पारस शाहको बयान– एकपछि अर्को ढल्दै गए, अनि दाइले आफैँलाई हानिबक्स्यो

  • जेठ १९, २०८१ | ४६६ पटक पढिएको | सीमा संदेश
alt

तत्कालीन राजा वीरेन्द्र शाहसहित १० जनाको ज्यान जाने गरी भएको दरबार हत्याकाण्डको २३ वर्ष पूरा भएको छ । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमारी शान्ति, अधिराजकुमार शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम शाहको मृत्यु भएको थियो ।

युवराज दीपेन्द्रलाई जेठ २२ गते मृत घोषणा गरिएको थियो । पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई पनि सोही दिन मृत घोषणा गरिएको थियो ।

तत्कालीन युवराज दीपेन्द्र वीरविक्रम शाहले उक्त हत्याकाण्ड गरेको त्यस बेला गठित उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहेको उच्चस्तरीय समिति बनाइएको थियो । तर, नेता नेपालले पार्टीको निर्णयपछि समितिमा बस्न अस्वीकार गरेका थिए ।

त्यसपछि दुई सदस्यीय छानबिन समितिले घटनाका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो । प्रस्तुत छ, तत्कालीन शाहज्यादा पारस शाहसँग समितिले लिएको बयान–

श्री ५ शाहज्यादा पारस वीरविक्रम शाह

समिति : सरकार, राजदरबारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरूचाहिँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफ : अब, हामी पुग्यौँ त्यहाँ त्यस्तै अन्दाजी साढे ७ः०० भन्दा अलि ढिलो पुग्यौँ । हामी त्यही... ७ः४० तिर पुग्यौँ, सबैजना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौँ । ७ः४० तिर पुग्यौँ, पुग्दाखेरि अ... युवराजाधिराज अलिकति ककटेल ज्युनार भइसक्या जस्तो थियो । अनि, ‘के खाने ?’ मैले कोक मात्र खाने विचार गरेँ । ‘ए, कोक मात्र खाने ! म त ह्विस्की खाएर बसेको छु’ हुकुमभयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ... कुरा गर्दाखेरि, के भो भन्दाखेरि ‘हैन, यही विवाहको कुरा भइराखेको छ, मेरो मुमासँग पनि कुरा गरेँ, आफूमुमासँग पनि कुरा गरेँ, अनि दुवैजनाले हुन्न भन्नुभयो, अब आइतबार बुबासँग कुरा गर्छु’ हुकुमभयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै आठ बज्यो । सबैजनालाई ड्रिंक्ससिंक्स टक्र्याइबक्स्यो । आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि... ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो, त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो । त्यही भुइँमा नै सुकला भयो । म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर ‘सरकार, यहाँ त मिलेन, ठूलोबुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ... छ माथि सवारी चलाउँछौँ’ भनेर हामी चारजना भएर माथि खोपीमा सवारी चलायौँ । त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइनँ, गद्दीको मुन्तिर सानो ओछ्यान छ नि, त्यहीँ नै सुताएर गयौँ हामीले । करिब साढे आठजस्तो भाथ्यो । साढे आठ, त्यस्तै ३१/३२, आठ ३१/३२ होला । हामी तल आयौँ । बत्तीसत्ती निभाएर तल आयौँ । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो, त्यहीँ नै हेलेन शाहसँग मिटिङ भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ । त्यहाँ भित्रको मिटिङ आधा घण्टाजति चल्यो होला, मेक्सिमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौँ । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारीभयो । त्यही कोठामा, जहाँ यो घटना भयो, त्यही कोठामा सवारीभयो । भर्खर ड्रिंक्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीले चियर्स पनि गरेको छैनौँ, भर्खर ड्रिक्स लिइबक्सेको थियो । यसैबीचमा अब हामीचाहिँ यतापट्टि कुनामा थियौँ हजुर, देखिएन युवराजाधिराज सवारीभएको । अ... हामीले युवराजधिराज सवारीभएको देखेनौँ, हामी कुनामा थियौँ । मैले त यो .... .... ....

समिति :     कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि ?
जवाफ :     होइन, क्यारेमबोर्ड छ नि !

समिति :   क्यारेमबोर्ड यो ?
जवाफ :  क्यारेमबोर्ड, क्यारेमबोर्ड छ नि !

समिति :    त्यो बारको पछाडि ?
जवाफ :   हो, बारको पछाडि त्यो... कुनामा । हामी बस्ने कुना त्यही हो । हामी Youngs हरूको, अब त्यहाँ उताबाट चुरोटसुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा, हामी धेरैजस्तो बस्ने त्यही कुनामा हो । अनि, त्यहाँ मैले सवारीभएको कोही देखेको थिइनँ, मैले सवारीभएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ङ गर्‍यो, त्यत्ति तीन राउन्डजति फायर भएको छ । पहिले सवारी हुनेबित्तिकै तीन फायर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागी बक्सदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । तीन राउन्डजस्तो लाग्छ, मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि तीन राउन्डजस्तो लाग्छ । Firstमै, त्यो पनि आवाज । महाराजाधिराजले ‘के गरेको ?’ मात्र हुकुमभएको थियो, ड्याङ्ङ ड्याङ्ङ एउटा यस्तोमा, एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुईजना कुदेर गयौँ । डा. राजीवचाहिँ महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर । मलाईचाहिँ अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, ‘तिमी त्यहीँ बस, हिँड्ने होइन’ हुकुमभयो । त्यहीँ नै मैले पछाडि फर्केर बहिनीहरू सबैजनालाई ढल्न लाई, ‘सुत तिमीहरू यहाँ’ भनेँ । ‘यहाँ ब्वाङ्ङ ब्वाङ्ङ पड्कन थालिसक्यो, सबैजना सुत’ भनेर त्यो लाइन, क्रोसियरमा सबैजनालाई राखेँ । उता, दुईजना सिनियर मेम्बरहरू पनि महेशकुमार र रविशमशेर दुवैजना पनि मेरै छेउमा थियो । दुवैजनालाई पनि मैले लाइन, क्रोसियरमा राखेँ । यत्तिमै यत्ति हुँदाहुँदै युवराजाधिराज सरकार फेरि फर्केर सवारीभयो । मैले देखेको चाहिँ हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखेँ । धीरेन्द्र सरकारलाई हानिबक्सेको देखेँ, ‘बाबा enough, you done enough damageÚ भनेर second time फर्केर जाँदाखेरि धीरेन्द्र सरकारले के हुकुमभयो भने, you done damageÚहुकुमभयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ङ ड्याङ्ङ अर्को एउटा यस्तोमा लागेको छ, एउटा हो कि दुइटा त्यो पनि, धीरेन्द्र सरकारलाई, राम्रोसँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो । ढलिबक्सेबित्तिकै त त्यसपछि त अरूहरू मान्छेहरू त one after another को ढल्यो को ढल्यो, त्यसपछि राम्रोसँग भन्न सक्दिनँ । म पछाडि फर्केर बहिनीहरू सुताउन थालिसकेको थिएँ । अँ... मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखेँ । यता कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखेँ । त्योचाहिँ rist मै ठूलोबुबासँगसँगै तीनजना ढलेको छ । त्यो FirstAutomatic weapon MP-5 छ को फायरले तीनजना ढलेको छ । बाहिर सवारीभयो, फेरि फर्केर सवारीभयो । त्यसपछि त्यो सानो weapon MP-5 automatic, त्यो फालिबक्स्यो । त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारीभएर त्यो weapon लिइबक्स्यो । म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुइँमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने, त्यही एउटा मात्र होला भन्ठानी बक्सेछ । दाइले चाहिँ अरू पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरू तीनवटा बोकिबक्सेको थियो । चारवटा थियो weapon । एउटाचाहिने बन्दुक left side मा थियो, hand gun. Hand gun चाहिँ Left side मा थियो । दाहिने बगलीमा MP-5 थियो । भिरिबक्सेको shot gun र एम१६, त्यो shot gun हो । भ्यारर्र गरेर ठूलोबुबालाई हानिबक्स्यो, कान्छोबुबालाई पनि हानिबक्स्यो । यता खड्गविक्रम ढलिबक्स्यो, उता गोरख ढल्यो । त्यो first attack मै कताकता दागेर बाहिर सवारीभयो । त्यसछि हामी त कुनैमा थियौँ । बाहिरपट्टि के भयो मैले त देखिनँ, फेरि भित्र सवारीभयो । सवारीभएर ठूलोबुबालाई...

समिति :   समयको त्यस्तो कुनै ग्याप, लामो ग्याप त हैन ?
जवाफ :  छैन, एक मिनेट पनि छैन । ३० सेकेन्ड होला म्याक्सिमम । म्याक्सिमम भए ३० सेकेन्ड । भित्र बाहिर, भित्र बाहिर गरिबक्स्यो । सवारीभयो । ठूलोचाहिँ बन्दुक एम१६, एम१६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो । सट, त्यसपछि यता सवारीभयो, खड्ग फुपाजु ढलिबक्स्यो । कुमार खड्ग त्यो बारको ठ्याक्कै तल ढलिबक्स्यो ।

.... हजुर, उतापट्टि गोरख, ठूलोबुबाबीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो । श्रुति, त्यसपछि श्रुति मैले आएको देखिनँ, गोरखलाई गएर ‘बाबा, तिमीलाई पनि लाग्यो !’ भनेको देखेँ । त्यो गएको बेलामा उताबाट फर्किबस्क्यो, युवराजाधिराज सवारीभयो । यतापट्टि ढलिराखेको थियो हजुर । पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारीभो, ‘तिमीलाई के भयो ? तिमीलाई के भयो ?’ भनेर सवारीभई माथिपट्टि सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजाधिराज सवारीभयो, ड्याङ्ङ ड्याङ्ङ (Point Blank)ड्याङ्ङ ड्याङ्ङ ड्याङ्ङ यस्तो घारीबाट देखेको, त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा, त्यो बारको मुनिबाट, त्योचाहिँ राम्रोसँग देखेको हो मैले । ड्याङ्ङ हानिबक्स्यो । त्यो गोली आएर यतापट्टि कार्पेटमा लागेछ, भएर आएर मेचको यतापट्टि काठमा लागेर, मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्योचाहिँ लागेको उसलाई । अब त्यसपछि फेरि बाहिर सवारीभएको हो कि ! म राम्रोसँग सम्झन सकिनँ । बाहिर सवारीभएको जस्तो लाग्दछ । दुईतीनचोटि गरिबक्स्यो भित्र, बाहिर । Third time सवारीहुँदाचाहिँ यता... अ... शाहज्यादी जयन्ती दिदी, केतकी अ... श्रुति तीनजनालाई हानिबक्स्यो । श्रुति Third time अनि, बाहिर सवारीभयो युवराज सरकारचाहिँ । मैले त्यसपछि, यता कुनामा सवारीभयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो कुनामा सवारीभयो । त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यौँ... ‘के गरिबक्स्या हजुर ? हामी... के गरिबक्स्या ? please ..... गइबक्स्योस्’ भनेर त्यो बिन्ती जाहेर गरेँ मैले । नत्र भए, सबैजनालाई हानेको भए, म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि, ठ्याक्कै बारको मुनि रवि थियो । अ... महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो तीनजना बहिनीहरू मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनीचाँहिँ त्यो सोफाजस्तो छ, त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले । मैलेचाहिँ दाइसँग ‘के गरिबक्स्या ? हामी यस्तो, यहाँ त हामी मात्र छौँ, please ...’ one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो, हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरू मान्छे ढलिराखेको थियो । केके भा’छ भनेर मैले कान्छोबुवाका गएँ, ‘पारस, मेरो खुट्टा चलाउन ।’ मैले, खुट्टै चलेन । अँ... ‘मेरा खुट्टा खुम्च्याउन सक्दिनँ, खुट्टा चलाइदेऊ ।’ अलिकति चलाएँ, फिल गर्न सकी बक्सेन । त्यसपछि ‘यता केटाकेटीलाई हेर’ भन्नुभयो । मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन । यता अधिराजकुमारी शान्ति पनि देखेको छैन । उता उता... बडामहारानी सरकार, निराजनको त बाहिरै कुरा भयो, मैले त्यति देखेकै छैन । अनि, त्यो बेलामा हेर्दाखेरि मुमा भर्खर उठिबक्सिराथ्यो, ढलिबक्सेको । मुमा तल होइसिन्थ्यो, अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाहिँ घचडेर उठिबक्सेको देखेँ । म help गरेर उठाएँ मुमालाई । ..... ‘म ठिक छैन, म ठिक छैन’ भन्नुभयो, माथबाट पनि रगत आइराखेको, यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगतचाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ, पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि ‘कहाँ लागेको छ ?’ भन्दा ‘यहाँ लागेको छ’ हुकुमभयो । माथ पनि चेक गरेँ मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा बडामहारानी सरकारकाँ गएँ । बाहिर पनि मैले त फायरिङ सुनेको थिएँ । मैले त उता भन्ठानेँ, मुमा बडामहारानी सरकारको खोपीमा भन्ठानेँ । दौडेर त्यहाँ गएँ, त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरेँ । त्यो बेलासम्म फायरिङ सकिसकेको थियो । म जाँदा मुमा बडामहारानी सरकार...

समिति :     मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा .....
जवाफ : उता सानो बैठक, बाहिरपट्टिको । त्यहाँ होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म Firing बन्द भएको थियो । जब म मान्छेहरूलाई हेर्न गएको थिएँ, त्यो बेलासम्म कोही फायरिङ भइराखेको थियो । बाहिर... त्यो चौरमा फायरिङ भइराखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो, म केही भन्न सक्दिनँ । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानिबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन । अहिले कुरा सुन्दाखेरि बाहिरबाट हानिबक्सेको मुमालाई, पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनेँ । त्यो मलाई थाहा छैन, मैले नदेखेको कुरा म भन्न सक्दिनँ । मैले देखेको कुराचाहिँ यति हो । म पनि त्यसपछि मान्छेहरूलाई हेरेँ, सबैजना ढलिराखेको छन् । ‘खुट्टा चलाइदेऊ’ भन्नुभयो । पाउ चलाएँ, ‘सिधै हेर्न सकिँदैन, यता केतकी फुपूलाई हेर’ भन्नुभयो कान्छोबुबाले । ‘म खुट्टा पनि चलाउन सक्दिनँ म, हेल्पभन्दा धेरै’ त्यो जाहेर गरेँ । दौडेर आफूमुमाकहाँ गएँ । मुमा बडामहारानी सरकारकाँ तीनजना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरूलाई भित्र ल्याएँ । त्यो एडीसीहरू बाहिर गयो, बाहिर जाँदाखेरि ...हरू ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र ADC हरू आइपुग्न Almost सेम टाइम थियो । अनि, त्यहाँ बाहिर गएर के भनेँ, ‘यो भित्र मरेको मान्छे पनि छ, घाइते मान्छेहरू पनि छ, मरेको मान्छेहरूलाई छाड्देऊ, घाइते मान्छेहरूलाई दौडाइहाल पहिला ।’ भित्र लगेँ, घाइते मान्छेहरू सबैजना पहिला उठाएर one by one सबैजनालाई जोजो पहिला गए, जोजो हाल्न सकेँ, पठाएथेँ । पाँच/छ मर्डरहरू थिए । जोजो आए, हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन गएको, ‘तिमीहरू खोज’ भनेर तीनजना । दाइको एडीसी दौडेर आयो, …he shot himself, he shot himselfÚभन्दै आयो । त्यसपछि ‘भाइ कहाँ ?’ भन्दा ‘भाइलाई पनि हानिबक्स्यो ।’ ‘ठूलोमुमा खोइ ?’ ‘ठूलो मुमालाई पनि डाउन, सबैजना डाउन । ठूलोमुमाको chance नै छैन’ भनेर उनीहरूले मलाई भन्यो, मैले देखेको होइन । ठूलोमुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडिबक्स्याथ्यो, माथमा लागेको थियो । ‘ल, हाल’ भनेर दाइ र भाइलाई चाहिँ मैले सँगै हालेर, दाइको एडीसीले हाल्यो । म अगाडि बसेँ, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समातेको थियो । पछाडि अर्को एकजना थियो । दुईजनाचाहिँ म र दुईजना एडीसी, अर्को एकजना ड्राइभर भएर अस्पताल पुर्‍याको । त्यति बेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ..... सबैभन्दा पहिला त सुन्दर भन्ने एडीसी छ, त्यो गर्दा ऊ आयो । उता उताबाट घुमेर आयो, त्यहाँ त फायरिङ भइराखेको थियो । उसले अरू मान्छे ल्याउन सकेन, उताबाट बाहिर घुमेर । फायरिङ भइराखेको थियो, ‘उता ढोकाको सिसा फुटाएर’ मैले ‘आऊ’ भन्दिए । यो फुटाएर भित्र आएर ठूलोबुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।

यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन हजुर । म पछाडि गर्दै थिएँ, यता मान्छेहरू हेर्दै थिएँ । राजीव गएको मैले देखेको होइन । सबभन्दा पहिलाचाहिँ महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछिचाहिँ म गएर मान्छेहरूलाई हेर्न गएको । एडीसीहरूलाई मैले नै बोलाएर त्यो सिसा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो । 

समिति :  सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफ : मलाई जहाँसम्म लाग्दछ, एउटा एम१६ युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले । अरूचाहिँ फायर भएको देखेको छु मैले । यो एम१६ फायर भएको देखेको हुँ । 

समिति :  युवराजाधिराजको कसरी ?
जवाफ : मैले सुनेअनुसार, दाइले आफूलाई हानिबक्स्यो, ब्रिजमा हानिबक्सेको । 

समिति : यसको पछाडि के यस्तो कारण ?
जवाफ : यो विवाहकै हो हजुर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो सुरु भएको, पोहोर गएको जन्मोत्सवमा सुरु भएको कुरा हो । पार्टी भएपछि, पार्टी भएको त्यही ठाउँमै, त्यही ठाउँमा भएको कुरा हो । त्यहीँ नै हामी आएर कुरा गर्दाखेरि जोजो againstअघि जोजो with, अब भाइ र म with, जहिले पनि वीथ । दाइको त हामी जेजे हुकुम हुन्छ, त्यही गर्ने मान्छे । भाइ र म with थियौँ । अब राजीव त डा. with भयो । श्रुति, गोरखहरू र अरू बहिनीहरू against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ । 

समिति : तर, त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफ : मसँग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईंलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जीभयो भने मलाई, ‘मुमासँग पनि कुरा गरेँ, आफूमुमासँग पनि कुरा गरेँ, नहुने भयो, अब म बुबासँग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु ।’ त्यत्ति मात्र हुकुमभाथ्यो मलाई । 

समिति : राम्रो मुड थियो ?
जवाफ : लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मुड । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौँ हामीले । एकदमै जोक गरिबक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त । 

समिति : सरकार माथि कसले पुर्‍याएको ?
जवाफ : हजुर, हामी चारजनाले पुर्‍याएको । हामी चारजना, एकजनाले कहाँ सक्नु !

समिति : बोकेरै लगिबक्स्यो ?
जवाफ : दुईजना साइडमा, म पछाडि । यसरी उचालेर गोरख र भाइले, अँ... राजीव र भाइले दुईजना साइडमा, मैले पछाडि समाएर माथि लग्यौँ । गोरख होइन, गोरख पछिपछि आउँदै थियो, माथि .....

समिति : तल सुताइबक्स्यो ?
जवाफ : तल, मेन गद्दीमा त सुताएनौँ । तल सुतायौँ । मैले भाइलाई भनेको ‘वेपनहरू झिक, लैजाऊ । अप्ठ्यारो हुन्छ, झिक ।’ ..... ‘पर्दैन होला’ .....

समिति : त्यो कोठाबाट ?
जवाफ : कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दीभन्दा तल अर्को एउटा बेड ..... ऊ ..... ग्राउन्ड बेडजस्तो त्यहाँ सुताएर हामी तल आएको । 

जवाफ : वेपन्सहरू ? 
जवाफ : वेपन्स अब त्यो, त्यस्तो त बोकिबक्सेको छैन । एमपी५ र मैले देखेको छैन कहाँ 
थियो । अँ, ..... अनि एम१६ चाहिनी त्यो तखताहरू छ नि, जानेबित्तिकै तखताहरूजस्तो छ ।

समिति : त्यसमा कार्टिजहरू पनि निस्किराखेको थियो ?
जवाफ : हो, त्यो तखतामा छ । त्यो होला ..... अँ... बट्टाभित्रै, बक्सभित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्योचाहिँ एम१६ चाहिनी । ..... पनि म चिन्छु हजुर, जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ? 

समिति : अरू सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
जवाफ : म अब सम्झेँ भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भइद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरू पनि बचाउन सक्थेँ कि जस्तो लाग्छ, आफूलाई अहिले सोच्दाखेरि । जे जति गरेँ, त्यो कम भयो जस्तो लाग्छ आफूलाई । 

समिति :  हस् त । बाह्रखरी

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब