मधेश प्रदेश सभाका सचिव पिटिए, भुक्तानी गर्न नमानेपछि सभामुखका सहयोगीहरुबाट हातपात

  • माघ १०, २०८० | २३७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सभाका सचिव मनोज कुमार गिरीलाई कुटपिट गरिएको छ । सभामुखले भुक्तानीका लागि दिएको दबाबमा काम गर्न अस्वीकार गरेपछि सभामुख रामचन्द्र मण्डलका सहयोगीहरुले हातपात गरेका छन् ।

प्रदेश सभाको सभामुख आवासको छानामाथि सभामुख रामचन्द्र मण्डलसमेत उनका केही सहयोगी, प्रदेश सभा सचिव गिरी, लेखाअधिकृतसमेत घाम ताप्दै छलफल गरिरहेको बेला भुक्तानीका लागि सभामुख मण्डलले सचिवमाथि दबाब दिएको बताइएको छ । तर सचिव र लेखापालले भुक्तानी गर्न अस्वीकार गरेपछि सभामुख मण्डलले मुख छाड्दा उनका सहयोगीले हातपात गरेको बताइएको छ ।

सभामुखको सचिवालयमा रहेका कर्मचारीहरुलाई तलब खुवाउनुपर्ने भन्दै सचिव गिरीमाथि दबाब दिँदै आएका सभामुख मण्डललाई ऐन बनाउन भनेपछि कुटपिट गरेका प्रदेशसभा स्रोतले जनाएका छन् । सभामुख नियुक्त भएपछि आफ्ना ज्वाईसंगै दुई दर्जन भन्दा बढी कर्मचारीको नाममा कार्यकर्ता भर्ना गरेको आरोप छ ।

स्रोतहरुका अनुसार यस अघिका सचिव रञ्जित यादवले पनि भ्रमण भत्ता लगायत करारका कर्मचारीहरुलाई तलब, सुबिधा दिन अस्वीकार गरेकाले सभामुख मण्डलकै निर्देशनमा उनको सरुवा भएको थियो । अहिलेका सचिव गिरीलाई सभामुखले नै ल्याएका छन् । तर, सभामुखको सेवा सुबिधा भन्दा बढी जनालाई तलव भक्ता खुवाउन भने पछि सचिव गिरीले अस्वीकारगर्दै आएका छन् ।

कुटपिट भएको खवर पाएपछि प्रदेश सभाका अन्य कर्मचारीहरु सचिव गिरीको बचाउमा निस्केपछि उनलाई छाडिएको थियो । सभामुख मण्डलको क्रियाकलापले कर्मचारीहरु आन्दोलन गर्ने तयारी थालेका थिए तर प्रदेश सभाको प्रतिष्ठामा पर्ने भएकाले उनीहरुले तत्काल आन्दोलनका कार्यक्रमहरु स्थगन गरेका छन् ।

स्रोतका अनुसार सभामुखका नजिकका एकजना पत्रकारले सचिव गिरीसंग माफी माग्दै घटनालाई ढाकछोप गरेको बताइएको छ । सभामुख मण्डलले पटक–पटक आफ्ना सचिवालयका कर्मचारीहरुलाई तलब, भत्ता तथा अन्य सेवा सुबिधा उपलव्ध गराउन दबाब दिँदै आएका छन् । तर, सचिवहरुले भने सभामुखलाई ऐन बनाउनुपर्ने सुझाव दिँदै आएका छन् ।

प्रदेश सभाका सचिव र लेखा अधिकृतहरुले सभामुख आफै ऐन बनाउने अधिकारी भएकाले ऐन बनाएर काम गर्न सुझाउदै आएका छन् । तर, ऐन मिचेर सरकारी रकम दुरुपयोग गर्न नमिल्ने भनेपछि सभामुख मण्डल आक्रोशित भएको बताइन्छ । प्रदेश सभाका एक कर्मचारीले भने–‘सभामुख जी मधेश प्रदेशको ऐन मान्नु हुन्न, हरेक थोक आफ्नो अनुकूल चाहन्छन् तर, हामीहरु नियम कानुनको परिधिमा बसेर काम गर्नु पर्छ त्यो सभामुखले बुझ्नु जरुरी छ ।’

सभामुख मण्डल सभामुख बन्नु भन्दा पहिला स्वच्छ छविका नेताको रुपमा मानिए पनि पछिल्लो समयमा उनको आलोचना हुन थालेको छ । बैंकको खाता खोल्ने विवादमा स्वयं सभामुख मण्डल तानिएका थिए । आसेपासे र कार्यकर्ता भर्ना गर्न प्रदेश सभालाई केन्द्र बनाएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । बेरित भर्ना भएका कर्मचारीहरुलाई तलब, सुबिधा दिन नसकिने अडान लिने कर्मचारीहरुसित दुव्र्यवहार हुन थालेको छ ।

प्रदेश सरकारले कुनै विधेयक टेवल गर्दा त्यसलाई प्रदेशसभा सदस्यहरुवाट पारित गराउँदै ऐनको रुप दिने सभामुखवाट नै ऐन विपरीतको क्रियाकलाप हुनु दुःखद रहेको मधेश प्रदेश सभाका एक सदस्यले बताए । उनले भने–‘सभामुख जस्तो गरिमामय पदमा बसेर कर्मचारीमाथि हातपात गराउनु लज्जास्पद हो ।’

सभामुखले नै कर्मचारी कुटपिट गर्न थालेपछि अन्य प्रदेशसभा सदस्य र मन्त्रीहरुले के गर्छ उनले प्रश्न समेत गरे । चौतर्फी आलोचना भइ रहँदा सभामुख मण्डलले कुटपिट नभई सामान्य भनाभन भएको स्वीकारेका छन् । उनले भने–‘ सामान्य भनाभन भएको छ, कुटपिट गरेका छैनौ ।’ तर, सचिव गिरीले कुटपिट भएको बताएका छन् ।

सचिव गिरीले कुटपिटको विषयमा मधेश प्रदेशको कुनै निकायमा उजुरी गरेका छैनन् । तर उनी सहित लेखापालमाथि समेत हातपात भएको उनले आफ्ना केही निकट कर्मचारीहरुलाई बताएका छन् । प्रदेश सभामा बसेर काम गर्न सक्ने वातावरण नभएको जनाउँदै उनले चाँडै फिर्ता जाने बताएको एकजना कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

मधेश प्रदेश सभाको दोस्रो सभामुखको रुपमा मण्डलको कार्यकाल चलिरहेको छ । यस अघि मधेश प्रदेशका वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव पाँच वर्ष सभामुख रहेका थिए । उनको कार्यकालमा पहिचान सहितको मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी राख्ने प्रदेश सभाले दुई तिहाई भन्दा बढी बहुमतले निर्णय गरेको थियो ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब