सिरहा, माघ २२ गते । सिरहाको निर्वाचन क्षेत्र–४ बाट पाँच पूर्वमन्त्रीहरु चुनावी मैदानमा छन्। जसका कारण यो क्षेत्र जिल्लाकै चुनावी चर्चाको चुलिमा छ। बाहिरबाट हेर्दा सबैको नजर पूर्वमन्त्रीहरुमा परेपनि ‘ग्राउण्ड’मा भने नयाँको चर्चा चुलिदों छ।
यसक्षेत्रबाट पूर्वमन्त्रीहरु नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)का नेता अजयशंकर नायक, जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव, नेकपा (एमाले)बाट धर्मनाथ साह, जनमत पार्टीबाट डा. बिरेन्द्र प्रसाद महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान चुनावी मैदानमा छन्।
फागुन २१ गते हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनकालागि यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३३ वर्षिय इन्जिनियर तपेश्वर यादव चुनावी मैदानमा छन्। नेपाली काँग्रेसल चन्द्रकला कुमारी यादवलाई उम्मेदवार बनाएको छ।
प्रायः निर्वाचनमा नयाँ र परिवर्तनका पक्षमा देखिने यो क्षेत्र यस पटक पनि नयाँ बिचार र अनुहारको खोजिमा छ। २०५१ को निर्वाचनमा नेपाली काँग्रसका नेता प्रदिप गिरीलाई जिताएको यस क्षेत्रले मधेश आन्दोलनको राप तापको समय २०६४ मा मधेशी जनअधिकार फोरमका उम्मेद्वार राजकीशोर यादवलाई जिताएका थिए। पछिल्लो पटक २०७९ को निर्वाचनमा नयाँ पार्टीका रुपमा उदायका जनमत पार्टीलाई सामानुपातीक तर्फ सवैभन्दाबढी मत दिएका थिए।
२०८२ को निर्वाचनमा पनि यो क्षेत्रले नयाँ अनुहार र विचार खोजिरहेको छ। पुराना अनुरहारका सबै नेताहरु मन्त्री सम्म बने । तर यस क्षेत्रका विकासका अवस्थामा फरक परेन् । अब हामीलाई मन्त्री चाहिदैन । यस क्षेत्रमा मन्त्री धेरै भयो । जस जसलाई मत दिइए सबै प्रय मन्त्री बन्ने । तर विकास भएन् । त्यसैले यसपालिका हाम्रो एजेन्डा विकासको छ । यस क्षेत्रका सडक, पुल र खानेपानी दिने नेतालाई यसपटक मत दिन्छौँ।
भाषणमा अनुभव, विकास र प्रतिबद्धताको वर्षा भइरहेको छ, कागजमा हेर्दा यो क्षेत्र अनुभवी नेतृत्वले भरिएको देखिन्छ। तर जमिनमा उत्रिँदा विकास होइन, निराशा र आक्रोशको घुर्मी खोला बगिरहेको छ। यही खोलाले मिर्चैया नगरपालिका–११, सोनिगदवाहाका मात्र होइन, वरिपरिका १० वटा गाउँका हजारौँ नागरिकको जीवन नै दशकौँदेखि रोकिरहेको छ।
घुर्मी खोलामाथि पुल नहुनु यहाँका बासिन्दाका लागि सामान्य समस्या होइन, जीवन–मरणको प्रश्न बनेको छ। वर्षायाम सुरु हुनासाथ खोलामा बाढी आउँछ। त्यसपछि वारि र पारि दुई छुट्टै संसार जस्तै बन्छन्।विद्यालय जाने बालबालिकाले महिनौँसम्म पढाइ छोड्नुपर्छ। गर्भवती महिला, वृद्ध र गम्भीर बिरामी उपचार नपाएर जोखिममा पर्छन्। एम्बुलेन्स खोलापारि नै रोकिन्छ, बिरामी खोलापारि नै छट्पटाइरहन्छन्।
स्थानीय रासलाल मुखिया भन्छन्, ‘यही क्षेत्रबाट पाँच जना मन्त्री भइसके। २० वर्षभन्दा बढी समय उनीहरूले चुनाव जिते। तर आजसम्म एउटा पुल बनाउन सकेनन्। अब हामीलाई यस्ता नेताहरूप्रति कुनै विश्वास छैन।
चुनावमा पुलको आश्वासन, जितेपछि बेपत्ता स्थानीयका अनुसार घुर्मी खोलाको पुल हरेक चुनावको स्थायी एजेन्डा हो।
नेताहरू घरदैलोमा पुगेर ‘यो पटक पक्का बनाइदिन्छु’ भन्छन्, मत माग्छन्, जित्छन् अनि हराउँछन्। स्थानीय अशोककुमार साहको आक्रोश यसरी पोखिन्छ, ‘पुल नहुँदा बिरामी परे एम्बुलेन्स सिधै आउन सक्दैन। कल्याणपुर र नरहा हुँदै घुमेर जानुपर्छ। कहिलेकाहीँ ढिलाइ हुँदा ज्यान नै जोखिममा पर्छ। नेताहरूले यो देख्दैनन् । सबै कुरा देखेर पनि नदेखेझैं गर्छन् ।’
यो समस्या कुनै प्राकृतिक विपत्ति मात्र होइन, राजनीतिक उपेक्षा र असफल नेतृत्वको परिणाम भएको स्थानीयको ठोकुवा छ। स्थानीय जगतु मुखियाका अनुसार करिब पाँच दशकदेखि घुर्मी खोलाले दशभन्दा बढी बस्तीलाई दुःख दिँदै आएको छ। उनी भन्छन्, ‘वर्षायाममा बाढी आउँदा वारिको मान्छे वारि, पारिका मान्छे पारि नै बस्न बाध्य हुन्छन्। न स्कुल जान सकिन्छ, न त अस्पताल। महिला, बालबालिका र वृद्ध सबैभन्दा बढी प्रभावित छन्।’
स्थानीय महिला रत्नदेवी मुखियाको गुनासो पनि उस्तै छ । उनी भन्छिन्, ‘नेताहरू चुनावमा मात्रै आउँछन्। पुल बनाइदिन्छौँ भन्छन्। चुनाव जितेपछि गाउँ फर्केर हेर्न पनि आउँदैनन्। हाम्रो पीडा भाषणका लागि मात्रै हो ।’ घुर्मी खोला हिउँदमा सुक्दैमा समस्या सकिँदैन। उखु किसानका लागि यो खोला वर्षैभरि बाधा बनेको छ। किसान भुटाइ मुखिया भन्छन्, ‘पुल नहुँदा उखु चिनी मिलसम्म पु¥याउन सवारी साधन आउँदैन। ढुवानी खर्च बढ्छ, समय खेर जान्छ। किसान सधैँ घाटामा पर्छन्। सरकार किसानमुखी नीति बनाएको दाबी गर्छ, तर बाटो र पुल नहुँदा त्यो नीति कागजमै सीमित हुन्छ।’
सिरहा–४ का जनताले ठूला आयोजना होइन, एउटा साधारण पुल मागेका हुन्। घुर्मी खोलामाथिको पुल आज केवल संरचना होइन, नेताहरूको इमानदारी र जवाफदेहिताको परीक्षा बनेको छ। यसपटक पनि चुनाव सकिएपछि पुलको कुरा बग्ने कि जनताको आक्रोशले नेताहरूलाई उत्तरदायी बनाउने, यसको निर्णय मतदाताको हातमा छ।
२०७९ को निर्वाचनमा जनमत पार्टीले सामानुपातीक तर्फ सवैभन्दाबढी १६ हजार १६० मत प्राप्त गरेका थिए। दोस्रो मत जनता समाजवादी पार्टी (जसपा), नेपालले १० हजार ८५१, नेकपा एमालेले नौ हजार १०७, तत्कालिन नेकपा (माओवादी केन्द्र)ले ६ हजार ६६५, नेपाली काँग्रेसले ६ हजार २१९, लोकतान्त्रिक समाजवादी पार्टीले तीन हजार ७७९, नेकपा एसले तीन हजार ८६ मत र रास्वपाले एक हजार ८०१ मत प्राप्त गरेका थिए।
बाम राजनीतिको प्रभाव रहेको यो क्षेत्र २०६४ को मत परिणाम र २०७९ को मत परिणामले परीवर्तनको पक्षधरतालाई उजागर गरेको देखिन्छ। यस क्षेत्रमा नेकपाहरु माओवादी केन्द्र, एमाले र नेकपा एसले प्राप्त गरेको मतले बामपन्थिको उपस्थितीलाई उजागर गरेको छ।
२०७९ मा प्रत्यक्ष तर्फ भने नेकपा एमाले, जनता समाजवादी पार्टी, (जसपा), नेपाल गठबन्धनका उम्मेवादर बिरेन्द्र महतो विजयी भएका थिए। उनले २४ हजार १०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जनमत पार्टीका बीरेन्द्र प्रसाद साहले १६ हजार २९४ मत प्राप्त गरेका थिएर तेस्रो र चौथो मत क्रमशः माओवादी केन्द्र एकीकृत समाजवादी गठवन्धनका उम्मेवार धर्मनाथ साहले १४ हजार ६५३ र रास्वपाका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरेका थिए।
पुराना दलका उम्मेदवारहरु कोही दल फेरेका त कोही पार्टी परिवर्तन गरेर चुनावमा होमिएकाले पनि उनीहरुमाथिको विश्वसनियतामा प्रश्न उठेका छन्। यस अघि २०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्वर २ बाट निर्वाचित राजकिशोर यादव पुनः ४ मा फर्केका छन्।
२०७९ मै यस क्षेत्रबाट एमाले जसपा गठबन्धबाट जितेका डा. विरेन्द्र महतो पार्टी फेर्दै यो पटक जनमत पार्टीका उम्मेवार बनेका छन्। मनोनय दर्ता गर्ने दिनसम्म नेपाली कम्यूनिष्ट पार्टीमा रहेका धर्मनाथ साह उम्मेदवारी मनोनयनकै दिन नेकपा एमाले प्रवेश गरेर निर्वाचनमा होमिएका छन्। राजनीतिक वृत्तमा गुमनाम जस्तै भएका वहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासपान पहिलो पटक चुनावी मैदानमा आएका हुन्। यस अघि उनी सामानुपातीकबाट सांसद भएका थिए।
२०७० मा सामानुपातीकबाट संविधानसभा सदस्य निर्वाचित नेकपाका उम्मेदवार अजय शंकर नायक यस क्षेत्रको परिचित नाम हो। त्यहि वेला छोटो समय कानुन मन्त्री बनेका बेला राम्रो काम गरेको मन्त्रीका रुपमा परिचित छन्। उनले आफू मन्त्री हुँदा आवश्यक कानुनहरु निर्माणमा योग दान गरेको बताउँछन्।
पूर्वमन्त्री उम्मेदवारहरुको विगत, भदौ २३÷२४ को आन्दोलन र पछिल्लो पटक बालेन्द्र साह(बालेन)को रास्वपा प्रवेशले देशभरी जस्तै सिरहाको यस क्षेत्रमा पनि जनलहर उर्लदो अवस्थामा रहेको कल्याणपुर नगरपालिका ११ का विनोद कुमार यादव बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको नामै नलिएपनि नयाँ शक्तिमा देखिएको आकर्षण बढ्दो अवस्थामा रहेको जनता बनवाली नमुना माध्यमिक विद्यालयका एक शिक्षकले बताए। उनले यस क्षेत्रमा पनि त्यो प्रभाव देखिएको भन्दै ति शिक्षकले भने, ‘नयाँ शक्तिमा देखिएको उभारलाई अव रोक्न मुस्किल जस्तै छ, पुराना दलप्रतिको विश्वास कमजोर भएको अवस्था छ। नयाँ शक्तिमा केही गरेर देखाउने जोस, प्रतिबद्धताले जनतालाई आर्षित गरिरहेको छ। जो छालको गतिमा बेगवान ढङ्गले अगाढी बढीरहेको छ। यो गतिलाई रोक्न मुस्किल जस्तै छ।’
यस क्षेत्रबाट १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा ४९ हजार ९६९ महिला र ५६ हजार ७१७ पुरुषसहित कुल एक लाख ६ हजार ६८६ मतदाता रहेका छन्। निर्वाचन कार्याको लागि २२३ मतदानस्थल कामय गरिएको छ भने ५३१ मतदानकेन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved