नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारी नरगीमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव निरीक्षक (सइ) करिब ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको हत्याका मुख्य आरोपीलाई प्रहरीले २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको छ।
सिरहाको महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब सवा ५ बजे सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घटनाका मुख्य आरोपी भारतीय नागरिक करिब ३७ वर्षीय मोहम्मद कुरवान मन्सुरी भनिने मोहम्मद कुरवानलाई गोली प्रहार गरी पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीको गोली लागेर दाहिने खुट्टाको घुँडा र देब्रे हातको कुहिनोमा चोट लागेका कुरवानको सिरहा प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीलाई देख्नेबित्तिकै कुरवानसहित तीनजनाको समूहले एक राउण्ड गोली प्रहार गरी भाग्न खोजेको र प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउण्ड गोली चलाएपछि घाइते भएका कुरवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समूहमा रहेका दुईजना फरार भएकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सइ यादवलाई ठक्कर दिने गाडीका धनी तथा चालकसमेत रहेका कुरवान भारतको बिहार राज्य, मधुवनी जिल्ला, लालमनिया थाना अन्तर्गत घोडमोहना गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
भारतीय नागरिक भए पनि सीमावर्ती क्षेत्रका तस्करहरूसँगको मिलोमतोमा मदिरा तस्करी गर्दै आएका कुरवान सिरहाको सीमावर्ती नवराजपुर गाउँपालिका–५ मा बस्दै आएको जनाइएको छ। उनीविरुद्ध ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग र सवारी ज्यान) तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा रहेको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रको बडहरीस्थित बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक यादवको १६ मंसिर २०८१ को बिहान करिब ३ बजे तस्करीका लागि भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको चारपांग्रे गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved