ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्तुष्टि : डिजे र लाउडस्पिकर नियन्त्रण गर्ने कानुन छ, तर कार्यान्वयन हुँदैन

  • कार्तिक १७, २०८३ | ३६ पटक पढिएको | सीमा संदेश
alt

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा बोलबम यात्राका क्रममा चर्को डिजे बजाएको विषयलाई लिएर दुई समुदायबिच विवाद र झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भयो ।

६ जना घाइते भए । त्यसपछि भड्किएको साम्प्रदायिक दंगाले सिराहाको गोलबजारमा गणेश यादवको मृत्यु भयो । घटनामा दर्जनौँ घरपरिवार विस्थापित भए । करोडौँको भौतिक संरचना र सवारीसाधनमा क्षति पुग्यो ।

कप्तानगन्ज घटनापछि जिल्ला प्रशासन मोरङ र सुनसरी प्रशासनले धार्मिक हिंसा भड्किन नदिन जिल्लाभरि धार्मिक र सामाजिक कार्याक्रममा डिजे बाजाको प्रयोगमा प्रतिबन्ध लगायो । तर, हिन्दु सम्राट सेनाले प्रशासनलाई चुनौती दिँदै डिजे प्रयोग मात्र गरेन, धार्मिक परम्परामा प्रतिबन्ध लगाउन पाइँदैन भन्दै प्रदर्शन गर्यो । दुवै जिल्लामा अहिले डिजे खुला रूपमा प्रयोग भइरहेको छ । 

 घटना २ :  विराटनगर महानगरपालिका– १६ मा गत वर्ष धार्मिक उत्सवका क्रममा डिजेमा ‘तारीवाले बाबु, तारी पिलादे’ बोलको गीत पटक–पटक बजाइएको विषयलाई लिएर स्थानीयबिच विवाद भयो । गीत बजाउने विषयमा स्थानीय तारी बिक्री गर्ने व्यक्तिसँग भएको विवाद बढ्दै जाँदा तनावको अवस्था सिर्जना भएको थियो । स्थानीय प्रशासनलाई स्थिति नियन्त्रणमा लिन निकै कठिन भएको थियो ।

विराटनगर/ माथि उल्लिखित घटना प्रतिनिधिमूलक मात्र हुन् । धार्मिक जुलुस, पूजा, पुराण, चाडपर्व र सामाजिक उत्सवमा चर्को आवाजमा डिजे तथा माइक बजाउने प्रतिस्पर्धा आजकल तीव्र रूपले बढ्दै गएको छ ।

कतिपय स्थानमा धार्मिक आस्थाभन्दा ठुलो आवाज निकालेर गानाबजाना गरेर आडम्बर प्रदर्शन गर्ने होड नै चल्ने गरेको छ । त्यसले एकातिर बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीलाई प्रत्यक्ष असर गरेको छ भने अर्कातिर सामान्य विवादलाई सामुदायिक तनावमा परिणत गर्न सक्ने जोखिम बढाइरहेको छ ।

धार्मिक उत्सवमा बजाइने डिजे र माइकको आवाज अब मनोरञ्जन वा आस्थाको विषयमा मात्र सीमित छैन । छिमेकीबिचको विवाद, सामुदायिक तनाव र धार्मिक सहिष्णुतामाथिको चुनौती बन्दै गएको धार्मिक ध्वनि प्रदूषण नियन्त्रण गर्न नसक्दा सामाजिक सद्भावदेखि नागरिकको स्वास्थ्य र शान्तिपूर्वक बाँच्न पाउने अधिकारसम्म प्रभावित हुन थालेको छ । डिजे, माइक र चर्को लाउडस्पिकर नियन्त्रण गर्ने कानुन छ, तर कार्यान्वयनमा कमजोरी देखिएको छ ।

विरोध गर्ने नागरिक नै एक्लिन्छन् 
एलिट क्लब विराटनगरका महासचिव यज्ञ शर्माका अनुसार ध्वनि प्रदूषणविरुद्ध आवाज उठाउने नागरिकले सामाजिक दबाब र असुरक्षासमेत सामना गर्नुपर्ने अवस्था छ । ध्वनि प्रदूषणको विरोध गर्नेहरू समाजमा एक्लिन्छन् ।

उजुरी गर्नसमेत जोखिम महसुस गर्नुपर्ने अवस्था छ । स्थानीय तह र जिल्ला प्रशासनले इच्छाशक्ति देखाएमा ध्वनि प्रदूषण नियन्त्रण गर्न सकिने शर्माको भनाइ छ । उनका अनुसार विद्यालयमा अनावश्यक रूपमा ठुला साउन्ड बक्स प्रयोग नगर्न परिपत्र गर्ने, डिजे र शक्तिशाली माइक प्रयोग हुने कार्यक्रमलाई आर्थिक तथा प्रशासनिक सहयोग नदिने र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने व्यवस्था प्रभावकारी हुन सक्छ । ‘डिजे र माइकको चर्को आवाजविरुद्ध उजुरी नपरे पनि कानुन उल्लंघन भएको देखिएमा सम्बन्धित निकायले अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ,’ शर्माले भने ।

नागरिक समाजका अगुवा दिनेश श्रेष्ठ पनि भारतमा समेत त्यहाँको सुप्रिम कोर्टले धार्मिक ध्वनि प्रदूषणविरुद्ध सन् २००० मै प्रभावकारी फैसला गरिसकेको र इन्डोनेसियालगायत धेरै देशले धार्मिक ध्वनि नियन्त्रणका लागि अलग्गै कानुन बनाएर प्रभावकारी कार्यान्वयन गराइसकेकाले अब नेपालमा पनि भएका कानुन कार्यान्वयन गराउन दबाब बढाउन ढिलो भइसकेको बताउँछन् ।

‘अहिले नै नियन्त्रणका लागि प्रभावकारी कदम चालिएन भने समाजमा घृणा बढ्दै जाने र सामान्य विवादले समेत साम्प्रदायिक तनावको रूप लिन सक्ने जोखिम छ । ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीको स्वास्थ्यमा पर्ने असरलाई पनि बेवास्ता गर्न मिल्दैन,’ श्रेष्ठले भने ।

विराटनगरका युवा जमसेद आलम धार्मिक उत्सवमा चर्को आवाज, उत्तेजक प्रदर्शन र हतियारको प्रदर्शनसमेत जोडिँदै जानु चिन्ताजनक भएको बताउँछन् । ‘कुनै पनि धर्मले अरूलाई हानि पुर्याउने काम गर्न सिकाउँदैन । हाम्रो इस्लाम धर्ममा पनि त्यस्तो शिक्षा छैन । पहिले मोहर्रममा लाठी प्रदर्शन हुन्थ्यो, पछि वास्तविक तरबार प्रदर्शन गर्न थालियो । अहिले त रामनवमी र हनुमान जयन्तीजस्ता उत्सवमा पनि तरबार प्रदर्शन गर्ने प्रवृत्ति बढदै गएको छ,’ उनले भने ।

जेन–जी अगुवा लक्ष्मी घिमिरे र कानुनकी विद्यार्थी सुनिता साह धार्मिक ध्वनि प्रदूषण नियन्त्रणका लागि स्थानीय नागरिक संयन्त्र बनाएर सचेतना र निगरानी बढाउनुपर्नेमा जोड दिन्छन् । ‘कानुन भएर मात्र हुँदैन, त्यसको पालना गराउने सामाजिक वातावरण पनि चाहिन्छ ।

यो अभियान धार्मिक अगुवा र विद्यालय प्रशासनबाट सुरु गर्न सकिन्छ । ध्वनि प्रदूषणमुक्त वातावरण आमनागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय हो,’ उनीहरू भन्छन् । घिमिरे र साहका अनुसार वातावरणीय प्रदूषण मापन गरेजस्तै ध्वनि प्रदूषणको स्तर मापन गर्ने उपकरण प्रयोग गर्नुपर्छ ।

विकृति रोक्न नागरिक समाज पनि बोल्नुपर्छ
मानव अधिकारकर्मी मनोहर पोखरेलले धार्मिक ध्वनि प्रदूषण सामान्य सामाजिक विकृतिमा मात्र सीमित नरहेको बताउँछन् । अर्थशास्त्री डा. भेषप्रसाद धमला पनि धार्मिक आस्थाको नाममा डिजे र हतियार प्रदर्शन गर्ने प्रतिस्पर्धा बढ्नु चिन्ताजनक भएको बताउँछन् । ‘यो आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षसँग जोडिएको विकराल समस्या बनिसकेको छ । यसैले नागरिक सचेतना नबढाई कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन कठिन हुन्छ,’ धमलाले भने । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल कप्तानगन्ज घटनापछि आफूहरूले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन निर्देशन जारी गरेपछि धेरै हदसम्म डिजेको प्रयोग नियन्त्रण भएको दाबी गर्छन् । तर, चर्को होहल्ला गरेपछि मात्र भगवान्ले सुन्छन् भन्ने सोच परिवर्तन नभएसम्म प्रशासनलाई चर्को ध्वनि प्रदूषण नियन्त्रण गर्न चुनौती भइरहने उनको भनाइ छ । 

जनप्रतिनिधिलाई पनि नियमन गर्न कठिन
विराटनगर महानगरपालिका– ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत धार्मिक ध्वनि प्रदूषण नियन्त्रणमा सामाजिक दबाब र व्यवहारगत समस्याका कारण जनप्रतिनिधिलाई कठिनाइ हुने बताउँछन् ।

११ नम्बर वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने धार्मिक पुराण, पूजा, सामाजिक उत्सव र चाडपर्वमा माइक तथा डिजेको आवाजले स्थानीयलाई हैरान बनाइरहेको सुनाउँछन् । ‘धार्मिक कार्यक्रम भनिन्छ, तर कतिपय ठाउँमा बजाइने गीत र आवाजको स्तर सहनै नसकिने हुन्छ । साना बालबालिकालाई समेत उत्तेजित बनाउने गरी नचाउने र चर्को आवाजमा कार्यक्रम गर्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थाले समाजलाई कतातिर लैजाँदै छ भन्ने प्रश्न उठेको छ,’ उनले भने ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला धार्मिक ध्वनि प्रदूषणको समस्या आफूहरूलाई जानकारी रहेको र नियन्त्रणका लागि प्रयाससमेत गरिएको बताउँछन् । ‘हामीले २८ साउन ०७९ मा छलफल गरेर धार्मिक ध्वनि नियन्त्रणका लागि १० वटा नियम बनाएका थियौँ । त्यसपछि जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर कार्यान्वयनका लागि पठाएका पनि थियौँ । तर, अपेक्षित परिणाम आउन सकेन,’ उनले भने । धराजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल धार्मिक परम्परा, संस्कृति र विकृतिबिचको भिन्नता छुट्याउनुपर्ने बताउँछन् ।

कानुन भन्छ– धार्मिक स्वतन्त्रता निरपेक्ष अधिकार होइन
ध्वनि प्रदूषण नियन्त्रणका लागि नेपालमा कानुनी व्यवस्था नभएको होइन । सरकारले चाहेमा वातावरण संरक्षण ऐन, २०७६, मुलुकी अपराध संहिता, २०७४, जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ देखि सडक विभागको प्रतिवेदनलगायत धेरै कानुन कार्यान्वयनमा ल्याउन सकिन्छ । तर समाजमा अझै समस्या कानुनको अभावभन्दा पनि तिनको प्रभावकारी कार्यान्वयनमा देखिएको छ । 

मुलुकी अपराध संहिता, २०७४ को दफा ११२ ले धार्मिक उत्सव आयोजना गर्दा वातावरण प्रदूषित गर्न नहुने बताएको छ । यस दफाले सर्वसाधारणको स्वास्थ्यमा हानि पुर्याउने वा जिउज्यानमा खतरा उत्पन्न गर्न सक्ने गरी प्रदूषण गर्न निषेध गरेको छ । कानुनले अधिकार दिएको अधिकारीको इजाजतविना यान्त्रिक साधनबाट ध्वनि उत्पादन, प्रसारण वा उत्सर्जन गर्न पनि रोक लगाएको छ । दफा ११२ को उपदफा (२) उल्लंघन गरी कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । 

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४० ले पनि ध्वनि प्रदूषण नियन्त्रणबारे बोलेको छ । यस दफाले ध्वनि, वायु, जल तथा दृश्य प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरण गर्न सरकारले मापदण्ड निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तो मापदण्ड पालना गर्नु प्रदेश तथा स्थानीय तह, आमनागरिक, उद्योगी, व्यवसायी र संघसंस्थाको कर्तव्य हुने व्यवस्था पनि छ । वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणमा प्रतिकूल असर पार्ने गतिविधि नियन्त्रण गर्न र वातावरणीय मापदण्ड पालना गराउन कानुनी आधार दिएको छ । यो कानुनअनुसार ध्वनि प्रदूषण नियन्त्रणमा ऐनका सम्बन्धित प्रावधान, स्वीकृत मापदण्ड र अधिकारप्राप्त निकायको भूमिका जोडिएको छ ।

ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ अनुसार यस मापदण्डमा औद्योगिक, व्यापारिक, आवासीय तथा शान्त क्षेत्रअनुसार ध्वनिको स्वीकार्य स्तर निर्धारण गरिएको छ । जसअनुसार सहरी आवासीय क्षेत्रमा दिनको ५५ र रातको ५० डेसीबल तथा शान्त क्षेत्रमा दिनको ५० र रातको ४० डेसीबल सीमा निर्धारण गरिएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल भन्छन्–  सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन निर्देशन जारी गरेपछि धेरै हदसम्म डिजेको प्रयोग नियन्त्रण भएको छ । धार्मिक ध्वनि प्रदूषण नियन्त्रणलाई तीन तहकै सरकारले आफ्नो दायित्व ठान्नुपर्छ र केन्द्रीय सरकारले भएका कानुन कार्यान्वयन गराउन सबै नियमनकारी निकायलाई कडा निर्देशन गर्नुपर्छ ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

जनकपुरको कसिलो बलिङमा दोस्रो जित

तृतराज दासको अर्धशतक तथा मोइन अलीको अलराउन्डर प्रदर्शनम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब