पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सिराहामा दुई पूर्वसांसदसहित पार्टी र जनवर्गीय संगठनको स्थानीय नेतृत्वमा रहेका पाँच दर्जनभन्दा बढी नेता-कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
सिराहाको गोलबजारमा शनिबार अपराह्न पत्रकार सम्मेलनमार्फत उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्।
एमाले नेतृ तथा निवर्तमान संघीय सांसद सम्झना थपलिया, पूर्वसांसद जानकीदेवी राम, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फुलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघ सिराहाका अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्षमण यादव, गोलबजार- ९ वडा कमिटी सदस्य वीरेन्द्रकुमार सिंहले पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धति र सिद्धान्तबाट विचलित तथा आन्तरिक लोकतन्त्रको क्षयीकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीलाई सही मार्गमा ल्याउन सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदासमेत नेतृत्वबाट कुनै सुनुवाइ नहुनु, इमान्दार कार्यकर्ताहरूलाई निरुत्साहित गर्ने प्रवृति मौलाउनु र विचारभन्दा व्यक्तिको वर्चस्व हामी हुनुलगायतका कारणले हामी बाध्यात्मक परिस्थितिमा पुगेका छौँ,’ विज्ञप्तिमा उल्लेख भएको छ।
एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक लीलानाथ श्रेष्ठको स्वेच्छाचारी प्रवृत्तिको कारणले आफूहरू पार्टी छोडन बाध्य भएको उनीहरूले बताएका छन् ।
उनीहरूले राजनीतिको उद्देश्य, पद र शक्ति होइन, जनताको हित, सुशासन र नैतिकता उल्लेख गर्दै पार्टीभित्र देखिएका विकृतिले आमजनतामा अन्यायको अनुभूति गराएको यथार्थलाई नेतृत्वले गभ्म्भीर रूपमा आत्मसात गर्ने अपेक्षा राख्दै, अब आफूहरू स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, गोलबजार १० का वडा संयोजकसहित धर्मपुर गाउँका चार दर्जनबढी नेता कार्यकर्ताले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरूले पनि नेतृत्वको एकात्मक कार्यशैली, कुशासन र नयाँलाई भित्र्याएर पुराना कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिले पार्टीमा रहिरहनुको औचित्य नरहेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। यसअघि पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै गोलबजार क्षेत्रका दर्जनौँ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका थिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved