मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ । मृत्यु भोज मधेसको परम्परा र संस्कृति भएकाले घरमा कसैको मृत्यु भएपछि मान्छे गुमाएको पीडाभन्दा पनि भोजकै चिन्ता, भोज गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
घरमा कसैको मृत्यु भएपछि रितिरिवाजअनुसार गर्नुपर्ने क्रियाकर्मको तयारीसँगै मृत्युु भोजको तयारीमा घरमुली जुट्नुपर्ने बाध्यता छ । जात र समुदायअनुसार मृत्यु भएको १३ दिनको अवधिभित्र तीनदेखि पाँच पटक भोज गर्नुपर्ने बाध्यता अहिले पनि यथावत छ । कतिपयले नाम, सान र प्रतिस्पर्धामा ठूलोभन्दा ठूलो भोज गर्दै आएका छन् ।
भोज परम्परा संस्कृति र रितिरिवाज मात्रै नभए हाम्रो संस्कार हो भन्ने बुझाइ अधिकांशमा छ । अन्नदान गर्नु पुण्यको काम हो । यसले आफन्त र परिवारलाई जोड्ने काम गर्छ । तर ऋण लिएर बाध्यताले भोज गर्नु संस्कृतिको नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेणु यादवले बताइन् ।
उनले भनिन्, ‘मृत्युमा अनिवार्य भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्र नभएर अन्त्य गर्नुपर्ने आवश्यकता छ । समाजले जबरजस्त लाधेको परम्परा भएकाले यस प्रथाको न्यूनीकरणका लागि हामी एकजुट भएर लाग्नुपर्ने आवश्यक छ ।’
भोज संस्कार र बाध्यताले नभएर स्वेच्छाले हुनुपर्ने जरुरी रहेको उनले बताइन् । मधेसमा बढी जनसङ्ख्या रहेको यादव समुदायले २५/५० गाउँको एकै पटक सभा भोज गर्ने चलन छ ।
मृत्यु भोजको नाममा हुने आडम्बरी सभा भोजलाई प्रोत्साहन गर्नु दुःखद रहेको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले बताए । उनले भने, ‘मृत्यु भोजलाई प्रोत्साहन गर्नुभन्दा हतोत्साही गर्नुपर्ने आवश्यकता छ ।’
एउटा भोजमा ५० हजारसम्मको स्वजाति आफन्तले भोज खाने गरेका पाइन्छ । भोजमा हुने खर्चले एक परिवारको १० वर्षभन्दा माथि जीवन चल्न सक्छ । भोजमा गरिने खर्च विपन्नको जीविकोपार्जन र शिक्षामा लगानी गर्न सके सकारात्मक सन्देशसँगै संक्षम र शिक्षित समाज निर्माणमा सहयोग पुग्ने उनले बताए ।
राजविराज नगरपालिका–१ कि दुर्गादेवी रजकले सासु बित्दा भोज गर्न सक्दिन भन्दा समाजले भोज गर्नैपर्छ भन्दै कर लगायो । त्यसपछि भोज गर्नको लागि ३ लाख ऋण लिनुभर्ने बाध्यता भयो । त्यो ऋणको ब्याज जसोतसो तिरेपनि ऋण अहिलेसम्म तिर्न सकेकी छैनन् ।
दुर्गा त ऋण लिएर भोज गर्ने प्रतिनिधि पात्र मात्र हुन मधेसका यस्ता सयौँ परिवारले मृत्यु भोज गर्नुपर्ने बाध्यताले अहिले ऋण लिएर भोज गर्ने र वर्षौसम्म ऋणमा अल्झिने प्रवृत्ति अझै कायम रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताए ।
भोजको नाममा ऋणको भारी बोक्ने काम कसैले गर्नु आवश्यक नरहेकाे उनले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved