जेन–जी विद्रोह : एक अधुरो क्रान्ति

  • भदौ २३, २०८३ | ६९ पटक पढिएको | सीमा संदेश
alt

गत वर्षको २३ र २४ भदौमा सडकमा पोखिएको युवाको रगत सुकिसकेको होला, तर त्यसले नेपाली राजनीतिमा उठाएको प्रश्न अझै आलै छ । ७६ जनाभन्दा बढी युवाले बलिदान दिनुपरेको यस परिघटनाले नेपालमा मुख्यतः चार पक्षमा जबर्जस्त नवीन हस्तक्षेप गर्न सफल भएको छ । पहिलो नेपाली राजनीतिमा झांगिएको नातावादमाथि प्रहार । दोस्रो, राजनीतिक आडमा मौलाइरहेको भ्रष्टचार र बेथितिमाथि आक्रमण । तेस्रो, दलीय एकल नेतृत्वको निरंकुशतामाथि प्रश्न । चौथो र सबैभन्दा महत्वपूर्ण राजनीतिमा नवयुवा पुस्ताको नेतृत्वदायी सहभागिता । जेन–जी विद्रोहको खास मौलिकता भनेको डिजिटल प्रविधि– सामाजिक सञ्जालको प्रयोगमार्फत भएको युवाको प्रतिरोध थियो । 

कुनै निश्चित राजनीतिक पार्टी तथा विचारधाराको आधारमा नभई स्वस्फूर्त हिसाबले देशव्यापी उर्लिएको जेन–जी विद्रोहबारे अनेकौँ मतभेद कायमै छन् । अर्थात्, जेन–जी विद्रोहबारे नेपालमा सकारात्मक सँगसँगै नकारात्मक भाष्य पनि सार्वजनिक वृत्तमा टकराइरहेका छन् । सो विद्रोहपछि भएको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ बहुमतनजिक सिट जितेको रास्वपाले अहिले सरकार चलाइरहेको छ । निर्वाचनमा पुराना दलको प्रभाव नाटकीय रूपमा खुम्चियो र बालेन्द्र शाह प्रधानमन्त्री बन्न पुगे । रास्वपा सरकारप्रति पछिल्लो समयसम्म आइपुग्दा कैयौँ टिप्पणी र प्रश्न उठ्न थालेका छन् । जुन यो आलेखको छलफलभित्र पर्दैन । यस लेखमा जेन–जी विद्रोह नेपाली राजनीतिमा क्रान्तिकै एउटा कडी किन हो ? र, नेपालमा हुने विद्रोह किन अधुरो वा प्रतिक्रान्तितिर बढी उन्मुख हुन्छन् ? भन्ने सन्दर्भमा संक्षिप्त बहस गर्न खोजिएको छ । 

जेन–जी विद्रोह किन ? :  सतहमा भइरहेको डिस्कोर्स हेर्दा जेन–जी विद्रोहको मूल पक्षलाई भ्रष्टाचारविरोधी युवा आन्दोलनसँग बढी जोडेको देखिन्छ । त्यसरी गरिने विश्लेषण एकांगी र पूर्वाग्रही हुन जान्छ । खासमा जेन–जी विद्रोह पुरानो सत्तासँग असन्तुष्टिको परिणाम नै हो । मूलतः ०४६ मा प्रजातन्त्र पुनस्र्थापनापछि जनताको स्वतन्त्रता, सामाजिक न्याय र विकासको चाहना विस्तार हुन थाल्यो । जसलाई पञ्चायती निरंकुश व्यवस्थामा जबर्जस्त दबाइएको थियो । तथापि, बहुदलीय व्यवस्था लागू भइसकेपछि पनि कांग्रेस, एमालेजस्ता दलले जनचाहनाअनुसार काम गर्न सकेनन् । उदारीकरण र निजीकरणको नीतिलाई खुला गर्दै दलहरू चरम भ्रष्टाचारमा डुबे । 

जेन–जी विद्रोहको वास्तविक परीक्षा अब सुरु भएको छ । यसले उठाएको चेतना संरचनागत परिवर्तनमा रूपान्तरण हुन सक्यो भने यो नेपालको राजनीतिक क्रान्तिको निर्णायक कडी बन्नेछ । अन्यथा, अघिल्ला विद्रोहझैँ यो पनि सम्झौता, सत्ता र सुविधाको चक्रमा हराउन सक्छ ।

त्यही फोहोरी आहाललाई सफा गर्ने ध्येय लिएर २०५२ सालमा जनयुद्ध सुरु भयो । साढे दश वर्षसम्म चलेको जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भयो । धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता केही प्रगतिशील मूल्य स्थापना गर्ने प्रयत्न थालियो । लामो विद्रोहबाट आएका नेताले देशलाई १० वर्षभित्र स्विट्जरल्यान्ड, सिंगापुर बनाइदिने गुलिया भाषण दिए ।

निजी सम्पत्ति खारेज गरी समाजवाद लागू गर्छौं भन्नेहरू नै झन् बढी सम्पत्ति थुपार्न उद्यत देखिए । सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, ओम्नी काण्ड, यती काण्डलगायत अनेकौँ भ्रष्टाचारले ‘सर्वहारा वर्ग’का नेता क्रमशः नवधनाढ्य वर्गमा परिणत भए । आफू र आफ्ना आसेपासेलाई शक्ति र स्रोतको चरम दोहन गरेर पोस्ने काम तीव्र बन्यो । जनताका छोराछोरी भने जीवनलाई नै दाउमा राखेर खाडीमा जान विवश बने । त्यसैले, जेन–जी विद्रोहको एउटा प्रमुख नारा थियो, ‘तिम्रा छोराछोरी गाडीमा, हाम्रा छोराछोरी खाडीमा ?’ यो नेताका छोराछोरीप्रतिको आक्रोश मात्र होइन, वर्गीय खाडलको प्रतिनिधि प्रश्न पनि हो । 

पुराना दलका नेताले चुनाव जित्न कुनै पनि आश्वासन बाँड्न बाँकी राखेनन् । संविधान र कानुनमा पनि धेरै विषय समेट्ने प्रयास भए । जसले जनमानसमा केही आशा र सपना देख्ने स्थिति स्वाभाविक बन्यो । विडम्बना, बाँडिएका आश्वासन र सपना कार्यान्वयन गर्ने काम भने निकै कमजोर रह्यो । जनताबाट कर लिने तर सेवा प्रवाह (डेलिभरी) को पाटो करिब–करिब बेवास्तामा पर्‍यो । सत्ताका लागि सधैँ खिचातानी, झैझगडा भइरहने तर जनताको दुःखमा बीसको उन्नाइस नहुने परिस्थितिले दल र उनीहरूको नेतृत्वमा रहेको सरकार एवं शासनशैलीप्रति व्यापक वितृष्णा पैदा हुन पुग्यो । यस्तो चरम निराशा र पीडाबिच पनि नेताहरूले आफ्ना छोराछोरीलाई सत्ताको आडमा विलासी बनाइराखे । त्यसलाई इंगित गर्दै ‘नेपो बेबिज’, ‘नेपो किड्स्’ ह्यासट्याग निकै प्रयोग भयो, जेन–जी आन्दोलनमा । 

जनआक्रोश चुलिँदै गइरहेको थियो । त्यसै मौकामा ओली नेतृत्वको सरकारले फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । त्यसले, बलिराखेको आगोमा घिउ थपेजस्तो भयो । टिकटक, डिस्कर्डलगायत विभिन्न सामाजिक सञ्जालको प्रयोगमार्फत जेन–जी युवा स्वस्फूर्त सडकमा ओर्लिए । अधिकांश कलेज÷स्कुल ड्रेसमा आएका विद्यार्थीको जुलुसले बानेश्वरको ‘ब्यारिकेड’ पार गरेपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो । जसबाट तीन घण्टाको समयमा १७ युवा गोली लागेर बानेश्वरमा ढले । बाँकी दुई युवा इटहरीमा मारिए ।

तत्कालीन सरकारको यो क्रूर र बर्बर दमन तीव्र गतिमा सामाजिक सञ्जालमा भाइरल बन्यो । यसको भयानक आक्रोश २४ गतेको हिंसा, दमन र आगजनीमा प्रतिबिम्बित भयो । नवयुवाको आन्दोलनमा पुराना दलका कार्यकर्तादेखि विभिन्न स्वार्थ समूहको घुसपैठ भयो । थप ५४ भन्दा धेरै मानिसको मृत्यु भयो । सिंहदरबार, सर्वोच्च अदालतलगायत अधिकांश सरकारी र केही निजी भवनसमेत जलाइए । हजारौँ मानिस घाइते भए । खर्बौंको क्षति भयो । एमाले–कांग्रेस नेतृत्वको ओली सरकार ढल्यो । डिस्कर्डमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जेन–जी चुनावी सरकार बन्यो । 

अचम्म लाग्ने कुरा के भयो भने यत्रो ठुलो विद्रोहको भित्रभित्रै भइरहेको तयारीबारे तत्कालीन सरकार पूरै बेखबरजस्तै थियो । तत्कालीन दलले यो स्तरको विद्रोह होला भन्ने कल्पनासमेत गरेका थिएनन् । आफूलाई वैज्ञानिक तथा क्रान्तिकारी दाबी गर्र्ने कम्युनिस्ट पार्टीले पनि यत्रो ठुलो विद्रोहबारे भेउ पाउन सकेनन् । आन्तरिक उथलपुथलको यत्रो परिघटनालाई विदेशी शक्तिकेन्द्रकै डिजाइनमा रचिएको खेल भनेर पन्छिन भ्याए । जबकि, माक्र्सवादी सिद्धान्तको गुह्य कुरा हो– हरेक राजनीतिक परिवर्तनको सारतत्व आन्तरिक हो र बाह्य पक्ष सहायक । यसरी जेन–जी विद्रोहले पुराना दललाई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने हालतमा पुर्‍याइदियो । र, नवयुवा सहभागिता हरेक दलको साझा सवाल बन्न थाल्यो । 

अधुरो क्रान्ति :  नेपाली राजनीतिक परिवर्तनको इतिहास नियाल्दा जनताले जहिल्यै क्रान्तिको पक्षमा आफूलाई उभ्याउँदै आएका छन् । जनताको व्यापक सहभागिता र बलिदानमार्फत नै हरेक क्रान्ति सफल भएका हुन् । जेन–जी विद्रोह त्यसको पछिल्लो कडी हो । २३ र २४ भदौको विद्रोह र त्यसपछिको प्रक्रियामा जनताले नयाँ दल र नेतृत्वलाई अवसर दिएका छन् । अफसोच, नयाँँ उदाएका राजनीतिक दलबाट पनि अपेक्षित परिवर्तनको प्रत्याभूति हुन सकिरहेको छैन ।

दलको नाम नयाँ राखे पनि विचार र व्यवहार पुरानै भएपछि जनअपेक्षा पूरा हुन सम्भव छैन । यसको एउटा कारण जेन–जी विद्रोह कुनै निश्चित विचार एवं दलबाट निर्देशित नभई आमविद्रोह हुनु पनि हो । जसले गर्दा वास्तविक जनचाहनाअनुसार काम गर्नेभन्दा सामाजिक सञ्जालमा भाइरल हुने कन्टेन्टको खेती गर्ने लोकप्रियतावादीको चंगुलमा पुगेको छ, सत्ता राजनीति । परिणामतः आम भुइँतहका जनताका दुःख थप गहिरिँदै जाने तर एकाएक भाइरल विचारविहीन समूह शक्ति र स्रोतमाथि हाबी हुने अवस्था देखा परेको छ । 

त्यसो त नेपालमा जेन–जी विद्रोह अधुरो भएको नौलो परिघटना होइन । २००७ सालको राणाशाहीविरुद्ध भएको क्रान्ति पनि दरबार र राणासँग सम्झौतामै अल्झिएको थियो । ०४६ को जनआन्दोलन राजासँग लेनदेनमा लगेर टुंगो लगाइयो । ०५२ मा सुरु भएको जनयुद्ध र त्यसको जगमा उठेको ०६२/६३ को जनआन्दोलन र मधेश विद्रोह पनि संसदीय राजनीतिसँग सौदाबाजी गरियो । जेन–जी विद्रोह अधुरो क्रान्तिको पहिल्लो शृंखला बन्न पुगेको छ । यसको मतलब नेपालका आन्दोलन उपलब्धिविहीन थिए भन्नु इतिहासप्रति अन्याय हुन्छ । यी आन्दोलनले राजनीतिक संस्था बदलिदिए । तर, प्रत्येक परिवर्तनपछि राज्य र समाजभित्रको शक्ति, सम्पत्ति, पहुँच र अवसरको असमान वितरण अपेक्षित रूपमा रूपान्तरण हुन सकेन । यही अन्तर–राजनीतिक परिवर्तन र संरचनागत रूपान्तरणबिचको दूरी नेपालका ‘अधुरा क्रान्ति’को साझा विशेषता हो ।

निष्कर्ष : हरेक विद्रोह ध्वंसकै जगमा उभिएका हुन्छन् । ठुलो जनधनको क्षतिबाट यो विद्रोहले पुरानो सरकारलाई विस्थापित गर्‍यो, पुरानो नेतृत्वको वर्चस्वलाई चुनौती दियो र नयाँ पुस्तालाई नेतृत्वमा ल्यायो । कांग्रेसलगायत दलमा नेतृत्व परिवर्तनको अवस्था सिर्जना भयो । जेन–जी युवा सहभागितासहित केही नयाँ दल उदय भए । तथापि, एमाले, नेकपाजस्ता कम्युनिस्ट भनिने दलमा भने नेतृत्व परिवर्तनको कुनै गुञ्जायस अहिलेसम्म देखिएको छैन । जेन–जी विद्रोहमाथि दमन गर्नेमाथि कारबाही हुन सकिरहेको छैन । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रिया सुरु भए पनि त्यसका सबै सिफारिस पूर्ण रूपमा कार्यान्वयन भएका छन् कि छैनन् र त्यसले संस्थागत जवाफदेहिता स्थापित गर्न सकेको छ कि छैन भन्ने प्रश्न अझै बाँकी छ ।

के जेन–जी विद्रोहले नातावाद अन्त्य गर्‍यो ? के भ्रष्टाचार र बेथितिको संरचना बदलियो ? के वर्गीय खाडल घट्यो ? के राजनीतिक दलभित्र लोकतन्त्र बलियो भयो ? के जनताको जीवनमा आधारभूत परिवर्तन आयो ? जेन–जी विद्रोहबाट सत्तामा पुगेकाहरूसँग सोध्नैपर्ने यी आधारभूत प्रश्न हुन् । जेन–जी विद्रोहको ऐतिहासिक मूल्यांकन यसै प्रश्नबाट हुनेछ– आन्दोलनले पात्र मात्र बदल्यो कि राजनीति गर्ने पद्धति, राज्यको चरित्र र शक्ति वितरणसमेत बदल्न सक्यो ?

यदि नयाँ नेतृत्व पनि पुरानै नातावाद, आसेपासेवाद, भ्रष्टाचार, केन्द्रीकरण र सत्ता–स्वार्थको संस्कृतिमा फस्छ भने जेन–जी विद्रोहले केवल पुराना पात्रको ठाउँमा नयाँ पात्र स्थापित गरेको अर्थ लाग्नेछ ।खासमा जेन–जी विद्रोहको वास्तविक परीक्षा अब सुरु भएको छ । यसले उठाएको चेतना संरचनागत परिवर्तनमा रूपान्तरण हुन सक्यो भने यो नेपालको राजनीतिक क्रान्तिको निर्णायक कडी बन्नेछ । अन्यथा, अघिल्ला विद्रोहझैँ यो पनि सम्झौता, सत्ता र सुविधाको चक्रमा हराउन सक्छ । जेन–जी विद्रोह अन्त्य होइन । यो नेपाली राजनीतिमा सुरु भएको एउटा अधुरो क्रान्ति हो, जसको पूर्णता अझै बाँकी छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब