गत वर्षको २३ र २४ भदौमा सडकमा पोखिएको युवाको रगत सुकिसकेको होला, तर त्यसले नेपाली राजनीतिमा उठाएको प्रश्न अझै आलै छ । ७६ जनाभन्दा बढी युवाले बलिदान दिनुपरेको यस परिघटनाले नेपालमा मुख्यतः चार पक्षमा जबर्जस्त नवीन हस्तक्षेप गर्न सफल भएको छ । पहिलो नेपाली राजनीतिमा झांगिएको नातावादमाथि प्रहार । दोस्रो, राजनीतिक आडमा मौलाइरहेको भ्रष्टचार र बेथितिमाथि आक्रमण । तेस्रो, दलीय एकल नेतृत्वको निरंकुशतामाथि प्रश्न । चौथो र सबैभन्दा महत्वपूर्ण राजनीतिमा नवयुवा पुस्ताको नेतृत्वदायी सहभागिता । जेन–जी विद्रोहको खास मौलिकता भनेको डिजिटल प्रविधि– सामाजिक सञ्जालको प्रयोगमार्फत भएको युवाको प्रतिरोध थियो ।
कुनै निश्चित राजनीतिक पार्टी तथा विचारधाराको आधारमा नभई स्वस्फूर्त हिसाबले देशव्यापी उर्लिएको जेन–जी विद्रोहबारे अनेकौँ मतभेद कायमै छन् । अर्थात्, जेन–जी विद्रोहबारे नेपालमा सकारात्मक सँगसँगै नकारात्मक भाष्य पनि सार्वजनिक वृत्तमा टकराइरहेका छन् । सो विद्रोहपछि भएको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमतनजिक सिट जितेको रास्वपाले अहिले सरकार चलाइरहेको छ । निर्वाचनमा पुराना दलको प्रभाव नाटकीय रूपमा खुम्चियो र बालेन्द्र शाह प्रधानमन्त्री बन्न पुगे । रास्वपा सरकारप्रति पछिल्लो समयसम्म आइपुग्दा कैयौँ टिप्पणी र प्रश्न उठ्न थालेका छन् । जुन यो आलेखको छलफलभित्र पर्दैन । यस लेखमा जेन–जी विद्रोह नेपाली राजनीतिमा क्रान्तिकै एउटा कडी किन हो ? र, नेपालमा हुने विद्रोह किन अधुरो वा प्रतिक्रान्तितिर बढी उन्मुख हुन्छन् ? भन्ने सन्दर्भमा संक्षिप्त बहस गर्न खोजिएको छ ।
जेन–जी विद्रोह किन ? : सतहमा भइरहेको डिस्कोर्स हेर्दा जेन–जी विद्रोहको मूल पक्षलाई भ्रष्टाचारविरोधी युवा आन्दोलनसँग बढी जोडेको देखिन्छ । त्यसरी गरिने विश्लेषण एकांगी र पूर्वाग्रही हुन जान्छ । खासमा जेन–जी विद्रोह पुरानो सत्तासँग असन्तुष्टिको परिणाम नै हो । मूलतः ०४६ मा प्रजातन्त्र पुनस्र्थापनापछि जनताको स्वतन्त्रता, सामाजिक न्याय र विकासको चाहना विस्तार हुन थाल्यो । जसलाई पञ्चायती निरंकुश व्यवस्थामा जबर्जस्त दबाइएको थियो । तथापि, बहुदलीय व्यवस्था लागू भइसकेपछि पनि कांग्रेस, एमालेजस्ता दलले जनचाहनाअनुसार काम गर्न सकेनन् । उदारीकरण र निजीकरणको नीतिलाई खुला गर्दै दलहरू चरम भ्रष्टाचारमा डुबे ।
जेन–जी विद्रोहको वास्तविक परीक्षा अब सुरु भएको छ । यसले उठाएको चेतना संरचनागत परिवर्तनमा रूपान्तरण हुन सक्यो भने यो नेपालको राजनीतिक क्रान्तिको निर्णायक कडी बन्नेछ । अन्यथा, अघिल्ला विद्रोहझैँ यो पनि सम्झौता, सत्ता र सुविधाको चक्रमा हराउन सक्छ ।
त्यही फोहोरी आहाललाई सफा गर्ने ध्येय लिएर २०५२ सालमा जनयुद्ध सुरु भयो । साढे दश वर्षसम्म चलेको जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भयो । धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता केही प्रगतिशील मूल्य स्थापना गर्ने प्रयत्न थालियो । लामो विद्रोहबाट आएका नेताले देशलाई १० वर्षभित्र स्विट्जरल्यान्ड, सिंगापुर बनाइदिने गुलिया भाषण दिए ।
निजी सम्पत्ति खारेज गरी समाजवाद लागू गर्छौं भन्नेहरू नै झन् बढी सम्पत्ति थुपार्न उद्यत देखिए । सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, ओम्नी काण्ड, यती काण्डलगायत अनेकौँ भ्रष्टाचारले ‘सर्वहारा वर्ग’का नेता क्रमशः नवधनाढ्य वर्गमा परिणत भए । आफू र आफ्ना आसेपासेलाई शक्ति र स्रोतको चरम दोहन गरेर पोस्ने काम तीव्र बन्यो । जनताका छोराछोरी भने जीवनलाई नै दाउमा राखेर खाडीमा जान विवश बने । त्यसैले, जेन–जी विद्रोहको एउटा प्रमुख नारा थियो, ‘तिम्रा छोराछोरी गाडीमा, हाम्रा छोराछोरी खाडीमा ?’ यो नेताका छोराछोरीप्रतिको आक्रोश मात्र होइन, वर्गीय खाडलको प्रतिनिधि प्रश्न पनि हो ।
पुराना दलका नेताले चुनाव जित्न कुनै पनि आश्वासन बाँड्न बाँकी राखेनन् । संविधान र कानुनमा पनि धेरै विषय समेट्ने प्रयास भए । जसले जनमानसमा केही आशा र सपना देख्ने स्थिति स्वाभाविक बन्यो । विडम्बना, बाँडिएका आश्वासन र सपना कार्यान्वयन गर्ने काम भने निकै कमजोर रह्यो । जनताबाट कर लिने तर सेवा प्रवाह (डेलिभरी) को पाटो करिब–करिब बेवास्तामा पर्यो । सत्ताका लागि सधैँ खिचातानी, झैझगडा भइरहने तर जनताको दुःखमा बीसको उन्नाइस नहुने परिस्थितिले दल र उनीहरूको नेतृत्वमा रहेको सरकार एवं शासनशैलीप्रति व्यापक वितृष्णा पैदा हुन पुग्यो । यस्तो चरम निराशा र पीडाबिच पनि नेताहरूले आफ्ना छोराछोरीलाई सत्ताको आडमा विलासी बनाइराखे । त्यसलाई इंगित गर्दै ‘नेपो बेबिज’, ‘नेपो किड्स्’ ह्यासट्याग निकै प्रयोग भयो, जेन–जी आन्दोलनमा ।
जनआक्रोश चुलिँदै गइरहेको थियो । त्यसै मौकामा ओली नेतृत्वको सरकारले फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । त्यसले, बलिराखेको आगोमा घिउ थपेजस्तो भयो । टिकटक, डिस्कर्डलगायत विभिन्न सामाजिक सञ्जालको प्रयोगमार्फत जेन–जी युवा स्वस्फूर्त सडकमा ओर्लिए । अधिकांश कलेज÷स्कुल ड्रेसमा आएका विद्यार्थीको जुलुसले बानेश्वरको ‘ब्यारिकेड’ पार गरेपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो । जसबाट तीन घण्टाको समयमा १७ युवा गोली लागेर बानेश्वरमा ढले । बाँकी दुई युवा इटहरीमा मारिए ।
तत्कालीन सरकारको यो क्रूर र बर्बर दमन तीव्र गतिमा सामाजिक सञ्जालमा भाइरल बन्यो । यसको भयानक आक्रोश २४ गतेको हिंसा, दमन र आगजनीमा प्रतिबिम्बित भयो । नवयुवाको आन्दोलनमा पुराना दलका कार्यकर्तादेखि विभिन्न स्वार्थ समूहको घुसपैठ भयो । थप ५४ भन्दा धेरै मानिसको मृत्यु भयो । सिंहदरबार, सर्वोच्च अदालतलगायत अधिकांश सरकारी र केही निजी भवनसमेत जलाइए । हजारौँ मानिस घाइते भए । खर्बौंको क्षति भयो । एमाले–कांग्रेस नेतृत्वको ओली सरकार ढल्यो । डिस्कर्डमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जेन–जी चुनावी सरकार बन्यो ।
अचम्म लाग्ने कुरा के भयो भने यत्रो ठुलो विद्रोहको भित्रभित्रै भइरहेको तयारीबारे तत्कालीन सरकार पूरै बेखबरजस्तै थियो । तत्कालीन दलले यो स्तरको विद्रोह होला भन्ने कल्पनासमेत गरेका थिएनन् । आफूलाई वैज्ञानिक तथा क्रान्तिकारी दाबी गर्र्ने कम्युनिस्ट पार्टीले पनि यत्रो ठुलो विद्रोहबारे भेउ पाउन सकेनन् । आन्तरिक उथलपुथलको यत्रो परिघटनालाई विदेशी शक्तिकेन्द्रकै डिजाइनमा रचिएको खेल भनेर पन्छिन भ्याए । जबकि, माक्र्सवादी सिद्धान्तको गुह्य कुरा हो– हरेक राजनीतिक परिवर्तनको सारतत्व आन्तरिक हो र बाह्य पक्ष सहायक । यसरी जेन–जी विद्रोहले पुराना दललाई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने हालतमा पुर्याइदियो । र, नवयुवा सहभागिता हरेक दलको साझा सवाल बन्न थाल्यो ।
अधुरो क्रान्ति : नेपाली राजनीतिक परिवर्तनको इतिहास नियाल्दा जनताले जहिल्यै क्रान्तिको पक्षमा आफूलाई उभ्याउँदै आएका छन् । जनताको व्यापक सहभागिता र बलिदानमार्फत नै हरेक क्रान्ति सफल भएका हुन् । जेन–जी विद्रोह त्यसको पछिल्लो कडी हो । २३ र २४ भदौको विद्रोह र त्यसपछिको प्रक्रियामा जनताले नयाँ दल र नेतृत्वलाई अवसर दिएका छन् । अफसोच, नयाँँ उदाएका राजनीतिक दलबाट पनि अपेक्षित परिवर्तनको प्रत्याभूति हुन सकिरहेको छैन ।
दलको नाम नयाँ राखे पनि विचार र व्यवहार पुरानै भएपछि जनअपेक्षा पूरा हुन सम्भव छैन । यसको एउटा कारण जेन–जी विद्रोह कुनै निश्चित विचार एवं दलबाट निर्देशित नभई आमविद्रोह हुनु पनि हो । जसले गर्दा वास्तविक जनचाहनाअनुसार काम गर्नेभन्दा सामाजिक सञ्जालमा भाइरल हुने कन्टेन्टको खेती गर्ने लोकप्रियतावादीको चंगुलमा पुगेको छ, सत्ता राजनीति । परिणामतः आम भुइँतहका जनताका दुःख थप गहिरिँदै जाने तर एकाएक भाइरल विचारविहीन समूह शक्ति र स्रोतमाथि हाबी हुने अवस्था देखा परेको छ ।
त्यसो त नेपालमा जेन–जी विद्रोह अधुरो भएको नौलो परिघटना होइन । २००७ सालको राणाशाहीविरुद्ध भएको क्रान्ति पनि दरबार र राणासँग सम्झौतामै अल्झिएको थियो । ०४६ को जनआन्दोलन राजासँग लेनदेनमा लगेर टुंगो लगाइयो । ०५२ मा सुरु भएको जनयुद्ध र त्यसको जगमा उठेको ०६२/६३ को जनआन्दोलन र मधेश विद्रोह पनि संसदीय राजनीतिसँग सौदाबाजी गरियो । जेन–जी विद्रोह अधुरो क्रान्तिको पहिल्लो शृंखला बन्न पुगेको छ । यसको मतलब नेपालका आन्दोलन उपलब्धिविहीन थिए भन्नु इतिहासप्रति अन्याय हुन्छ । यी आन्दोलनले राजनीतिक संस्था बदलिदिए । तर, प्रत्येक परिवर्तनपछि राज्य र समाजभित्रको शक्ति, सम्पत्ति, पहुँच र अवसरको असमान वितरण अपेक्षित रूपमा रूपान्तरण हुन सकेन । यही अन्तर–राजनीतिक परिवर्तन र संरचनागत रूपान्तरणबिचको दूरी नेपालका ‘अधुरा क्रान्ति’को साझा विशेषता हो ।
निष्कर्ष : हरेक विद्रोह ध्वंसकै जगमा उभिएका हुन्छन् । ठुलो जनधनको क्षतिबाट यो विद्रोहले पुरानो सरकारलाई विस्थापित गर्यो, पुरानो नेतृत्वको वर्चस्वलाई चुनौती दियो र नयाँ पुस्तालाई नेतृत्वमा ल्यायो । कांग्रेसलगायत दलमा नेतृत्व परिवर्तनको अवस्था सिर्जना भयो । जेन–जी युवा सहभागितासहित केही नयाँ दल उदय भए । तथापि, एमाले, नेकपाजस्ता कम्युनिस्ट भनिने दलमा भने नेतृत्व परिवर्तनको कुनै गुञ्जायस अहिलेसम्म देखिएको छैन । जेन–जी विद्रोहमाथि दमन गर्नेमाथि कारबाही हुन सकिरहेको छैन । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रिया सुरु भए पनि त्यसका सबै सिफारिस पूर्ण रूपमा कार्यान्वयन भएका छन् कि छैनन् र त्यसले संस्थागत जवाफदेहिता स्थापित गर्न सकेको छ कि छैन भन्ने प्रश्न अझै बाँकी छ ।
के जेन–जी विद्रोहले नातावाद अन्त्य गर्यो ? के भ्रष्टाचार र बेथितिको संरचना बदलियो ? के वर्गीय खाडल घट्यो ? के राजनीतिक दलभित्र लोकतन्त्र बलियो भयो ? के जनताको जीवनमा आधारभूत परिवर्तन आयो ? जेन–जी विद्रोहबाट सत्तामा पुगेकाहरूसँग सोध्नैपर्ने यी आधारभूत प्रश्न हुन् । जेन–जी विद्रोहको ऐतिहासिक मूल्यांकन यसै प्रश्नबाट हुनेछ– आन्दोलनले पात्र मात्र बदल्यो कि राजनीति गर्ने पद्धति, राज्यको चरित्र र शक्ति वितरणसमेत बदल्न सक्यो ?
यदि नयाँ नेतृत्व पनि पुरानै नातावाद, आसेपासेवाद, भ्रष्टाचार, केन्द्रीकरण र सत्ता–स्वार्थको संस्कृतिमा फस्छ भने जेन–जी विद्रोहले केवल पुराना पात्रको ठाउँमा नयाँ पात्र स्थापित गरेको अर्थ लाग्नेछ ।खासमा जेन–जी विद्रोहको वास्तविक परीक्षा अब सुरु भएको छ । यसले उठाएको चेतना संरचनागत परिवर्तनमा रूपान्तरण हुन सक्यो भने यो नेपालको राजनीतिक क्रान्तिको निर्णायक कडी बन्नेछ । अन्यथा, अघिल्ला विद्रोहझैँ यो पनि सम्झौता, सत्ता र सुविधाको चक्रमा हराउन सक्छ । जेन–जी विद्रोह अन्त्य होइन । यो नेपाली राजनीतिमा सुरु भएको एउटा अधुरो क्रान्ति हो, जसको पूर्णता अझै बाँकी छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved