सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका संघीय सरकारका शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताको विरोधपछि बोल्दाबोल्दै कार्यक्रमस्थलमा हुटिंग हुँदा उनलाई बाहिरिनुपरेको छ ।
औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुगेका थिए । तर कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको, नेता–कार्यकर्तालाई उचित स्थान नदिइएको तथा अपमानजनक व्यवहार गरिएको भन्दै पार्टीकै स्थानीय नेता तथा कार्यकर्ताले कडा विरोध जनाएपछि केहीबेर कार्यक्रमस्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का एक नेताले जनाए अनुसार सिरहाबाट प्रतिनिधित्व गर्ने दुई जना प्रतिनिधिसभा सदस्यसमेत कार्यक्रममा उपस्थित भए पनि स्थानीय पार्टी नेतृत्व तथा नेता–कार्यकर्तासँग आवश्यक समन्वय गरिएको थिएन ।
ती नेताले जनाए अनुसार स्थानीय नेता– कार्यकर्तालाई कार्यक्रमबारे अन्तिम समयमा मात्र जानकारी दिइएको थियो। कार्यक्रममा पुगेपछि पनि उनीहरूलाई कुनै जिम्मेवारी वा उचित स्थान नदिइएको र उल्टै अपमानजनक व्यवहार गरिएको आरोप लगाइएको छ । ती नेताले भने, ‘अन्तिम समयमा मात्रै खबर गरियो । तर, कार्यक्रममा आएपछि पनि स्थानीय नेता–कार्यकर्तालाई कुनै स्थान दिइएन । उल्टै अपमानजनक व्यवहार गरियो ।’ उनले रास्वपा औरही गाउँपालिकाका नगर सभापति सन्तोष यादवलाई समेत सो कार्यक्रममा आसन ग्रहणका लागि स्थान नदिँदा स्थानीय नेता यादव चुपचाप कार्यक्रमको भिडियो खिचिरहँदा मन्त्री पोखरेलसँगै आएका एक सहयोगीले सुरक्षाकर्मीको सहयोगमा उनको मोबाइल जवर्जस्ती खोस्ने प्रयास गरेपछि विवाद थप चर्किएको दाबी गरिएको छ ।
‘बाहिरबाट आएका माननीयहरूलाई स्थान दिइने, तर आफ्नै पार्टीका स्थानीय शीर्ष नेताहरूलाई खबरसमेत नगर्ने ? यो कस्तो समन्वय हो सार मन्त्रीका सहयोगीका रूपमा आएका व्यक्तिको आदेशमा नगर सभापति यादवको मोबाइल खोस्ने प्रयास भएपछि अवस्था झनै तनावपूर्ण बनेको थियो । ‘मन्त्रीज्यू बोल्नका लागि स्टेजमा पुग्नुभएको थियो । अन्य माननीयहरूसँग कुरा भइरहेकै बेला उहाँ एकाएक बाहिरिनुभयो,’ ती नेताले भने । स्थानीय नेता तथा कार्यकर्ताको विरोध र होहल्लाका बीच मन्त्री पोखरेलले आफ्नो सम्बोधन अघि बढाउन नसकेको र कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ । शिक्षा मन्त्री पोखरेल विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिनदेखि सिरहामै थिए । उनीसँगै सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिव यादव तथा रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवसमेत औरही गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी थिए । मन्त्रीको उपस्थितिमा आयोजित कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता तथा कार्यकर्ताबाट विरोध भएपछि पार्टीभित्रको समन्वय, कार्यक्रम व्यवस्थापन तथा स्थानीय नेतृत्वसँगको सम्बन्धबारे प्रश्न उठेको छ ।
नियोजित भ्रम फैलाइयो : शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा सुधारका लागि सञ्चालन गरिएको अभियानलाई प्रभावित पार्ने उद्देश्यले केही व्यक्तिले नियोजित रूपमा भ्रम फैलाउन खोजेको जिकिर गरेका छन् ।
मधेश प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन गरिरहेका बेला सिरहा र सप्तरीमा दुई जना व्यक्तिले कार्यक्रमस्थलमा आएर अवरोध सिर्जना गरेको र त्यसलाई आधार बनाएर सामाजिक सञ्जालमा गलत प्रचार गरिएको मन्त्री पोखरेलको दाबी छ । सामाजिक सञ्जालमा मन्त्री पोखरेललाई कार्यक्रममा …लखेटिएकोÚ भन्दै भाइरल भइरहेका भिडियो तथा पोस्टबारे स्पष्टीकरण दिँदै उनले उक्त घटनालाई ‘नियोजित भ्रम’को संज्ञा दिए ।
शिक्षामन्त्री पोखरेलले कार्यक्रमका क्रममा दुईजना व्यक्तिले हल्ला तथा अवरोध सिर्जना गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकसहित अन्य सहभागीको सहभागिता प्रभावित हुने अवस्था बनेको दाबी गरे । तर, सोही घटनाको छोटो भिडियो क्लिपलाई मात्र आधार बनाएर समग्र घटनाको सन्दर्भ नै बंग्याउने गरी प्रचारबाजी गरिएको उनले बताए । फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताए ।
सो कार्यक्रममा अवरोध सिर्जना भएको घटनापछि पनि आफूहरूले अभियान नरोकेको मन्त्री पोखरेलले प्रस्ट्याए । मधेश प्रदेशमा रास्वपाको बढ्दो प्रभाव तथा शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामका कारण केही पक्ष असन्तुष्ट हुनु स्वाभाविक भएको मन्त्री पोखरेलले टिप्पणी गरे ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved