काठमाडौं । बेलायती अखबार फाइनान्सियल टाइम्सले अमेरिकी भूमिमा खालिस्तान समर्थक एकजना शिख पृथकतावादी नेतालाई मार्ने भारतको योजना असफल भएको दाबी गरेको छ ।
अमेरिकी अधिकारीले शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नूलाई मार्ने भारतको योजना असफल बनाएको उक्त अखबारले उल्लेख गरेको छ । पन्नू पेशाले एक वकिल हुन् । उनी अमेरिकी तथा क्यानडाका नागरिक हुन् ।
फाइनान्सियल टाइम्सले आफ्नो समाचारमा स्रोतलाई उद्धृत गर्दै शिख पृथकतावादी नेतालाई अमेरिकामा मार्ने योजना भारतले बनाएको जनाएको छ । अमेरिकाले उक्त षड्यन्त्रको पछाडि भारतको हात रहेको आशंका गरेको छ ।
यसैकारण अमेरिकाले उक्त घटनालाई लिएर भारतलाई चेतावनी समेत दिएको फाइनान्सियल टाइम्सको समाचारमा उल्लेख छ । समाचार अनुसार गत जुनमा वासिङ्टन डीसीमा भएको अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटमा अमेरिकाले भारतसमक्ष विरोध जनाएको थियो ।
निज्जरको हत्या गत जुनमा क्यानडामा भएको थियो । क्यानडाले लगाएको आरोपलाई भारतले खण्डन गर्दै आएको छ । निज्जरको हत्यापछि क्यानडा र भारतको सम्बन्ध बिग्रदै गएको छ । उनीहरु एकअर्काको देशका कूटनीतिज्ञलाई निकाल्नेसम्मको अवस्थामा पुगेका छन् ।
शिख नेताको हत्यालाई लिएर क्यानडा र भारतबीच तनाव बढीरहेका बेला फाइनान्सियल टाइम्सले भारतले अमेरिकामा पनि अर्को एक शिख नेतालाई मार्ने प्रयास गरेको सार्वजनिक गरेको छ । फाइनान्सियल टाइम्सका अनुसार अमेरिकाले भारतलाई कूतनीतिक चेतावनी दिनुका साथै एक शंकास्पद व्यक्तिमाथि मुद्दा चलाउने प्रक्रिया सुरु गरेको छ । मुद्दा न्युयोर्कको जिल्ला अदालतमा दर्ता गरिएको छ ।
गुरपतवन्त सिंह पन्नुले यस घटनालाई लिएर प्रतिक्रिया दिन नमानेको फाइनान्सियल टाइम्सले जनाएको छ । पन्नुले अखबारलाई छोटो प्रतिक्रिया दिएका छन्, “म यो कुरा अमेरिकी सरकारसमक्ष छोड्न चाहन्छु । अमेरिकी भूमिमा भारतीयबाट मेरो ज्यानमाथि खतरा भएको छ, यसमा अमेरिका के गर्छ, हेर्छु ।”
फाइनान्सियल टाइम्समा समाचार प्रकाशित भएपछि उक्त घटनालाई लिएर भारतले प्रतिक्रिया जनाएको छ । भारतको विदेश मन्त्रालयले भनेको छ, “अमेरिकाले केही अपराधी र आतंकवादी समेत अन्य केहीको जानकारी दिएको थियो, यसबारे जाँच चलिरहेको छ ।”
अमेरिकाले भने अहिलेसम्म सार्वजनिक र औपचारिक रुपमा घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।
गुरुपतवन्त सिंह पन्नू स्वतन्त्र शिख देश खालिस्तान बनाउने अभियानमा सहभागी हुँदै आएका छन् । उनी स्वतन्त्र खालिस्तान माग गर्ने संगठन शिख्स फर जस्टिसका वकिल हुन् । पन्नूलाई भारतले सन् २०२० मा आतंकवादी घोषणा गरेको थियो ।
यो घटना शिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर क्यानडा र भारतबीच कूटनीतिक संकट उत्पन्न भएको दुई महिनापछि बाहिर आएको हो । क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाउँदै आएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved