एजेन्सी । भारतको नयाँ दिल्लीमा चार दिनदेखि किसानहरू आन्दोलनमा छन् । बालीको मूल्य र नाफा सुनिश्चित गर्न माग गर्दै भारतका हजारौं किसानले ‘दिल्ली चलो’ अभियान गरी आन्दोलन गरिरहेका हुन् ।
शुक्रबार भारतीय किसान यूनियन (बिकेयू) ले देशव्यापी भारत बन्दको घोषणा समेत गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । सरकारलाई दबाब दिन आफ्ना कामकाज छाडेर भारत बन्द गर्ने घोषणा गरेको बिकेयूका नेता पवन खातानाले बताए ।
‘किसानहरूलाई काम नगर्न, किनमेलका लागि बजार नजान भनिएको छ । व्यापारी र यातायात व्यवसायीहरू पनि प्रदर्शनमा सहभागी हुन आएका छन्,’ उनले भने ।
दिल्ली प्रवेश गर्न खोजेका किसानलाई प्रहरीले ठूलो सुरक्षा घेरा राखेर रोक्ने प्रयास गरिरहेको छ । टाइम्स अफ इन्डियाका अनुसार शम्भू बोर्डरमा प्रहरीले भीडलाई तितरबितर पार्न किसानहरूमाथि अश्रुग्यास समेत प्रहार गरेको छ ।
किसानले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् । दुई पक्षीय भीडन्तमा परी किसान, पत्रकार र प्रहरीहरूसमेत घाइते भएका छन् । प्रहरीले किसानहरू राजधानीमा प्रवेश गर्न नसकून् भनेर तहगत रूपमा ब्यारिकेड (छेकबार) लगाएको छ ।
किसानले उक्त ब्यारिकेड पनि तोड्ने प्रयास गरेका छन् । दिल्ली चलो अभियानका लागि हरियाना, पञ्जाबबाट यात्रा गरिरहेका कतिपयलाई दिल्ली पुग्नु २०० किलोमिटर अघिदेखि नै प्रहरीले रोक्दै आएको छ ।
प्रदर्शनकारीहरूलाई रोक्न दिल्ली प्रहरीले ड्रोनबाटै अश्रुग्यास समेत प्रहार गरेको छ। केही दिनदेखि सुरू भएको प्रदर्शनमा प्रहरीले ड्रोनमार्फत् हजारौं टियरग्यास प्रहार गरिसकेको छ । तर त्यससँग जुध्न किसानले पनि जुक्ति लगाएका छन् ।
किसानले पनि ड्रोनलाई झार्न चंगा उडाएको टाइम्स अफ इण्डियाले जनाएको छ। त्यसरी चंगा उडाएपछि प्रहरीको सुरक्षा बैठकमा चर्चा समेत भएको थियो । किसानहरूले आफ्ना मागबारे सरकार सकारात्मक नभएको गुनासो समेत गरेका छन् ।
किसानहरूले खेती-बालीको मूल्य सुनिश्चित गर्न माग गरेका छन् । किसान समुदायको सुरक्षा र आफूहरूको नाफा सुनिश्चित गर्न आन्दोलन गरिरहेका हुन् । कम्तीमा पनि ५० प्रतिशत नाफा पाउनुपर्ने उनीहरूको माग छ ।
उक्त मागसँगै उनीहरूले सन् २०२०-२१ मा सरकारले हालेका किसानविरूद्ध मुद्दा फिर्ता लिन पनि माग गरेका छन् । त्यतिबेला पनि त्यहाँ किसान आन्दोलन भएको थियो । किसानले पेन्सन र ऋण मिनाहाको समेत माग राखेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved