तृतराज दासको अर्धशतक तथा मोइन अलीको अलराउन्डर प्रदर्शनमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हरायो । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएका थिए । सुरुमा ब्याटिङको अवसर पाएको जनकपुरले २० ओभर सात विकेट गुमाउँदै १४७ रनको योगफल खडा गर्यो ।
प्रत्युत्तरमा पोखराले २० ओभरमा नौ विकेट गुमाएर मात्र १३८ रन बनायो । पोखरालाई अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक थियो । तर, पोखराले ७ रन मात्र स्कोर चढाउँदा जनकपुर लगातार दोस्रो जित हात पार्न सफल भयो । इनिङ्सको १९औँ ओभरमा पोखराले सेट ब्याट्सम्यान विपिन आचार्यलाई गुमाएको थियो । उनले १९ बलमा २० रन जोडेका थिए । विपिन खत्रीले १४ बलमा एक चौकाको सहयोगमा १७ रन जोडे ।
रोमाञ्चक जितका साथ जनकपुर दोस्रो स्थानमा उक्लिएको छ । जनकपुरले तीन खेलमा दुई जित र एक हारको सामना गरी ४ अंक जोडेको छ । शीर्ष स्थानमा कर्णाली याक्सले दुई खेलबाट ४ अंक नै जोडेको छ । रनरेटमा जनकपुर दोस्रो स्थानमा रहेको हो । लगातार दुई हार सामना गरेको पोखराले अंक जोडेको छैन । पोखरा सातौँ स्थानमा छ । एक खेल खेलेको काठमाडौं गोर्खाज पनि अंकविहीन आठाैँ स्थानमा छ ।
ब्याटिङमा तृतराज र बलिङमा मोइन चम्किए
जनकपुरको जितमा दुई खेलाडी मुख्य रहे । ब्याटिङमा तृतराज दासले अर्धशतकीय इनिङ्स खेले । अलराउन्डर मोइन अलीले बलिङमा कसिलो प्रदर्शन गरे । तृतराज तेस्रो संस्करणको एनपिएलमा अर्धशतक लगाउने छैटौँ ब्याट्सम्यान बने । स्वदेशी खेलाडीमा अर्धशतक कटाउने उनी चौथो खेलाडी बने । नेपाली खेलाडीमध्ये दीपेन्द्रसिंह ऐरी, लोकेश बम र सोमपाल कामीले अर्धशतकीय इनिङ्स खेलेका छन् । विदेशीमा चितवनका डेभिड मालन र जनकपुरका मोइन अलीले अर्धशतक लगाएका छन् ।
पोखराविरुद्धको खेलमा ओपनर तृतराजले ६१ रनको योगदान दिए । उनले ५५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । तृतराज र मोइनबिच पहिलो विकेटका लागि ६.३ ओभरमा ४७ रनको साझेदारी भएको थियो ।
मोइनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरी २१ रन जोडे । १४८ रन रक्षा गर्ने क्रममा मोइनले आफ्नो स्पिनमा पोखराका ब्याट्सम्यानलाई धरापमा राखे । उनले चार ओभरमा एक मेडन राखी १३ रन खर्चेर तीन विकेट लिए ।
उनको ३.२५ रनको इकोनोमी रह्यो । मोइनले १.१ ओभरमा मेहदी हसन, ३.६ मा दिनेश खरेल तथा १३.२ ओभरमा मोहमद सैफुद्दिनको विकेट लिँदै पोखरामाथि दबाब बनाए । यसअघि जनकपुरका लागि दुई खेलमा ६ विकेट लिएर चर्चामा आएका १६ वर्षका राहुल यादव भने विकेटविहीन भए । उनले दुई ओभरमा २३ रन खर्चिए ।
चलेन पोखराका शीर्ष तथा मध्यक्रम
त्रिवि क्रिकेट मैदानमा १४८ रनको लक्ष्य त्यति ठुलो होइन । यसै पिचमा शनिबार विराटनगर किंग्सले पाँच ओभरमा सय रन कटाएको थियो । फ्रेस रहेको पिचमा पोखराले जनकपुरले दिएको लक्ष्य कटाउने अनुमान थियो । तर, इंग्ल्यान्डका पूर्व अनुभवी खेलाडी मोइनले पोखराका शीर्ष दुई ब्याट्सम्यानलाई पेभेलियन पठाए । त्यसपछि पोखरा दबाबमा आयो । पोखराले यो दबाब झेल्न सकेन र निरन्तर विकेट गुमाउँदै गयो । उसका लागि कप्तान कुशल भुर्तेलले जितका लागि प्रयास गरिरहेका थिए ।
बंगलादेशका सकिब अल हसनले १७ बलमा ९ रन मात्र जोडे । हर्मित सिंह र मोइनले पोखराको मध्यक्रम ब्याटिङ ध्वस्त पारेपछि जनकपुर जिततर्फ अग्रसर भयो । हर्मितले अन्तिम ओभरमा दुई विकेट लिए ।
पोखराले निरन्तर रूपमा विकेट गुमाइरहँदा कप्तान कुशलले धैर्यपूर्वक क्रिजमा बसेका थिए । तर, रनरेटको दबाब आउँदा उनी आक्रामक हुन कोसिस गरे । यससँगै उनी आफ्नो विकेट गुमाउन पुगे । स्पिनर ललित राजवंशीले इनिङ्सको ६.३ ओभरमा कुशलको महत्वपूर्ण विकेट हात पारे । कुशलले २४ बलमा पाँच चौकाको सहयोगमा ३५ रन बनाए ।
किरणले पाँच बलमा दुई चौका र एक छक्का प्रहार गरी १५ रन जोडे । शीर्षक्रम र मध्यक्रमले धैर्यपूर्ण ब्याटिङ नगर्दा पोखरा लगातार दोस्रो खेलमा जितविहीन हुनुपर्यो ।
सर्वाधिक विकेटको शीर्ष स्थानमा मोइन अली
तेस्रो एनपिएलमा इंग्ल्यान्डका मोइन सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । उनले तीन खेलमा ६ विकेट हात पारेका छन् । रमाइलो पक्ष के रह्यो भने तीन बलरले समान ६ विकेट लिएका छन् । उनीहरू सबै जनकपुरका नै हुन् ।
जनकपुरका कप्तान हर्मित सिंहले तीन इनिङ्समा ६ विकेट हात पारे । जनकपुरकै राहुल यादवले पनि ६ विकेट लिएका छन् । तर, उनको इकोनोमी रनरेट मोइन र हर्मितको भन्दा कम रह्यो । मोइनले काठमाडौं गोर्खाजविरुद्ध २३ रन खर्चेर एक विकेट लिएका थिए । पहिलो खेलमा उनले कर्णालीविरुद्ध १९ रन दिएर दुई विकेट हात पारेका थिए ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved