च भएको छ ।

सांसदहरुको तलबमा ७ करोड ३३ लाख ७८ हजार ९७५ र बैठक भत्तामा ३१ लाख २५ हजार ५ सय खर्च भएको सचिव यादवले बताए । यसका बाहेक सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधा छुट्टै छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब