विद्यालयमा टिकाइराख्न विपन्न छात्रालाई नगरपालिकाको सहयोग

  • जेठ ४, २०८३ | २०९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विद्यालय पोशाक र झोला पाएपछि कर्जन्हा नगरपालिकाका विपन्न तथा दलित परिवारका किशोरीहरू खुसी भएका छन् । अनौपचारिक किशोरी शिक्षामार्फत यसै शैक्षिक सत्रदेखि विद्यालय जान थालेका ५० जना छात्रालाई झोला र विद्यालय पोशाक वितरण गरिएको हो।

‘मेरो मनमा कहिल्यै विद्यालय जान पाइन्छ भन्ने लागेको थिएन। गाउँमै म्याडमहरूले पढाउन थालेपछि पढ्ने रहर जाग्यो। अहिले विद्यालयमा नाम पनि लेखियो, आज झोला र पोशाक पनि पाएँ। अब म नियमित विद्यालय जान्छु’, कर्जन्हा नगरपालिका–५ की अञ्जली सदायले खुशी सुनाइन्।

कर्जन्हा नगरपालिका–५ कै नगिना कुमारी सदायले आर्थिक अभावकै कारण विद्यालय जान नसकेको सुनाइन् । ‘विद्यालयमा नाम त लेखियो, तर पोशाक र झोला नभएकाले मन खिन्न थियो। बुबाआमा किनिदिन सक्ने अवस्थामा हुनुहुन्न। आज पोशाक र झोला पाएपछि मलाई धेरै खुशी लागेको छ’, उनले भनिन्।

विभा सदाय र कविता राठोर पहिले पनि विद्यालय जाने गरेका थिए । आर्थिक अभावका कारण उनीहरु विद्यालय छोड्न बाध्य भए । अहिले भने नगरपालिकाको सहयोगले पढाईप्रति उनीहरुलाई आशा जगाएको छ । अब नियमित विद्यालय जाने उनीहरूको प्रतिबद्धता छ । उनीहरूले पढाइबाट टाढा रहेका बालिकालाई विद्यालयसम्म ल्याउन गरिएको सहयोगले आफूहरूमा आत्मविश्वास बढेको बताए ।

नगरपालिकाले विद्यालय जाने उमेरका तर विद्यालय बाहिर रहेका ८ देखि १६ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गर्दै पछिल्लो ६ महिनादेखि गाउँमै ट्युसन कक्षा सञ्चालन गर्दै आएको थियो । नगरपालिका-३, ५ र १० नम्बर वडामा सञ्चालित चार वटा समूहमा ९० जना किशोरी अध्ययनरत रहेको नगर शिक्षा शाखाकी प्रतिनिधि रेनुका काफ्लेले जानकारी दिइन् ।

उनका अनुसार ती सबै किशोरीलाई नजिकका विद्यालयमा कक्षा ३ देखि ८ सम्म भर्ना गरिदिएर नियमित विद्यालय पठाउन थालिएको छ। तर, विद्यालयले पोशाकसहित आउन आग्रह गरेपछि आर्थिक अभाव भएका परिवारका छात्रालाई समस्या परेको थियो ।

ट्युसन कक्षाकी सहयोगी कार्यकर्ता अप्सरा धमलाले ९० जनामध्ये ४० जनाका अभिभावकले आफैं पोशाक र झोला व्यवस्थापन गर्न सके पनि बाँकी ५० जनाको अवस्था कमजोर रहेको बताइन् । ‘हामीले नगरपालिकासँग सहयोग माग्यौं, त्यसपछि आज छात्राहरूलाई सामग्री वितरण गरिएको हो’, उनले भनिन्।

कर्जन्हा नगरपालिकाको कृषि तथा पशु शाखाको भवनमा आयोजित कार्यक्रममा हेल्पिङ हर्ट नामक गैरसरकारी संस्थाले दलित तथा अति विपन्न परिवारका ५० जना छात्रालाई झोला र विद्यालय पोशाक वितरण गरेको हो।

कार्यक्रममा नगर प्रमुख भोला प्रसाद पोखरेल ले सहयोगी संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालय नियमितताका लागि थप योजना ल्याइने बताए।

उपप्रमुख लक्ष्मी श्रेष्ठले बालिका शिक्षालाई प्राथमिकतामा राखेर नगरपालिका तथा व्यक्तिगत रूपमा आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । विद्यालय बाहिर रहेका किशोरीलाई पुनः शिक्षामा जोड्ने अभियान सफल भएको उल्लेख गर्दै उनले अब उनीहरूलाई विद्यालयमै टिकाइराख्न विशेष योजना बनाइने जानकारी दिइन् ।

हेल्पिङ हर्टका अध्यक्ष जियाउद्दिन खान ले छात्राहरूलाई नियमित विद्यालय जान आग्रह गर्दै संस्थाले आगामी दिनमा पनि आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब