प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता आज (मंगलबार) हुँदै छ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने केही विवादित क्षेत्रका उम्मेदवार मंगलबार बिहानसम्म टुंग्याउने तयारी छ ।
यस्तो छ निर्वाचन कार्यतालिका
मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिनको ३ बजेदेखि बिहीबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।
शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
शुक्रबार नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । उम्मेदवारले चुनाव चिह्न पाएपछि पनि आचारसंहिताअनुसार प्रचारप्रसार प्रारम्भ गर्नका लागि करिब तीन साता पर्खनुपर्नेछ । ३ देखि १८ फागुनसम्म १५ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।
उम्मेदवारले सभा, जुलुस, सञ्चारमाध्यमबाट प्रचारप्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउनेछन् । २१ फागुनको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved