७ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन पाँच लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले एकीकृत गरेको तथ्यांकअनुसार नियमिततर्फ चार लाख ७० हजार र ग्रेडवृद्धितर्फ ५२ हजारले फारम भरेका हुन् । तर, विभिन्न कारणले परीक्षामा सहभागिता संख्या केही घट्न सक्ने विगतका अनुभवले देखाउँछ । गत वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थीले फारम भरेकामा चार लाख ७५ हजार २९८ मात्रै परीक्षामा सहभागी भएका थिए ।
७७ वटै जिल्लाबाट संकलन गरिएको एकीकृत तथ्यांकअनुसार यसपालि गत वर्षभन्दा १७ हजार ५८६ बढी अर्थात् पाँच लाख २२ हजार विद्यार्थीले फारम भरेको परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले जानकारी दिए । तर, विद्यार्थी संख्या बढ्दा परीक्षा केन्द्र भने गत वर्षको भन्दा ३० कम राखिएको छ । गत वर्ष दुई हजार ६४ परीक्षा केन्द्र तोकिएकामा यसपालि दुई हजार ३४ मात्रै राख्ने निर्णय भएको छ ।
विष्णु ज्ञवाली, डेपुटी कन्ट्रोलर, परीक्षा बोर्ड
गत वर्ष परीक्षा केन्द्र धेरै थिए, तर केन्द्रमा विद्यार्थी संख्या कम थियो । यसपालि हरेकमा २५० विद्यार्थी पुग्ने गरी केन्द्र तोकेका छौँ ।
गत वर्ष हरेक केन्द्रमा तोकिएअनुसार विद्यार्थी नभएकाले यसपालि हरेकमा २५० विद्यार्थीले परीक्षा दिने गरी व्यवस्थापन भएकाले केन्द्रको संख्या कम गरिएको ज्ञवालीले बताए । ‘गत वर्ष परीक्षा केन्द्र धेरै थिए, तर केन्द्रमा विद्यार्थी संख्या कम थियो । यसपालि हरेकमा २५० विद्यार्थी पुग्ने गरी केन्द्र तोकेका छौँ,’ उनले भने ।
काठमाडौंमा हरेक वर्ष सबैभन्दा बढी परीक्षा केन्द्र रहन्छन् । यसपटक पनि झन्डै १३० परीक्षा केन्द्र काठमाडौंमै रहनेछन् । मनाङ र मुस्ताङमा विद्यार्थी कम हुने भएकाले केन्द्र संख्या पनि कम हुन्छ ।
बोर्डले यसपटकको एसइई परीक्षामा ३० हजार सुरक्षाकर्मीसहित कुल ७५ हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुरक्षाकर्मीबाहेक केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी रहेछन् । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रमा सबै जनशक्ति गरी कम्तीमा ४० जना खटिनेछन् । सुरक्षा संवेदनशील केन्द्रमा भने योभन्दा बढी जनशक्ति परिचालन गर्न सकिने अध्यक्ष शर्माले बताए ।
यसपटक फरक तरिकाबाट प्रश्नपत्र निर्माण
एसइई सुरु हुन अब एक महिना मात्रै बाँकी छ । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार सबै प्रश्नपत्र पनि तयार भइसकेका छन् । छपाइ सकेर प्याकिङको काम भइरहेको, केही दिनमै प्रदेश हुँदै स्थानीय तहमा पुर्याइने र परीक्षाको मितिअनुसार परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने उनले बताए ।
बोर्डले प्रश्नपत्र निर्माण गर्दा
पनि यसपालि फरक तरिका अपनाएको छ । यसअघि सबै प्रश्नपत्र केन्द्रबाटै तयार पारिन्थ्यो । यसपालि भने प्रदेश तहबाट पनि शिक्षकले निर्माण गरेको प्रश्नपत्र तयार पारिएको छ । केन्द्र र प्रदेश तहबाट आएका प्रश्नहरू काँटछाँट गरेर अन्तिम रूप दिइएको अध्यक्ष शर्माले बताए । बोर्डले परीक्षा सञ्चालन र प्रश्नपत्र निर्माणका लागि एक महिनाअघि नै शिक्षकहरूलाई तालिमसमेत दिएको थियो । शर्माका अनुसार परीक्षा सकिएपछि उत्तरपुस्तिका पनि प्रदेशहरूमा जाँच र सम्परीक्षण गरिनेछ ।
केन्द्र र प्रदेशको समन्वयमा परीक्षा सञ्चालन
एसइई परीक्षा सञ्चालन पनि केन्द्र र प्रदेशको समन्वयमा हुँदै छ । प्रश्न र उत्तरपुस्तिकाको हकमा केन्द्रले तयारी गर्ने र अन्य तयारी प्रदेशले गर्नेछ । बोर्ड अध्यक्ष शर्माका अनुसार प्रश्नपत्र तयार पार्ने, ढुवानी गर्ने, तथ्यांक अद्यावधिक गर्ने र नतिजा प्रकाशनको काम बोर्डले गर्छ भने अन्य काम प्रदेश तहलाई बाँडिएको छ ।
‘प्रश्नपत्र पठाउने जिम्मा बोर्डको हो, अन्य काम प्रदेश परीक्षा व्यवस्थापन समितिले गर्छ, आफ्नो प्रदेशमातहत रहेका विद्यालयमा समन्वय गर्ने, केन्द्रहरूमा उत्तरपुस्तिका उपलब्ध गराउने तथा संकलन गर्ने, जिल्ला परीक्षा समन्वय समिति बनाउने र प्रश्नोत्तर परीक्षण गराउनेसम्म प्रदेशले नै गर्छ,’ उनले भने, ‘तथ्यांक विश्लेषण गरेर नतिजा केन्द्रले निकाल्छ । परीक्षाको वेला बोर्ड र प्रदेश मिलेर अनुगमनलगायतका काम पनि गर्छन् ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved