नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले विधान सभा उपनिर्वाचनमा पनि नराम्रो धक्का व्यहोरेको छ । सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सिटमा जन सुराज पार्टी (जेएसपी), मध्यप्रदेशको दतिया सिटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ । भाजपाले गुजरातको मांजलपुर सिट मात्र जोगाएको छ ।
पटनासँग जोडिएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ मानिन्छ । यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो लामो समयदेखिको गढमा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सकेनन् । नितिनले यस क्षेत्रबाट ५ पटक लगातार चुनाव जितेका थिए । तर, यस पटक भने उनी आफ्ना उत्तराधिकारीलाई निर्वाचन जिताउन असफल भए ।
उपनिर्वाचनमा जेएसपीका संस्थापक प्रशान्त किशोर (पीके) विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाअनुसार उनले भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नीरजकुमार सिन्हालाई १९ हजार ३ सय २४ मतले पराजित गरेका छन् । प्रशान्तकुमारले ६४ हजार १ सय ५१ मत ल्याए । मतगणनामा सुरुवातदेखि नै अग्रता बनाएका प्रशान्त किशोरले अन्त्यसम्म पनि यसलाई कायम राखे । दोस्रो स्थानका नीरजकुमारले ४४ हजार ८ सय २७ र तेस्रो स्थानमा आएकी राष्ट्रिय जनता दल (आरजेडी) की रेखा कुमारीले १४ हजार २ सय ७३ भोट ल्याए । यसअघि ३० जुलाईमा यहाँ मतदान भएको थियो ।
प्रशान्त किशोर र दुई वर्षअघि खुलेको जन सुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो । यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ । ४९ वर्षीय प्रशान्त किशोर सक्रिय राजनीतिमा आउनुअघि एक सफल चुनावी रणनीतिकार थिए । प्रारम्भिक तथा उच्च शिक्षा बिहारमै हासिल गरेका उनले लखनऊ विश्वविद्यालयबाट १९९९ मा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन सकेका थिए । उनले सन् २००३ मा हैदराबादको एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डियाबाट हेल्थकेयर एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् । त्यसपछि केही समय हैदराबाद, अमेरिका, भारत, दक्षिण अफ्रिकामा काम गरे । त्यसबीच करिब दुई वर्ष दक्षिण अफ्रिकामा संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायमा काम गरे ।
पीके नामले समेत परिचित उनी लामो समयदेखि वैकल्पिक राजनीति र सुशासनको वकालत गर्दै आएका छन् । विगतमा भारतीय जनता पार्टी (भाजपा), जनता दल युनाइटेड (जेडियु), कांग्रेस, आम आदमी पार्टी (आप), तृणमूल कंग्रेसलगायत भारतका विभिन्न दलहरूले लोकसभा तथा विधानसभा निर्वाचनमा सफलता हासिल गर्दा प्रशान्त किशोरले पर्दा पछाडि बसेर सफल चुनावी रणनीति तयार गरेका थिए । सन् २०१५ को चुनावमा नीतिश कुमार नेतृत्वको महागठबन्धनलाई चुनाव जिताउन उनको अहं भूमिका रहृयो ।
त्यसको पुरस्कार स्वरूप नीतिशले उनलाई जेडियुको राष्ट्रिय उपाध्यक्ष र मुख्यमन्त्रीका प्रमुख सल्लाहकार नै बनाए । तर, उनले केही महिनामै पार्टी नै छाडे । सन् २०१७ मा आन्ध्र प्रदेश चुनावमा वाईएसआर कांग्रेसलाई चुनावी मोर्चामा सघाए । तर, त्यहाँ भने उनले सफल भएनन् । तर, स्न २०२१ को विधान सभा चुनावमा प्रशान्त किशोरको रणनीतिको बलमा ममता बनर्जीको टीएमसीले ठूलो जीत हात पार्दै लगातार तेस्रो पटक सरकार बनाउन सफल भयो ।
त्यसपछि उनी बिहारको पैदल यात्रामा निस्किए । २ अक्टोबर २०२४ मा आफ्नै जन सुराज पार्टी खोले । उनले अगाडि सारेका सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका मुद्दाले राम्रो चर्चा बटुल्यो । यसका बाबजुद गत नोभेम्बरमा भएको बिहार विधानसभा चुनावमा उम्मेदवारी दिएका २ सय ३८ सिटमध्ये जन सुराजले एउटा पनि सिट जित्न सकेको थिएन । यतिबेला प्रशान्त किशोर आफैं भने उम्मेदवार थिएनन् । अहिले उपनिर्वाचनबाट विजयी भएर उनले त्यो रिक्ततालाई मेटेका छन् ।
बांकीपुर सिटमा विगत ५ कार्यकाल लगातार विधानसभामा निर्वाचित भएका नितिन नवीन यसै वर्ष जनवरीमा भाजपाको राष्ट्रिय अध्यक्ष चयन भएका थिए । त्यसपछि गत मार्चमा बिहार विधानसभा सदस्यबाट राजीनामा गरे । अनि, केन्द्रको माथिल्लो सदन राज्यसभा निर्वाचनमा बिहारबाट उम्मेदवार बने र उक्त निर्वाचन जिते ।
रिक्त रहेको स्थानमा उपनिर्वाचन हुँदा जन सुराजका संस्थापक प्रशान्त किशोर आफैं उम्मेदवार बनेर जिते । ५ जुलाईमा एक पत्रकार सम्मेलनमा जन सुराजका प्रदेश अध्यक्ष मनोज भारतीयले प्रशान्त किशोरको उम्मेदवारी घोषणा गरेका थिए ।
बिहारमा भाजपाको गढमा प्रशान्त कुमारले चुनाव जित्नुलाई अर्थपूर्ण मानिएको छ । किनकि, ८ महिनाअघि मात्रै सम्पन्न चुनावमा भाजपा इतिहासमै पहिलो पटक बिहार विधानसभामा पहिलो दल बन्न सफल भएको थियो ।
तर, यस पटकको उपनिर्वाचनमा प्रशान्त किशोरको सुशासन र विकासको एजेन्डालाई मतदाताले रुचाए । प्रशान्त किशोरले चुनावलाई बिहारका मुख्यमन्त्री सम्राट चौधरीको शासनको जनमत संग्रह भनेर समेत प्रचार गरेका थिए । बांकीपुरलाई गढ दाबी गर्ने भाजपाको घमण्डबारे प्रशान्त किशोरले भनेका थिए, ‘गढ जनताले बनाउँछन्, कुनै राजनीतिक दलले होइन ।’
प्रशान्त किशोरको जितमा भाजपा र मुख्य विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी) दुवैको जनआधारमा आएको विभाजनलाई प्रमुख कारण मानिएको छ । परम्परागत रूपमा भाजपाले बहुसंख्यक उच्च जातिको साथ र आरजेडीले मुस्लिम–यादवसँगै पिछडिएका वर्गको साथ पाउने गरेका थिए । तर, यस पटक प्रशान्त किशोरको पक्षमा उच्च जातिदेखि मुस्लिम–यादव समुदायसमेत खुलेको पाइयो ।
चुनाव प्रचारका क्रममा प्रशान्तले जाति र धर्मका पुराना मुद्दाहरूभन्दा पनि शिक्षा, रोजगारी र नागरिक सरोकारका मुद्दालाई उठाएका थिए । विश्लेषकहरूका अनुसार उनको जितले मतदातामा जाति र धर्मका पुराना एजेन्डाप्रति आकर्षण घट्दै गएको संकेत गरेको छ । त्यसबाहेक चुनावी रणनीतिले नै पनि प्रशान्त किशोरलाई साथ दिएको उनीहरूको दाबी छ । उनले ठूला क्षेत्रहरूमा टोल बैठक र जनसम्पर्कमा बढी ध्यान दिए । जसले गर्दा सुराज पार्टी भाजपाको ‘सामाजिक समीकरण’ तोड्न सफल भयो । भाजपाको स्थानीय निकायभित्रको केही मतभेद र आन्तरिक कलहको पनि प्रशान्त किशारले राम्रैसँग अध्ययन गरेका थिए । जसकारण, असन्तुष्टहरूको राम्रो मत उनलाई मिलेको चुनावी विश्लेषकहरूको दाबी छ ।
सोमबारै घोषणा भएको परिणामअनुसार मध्यप्रदेशको दतिया विधानसभा क्षेत्रमा भने भारतीय राष्ट्रिय कांग्रेसका घनश्याम सिंह र गुजरातको मांजलपुर विधानसभा क्षेत्रमा भाजपाका सतेन्द्रभाइ पटेल विजयी भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved