हमास लडाकु लुकेको भन्दै इजरायली सेनाले गाजाको महत्त्वपूर्ण अस्पताल अल शिफामा घेरा हालेको छ। इजरायली सेनाले हमास समूहले इजरायलमा आक्रमण गर्न तथा बन्धक लुकाउन अस्पताल दुरुपयोग गरेको गोप्य जानकारी प्राप्त गरेको दाबी गर्दै अल–शिफा अस्पताल घेरा हालेको हो।
सामाजिक सञ्जाल एक्समा इजरायली डिफेन्स फोर्सेजले अल–शिफा अस्पताललाई हमासले दुरुपयोग गरिरहेको भन्दै हमास लडाकुलाई आत्मसमर्पणका लागि बारम्बार चेतावनी दिएको बताएको छ। साथै आत्मसर्मण नगरे अस्पतालमा कारबाही गर्ने चेतावनी इजरायली सेनाको छ।
अल–शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो। अमेरिका र इजरायलले यो अस्पताल हमास लडाकुको एउटा क्याम्पसमेत रहेको दाबी गर्दै आएका छन्। हमासले भने यो आरोप अस्वीकार गर्ने गरेको छ। इजरायली सेनाले घेरा हालेपछि अस्पतालभित्रको अवस्था तनावपूर्ण बनेको छ।
इजरायली बमबारीबाट जोगिन अस्पतालको शरणमा पुगेका हजारौँ मानिस र बिरामीसहितको भीडमा आतंक फैलिएको अल जजिराले जनाएको छ । सात अक्टोबर यता इजरायली सेनाको आक्रमणमा ११ हजार बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।v
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved