सामाजिक सञ्जालबाट प्रचार तीव्र, पारदर्शीतामाथि प्रश्न

  • भदौ ४, २०८३ | १०७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल राजनीतिक दल, उम्मेदवार तथा विभिन्न राजनीतिक अभियानका लागिसमेत प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्दै गएको छ ।

फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममार्फत निर्वाचनदेखि समसामयिक राजनीतिक मुद्दासम्म लक्षित विज्ञापन गर्ने क्रम बढे पनि मधेशमा दलगत रूपमा कति रकम खर्च भइरहेको छ भन्ने बारे लेखाजोखा नै छैन । नेपालमा सन् २०२२ सेप्टेम्बरदेखि सामाजिक मुद्दा, निर्वाचन र राजनीतिसँग सम्बन्धित फेसबुक तथा इन्स्टाग्राम विज्ञापनमा ३ लाख ६६ हजार ८ सय ५० अमेरिकी डलर खर्च भएको मेटा एड लाइब्रेरीको तथ्यांकले देखाउँछ ।

यो रकम नेपाली रुपैयाँमा करिब ४ करोड ८० लाखभन्दा बढी हुन्छ । चार वर्षको अवधिमा ३९ हजार ६ सय ३६ वटा यस्ता विज्ञापन प्रसारण भएका छन् । मधेशमा भने सामाजिक सञ्जालको राजनीतिक उपयोगको प्रभाव विशेष रूपमा हुँदै आएको छ । प्रदेशका आठवटै जिल्लामा राजनीतिक दल, नेता, सम्भावित उम्मेदवार र विभिन्न अभियानले फेसबुक पेज तथा प्रायोजित सामग्रीमार्फत मतदाता तथा नागरिकलाई लक्षित गर्ने गरेको छ । स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका बेला यस्तो प्रचार अझ तीव्र हुने गरेको छ ।

उपलब्ध राष्ट्रिय तथ्यांकअनुसार सामाजिक–राजनीतिक विज्ञापनमा सबैभन्दा बढी खर्च गर्ने संस्थामा युनिसेफ अगाडि छ । युनिसेफले ३ सय १६ वटा विज्ञापनका लागि २० हजार ८० अमेरिकी डलर खर्च गरेको छ । त्यसपछि एकीकृत नेपालले १४ हजार ८३ र ‘ माई भ्वाइस काउन्ट्सÚले ८ हजार ६ सय ५६ अमेरिकी डलर खर्च गरेका छन् । पछिल्लो ९० दिनमा ‘माई भ्वाइस काउन्ट्स’ले मात्रै २ हजार ३ सय ७४ अमेरिकी डलर खर्च गरेको छ । ‘रुटिन अफ झापा ५’ले ५ सय ४६ र ‘सियन चे मेडिकल इन्स्टिच्युसन’ले २ सय ५७ अमेरिकी डलर खर्च गरेका छन् । पूर्वअर्थमन्त्री प्रकाशशरण महतको सचिवालयले पछिल्लो ३० दिनमा १ सय ३१ अमेरिकी डलर तथा ‘साझा पाटी’ले १ सय ७३ अमेरिकी डलर विज्ञापनमा खर्च गरेको देखिन्छ ।

मधेशमा कुन दलले सामाजिक सञ्जालमा सबैभन्दा बढी रकम खर्च गर्छ भन्ने छुट्टै प्रदेशगत आधिकारिक तथ्यांक सार्वजनिक नहुँदा दलगत तुलना गर्न कठिन छ । तर निर्वाचनका समयमा दलका आधिकारिक पेज, उम्मेदवारका व्यक्तिगत पेज तथा स्थानीय राजनीतिक समूहले फेसबुक र अन्य डिजिटल माध्यमलाई प्राथमिक प्रचार माध्यम बनाउने प्रवृत्ति बढेको छ ।

परम्परागत पोस्टर, पर्चा र आमसभाको तुलनामा सामाजिक सञ्जालले कम खर्चमा निश्चित क्षेत्र, उमेर समूह, लिंग तथा रुचिअनुसार मतदातासम्म सन्देश पु¥याउन सक्ने भएकाले दलहरूको आकर्षण बढेको छ । मेटाको नीति अनुसार राजनीतिक विज्ञापनमा खर्च गर्ने स्रोत खुलाउने डिस्क्लेमर आवश्यक हुन्छ । तर नेपालमा डिस्क्लेमरबिनै विज्ञापन सञ्चालन भएको तथ्यांकसमेत देखिन्छ । सिन्ह्वा न्युजले ३ सय १० वटा विज्ञापन डिस्क्लेमरबिना चलाएको उल्लेख छ ।

इन्डो–प्यासिफिक डिफेन्स फोरम, ग्लोबल टाइम्स र युनाइटेड नेसन्स एलायन्स अफ सिभिलाइजाजेसनजस्ता संस्थाले पनि लगानीकर्ता नखुलाई विज्ञापन गरेको पाइएको छ । नेपाल सरकारले डिजिटल विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने प्रयाससमेत अघि बढाएको छ । …राष्ट्रिय विज्ञापन नीति, २०८३Ú ले सामाजिक सञ्जालमा गरिने स्पन्सर्ड कन्टेन्ट र इन्फ्लुएन्सर मार्केटिङमा स्वघोषणाको व्यवस्था गरेको छ । साथै कृत्रिम बुद्धिमत्ता प्रयोग गरी तयार गरिएका डिपफेकजस्ता विज्ञापन नियमन गर्ने नीति लिइएको छ ।

निर्वाचन आयोगले पनि २०७९ को स्थानीय तह निर्वाचनदेखि मेटा र टिकटकजस्ता प्रविधि कम्पनीसँग सहकार्य गरी सामाजिक सञ्जालको राजनीतिक प्रचार नियमन गर्ने प्रयास थालेको थियो । त्यसपछि नेपाललाई मेटाको एड लाइब्रेरीमा समावेश गरी राजनीतिक, सामाजिक तथा निर्वाचनसम्बन्धी विज्ञापन र त्यसमा भएको खर्चको विवरण सार्वजनिक गर्न थालिएको छ । फेसबुक तथा इन्स्टाग्राममार्फत नेपाललाई लक्षित विज्ञापनमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ ।

वार्षिक ३० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने विदेशी प्रविधि कम्पनीले कारोबार मूल्यमा २ प्रतिशत विद्युतीय सेवा करसमेत तिर्नुपर्छ । ठूला करदाता कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ विदेशी कम्पनीबाट ९ करोड १७ लाख रुपैयाँ भ्याट संकलन भएको थियो । २०८०/८१ मा १८ कम्पनीबाट ३५ करोड ८५ लाख र २०८१/८२ मा १९ कम्पनीबाट ४२ करोड ६५ लाख रुपैयाँ भ्याट संकलन भएको छ । विद्युतीय सेवा करतर्फ पनि २०८०/८१ मा ४ करोड ८९ लाख ९५ हजार रुपैयाँ संकलन भएकामा २०८१/८२ मा ६ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

मधेशमा सामाजिक सञ्जालको राजनीतिक प्रयोग बढ्दै जाँदा आगामी निर्वाचनमा यसको भूमिका अझ निर्णायक हुने देखिन्छ । तर विज्ञापनमा हुने खर्च, स्रोत, लक्षित समूह र प्रायोजकको पहिचान स्पष्ट नभए डिजिटल प्रचारले पारदर्शिताभन्दा भ्रम र असमान प्रतिस्पर्धालाई बढावा दिन सक्ने जोखिम छ । त्यसैले मधेशका राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालमा गर्ने खर्चलाई सार्वजनिक तथा व्यवस्थित अभिलेखमा राख्ने र निर्वाचन आयोगले प्रदेश तथा निर्वाचन क्षेत्रगत रूपमा यसको निगरानी बढाउने आवश्यकता देखिएको जानकारहरु बताउँछन् ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब