यमपञ्चकको आज दोस्रो दिन : कुकुर तिहार र नरक चतुर्दशीसँगै साँझ लक्ष्मीपूजा गरिँदै

  • कार्तिक २२, २०८३ | १२४ पटक पढिएको | सीमा संदेश
alt

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ ।

आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ ।

आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहिर्‍याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने शास्त्रीय मान्यता छ ।

धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। आजको दिन कुकुरलाई सम्मान गर्नाले मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौराणिक विश्वास छ । द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको देहावसान भएपछि धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पुर्‍याएको शास्त्रमा उल्लेख छ। ऋग्वेदमा पनि कुकुरहरूको आमा ‘समरा’ ले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग छ ।

भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । कुकुरले सुँघेर अपराधी पत्ता लगाउने तथा विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति आउनु अगावै पूर्वसूचना दिने गर्दछ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । नरकबाट मुक्ति पाउनका लागि आज बिहान उज्यालो हुनुअघि शरीरमा तिलको तेल, सुगन्धित द्रव्य र चन्दन लगाएर 'तैलाभ्यङ्ग स्नान' गर्ने विधि छ । यस दिन तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा सम्पूर्ण पाप नाश भई नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता छ ।

स्नान गर्नुपूर्व ‘सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित, हरपापमपामार्ग भ्राम्यमाणः पुनःपुन’ मन्त्र उच्चारण गर्दै अपामार्ग वनस्पतिको पातलाई पानीमा डुबाएर शिरमा घुमाउने गरिन्छ । स्नानपछि दक्षिणतर्फ फर्केर सव्य भई यमराजका १४ नाम (यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त) उच्चारण गर्दै प्रत्येक नाममा तीन-तीन अञ्जुली तिलयुक्त जलले तर्पण दिने विधान छ। यसरी तर्पण दिँदा वर्षौँदेखिका पापबाट मुक्ति मिल्ने बताइएको छ। आजको दिन मासको पातको साग खाने, नर्के नुहाउने, दीपदान गर्ने र आलसको बोट बालेर आगो ताप्ने धार्मिक चलन पनि रहेको छ ।

साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक कृष्ण औँसीको यस रातलाई 'सुखरात्रि' पनि भनिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । साँझपख आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ ।

दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको आराधना गरिन्छ । यी आठ रूपले जीवनका आठ पक्ष (आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजय) लाई प्रतिनिधित्व गर्दछन् । सूर्यास्तपछि बेलुकी ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ ।

लक्ष्मीपूजाका लागि कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान, सुपारी तथा रङ्गोलीका रङहरू प्रयोग गरिन्छ ।

पूजा सामाग्री तयार पारिसकेपछि   दियो बाल्नु पर्दछ दियो बाल्दा
ॐ दीपज्योतिः परंब्रह्म
दीपज्योतिर्जनार्दनः ।
दीपो हरतु मे पापं
दीपज्योतिर्नमोऽस्तु ते ।। यो मन्त्रको उच्चारण गर्नुपर्दछ ।

दियोमा फूल अक्षता चढाउदै
ओम दीपदेवताय नम
त्यसपछि गन्ध, अक्षता, फूल, धुप र नैवेद्य अर्पण गर्नुपर्दछ ।
शुभं करोतु कल्याणम्
आरोग्य धनसम्पदा ।
शत्रुबुद्धिविनाशाय
दीपज्योतिर्नमोस्तुते । भनि ध्यान गर्नुपर्दछ ।

गणेश पूजा मन्त्र
गणेशजीको पूजा आरम्भमा सबैभन्दा प्रचलित मन्त्र—
ॐ गं गणपतये नमः ।।
गणेशजीलाई आवाहन तथा पूजा गर्दाः
ॐ श्री गणेशाय नमः ।
आवाहयामि, स्थापयामि, पूजयामि नमः ।।
भनेर  चन्दन, अक्षता, फूल, दुवो, सिन्दुर,रातो कपडा, धूप, दीप, नैवेद्य, फलफुल,लड्डु दक्षिण आदि अर्पण गरि  ।
वक्रतुण्ड महाकाय
सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव
शुभकार्येषु सर्वदा ।। भनि
गणेशजीको ध्यान मन्त्र जप्नुपर्दछ ।
त्यसपछि कलशको पुजा गर्नुपर्दछ ।
कलशलाई सिगारपटार गरि कलशभित्र सर्सिउ,कुशमा टुक्रा,बेसार, जौ,तिल गंगाजल, सिक्का पैसा राख्नुपर्दछ । कलशलाई राम्रोसँग सजाएर बर, पिपल, समी, आँप, डुम्रीको पात कलशको मुखमा राख्नुपर्दछ । कलशको मुखमा वा पञ्चपल्लवको माथि रातो कपडाले बेरेर एउटा नरिवल राख्नुपर्दछ । पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधि आदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिँगोफल राखेर सबै उपचारले पूजा गर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । ॐ कलशाय नमः भनि
कलशमा जल, अक्षता, फूल आदि राखेर
ॐ कलशस्य मुखे विष्णुः
कण्ठे रुद्रः समाश्रितः ।
मूले तत्र स्थितो ब्रह्मा
मध्ये मातृगणाः स्मृताः ।।
कुक्षौ तु सागराः सर्वे
सप्तद्वीपा वसुन्धरा ।
ऋग्वेदोऽथ यजुर्वेदः
सामवेदो ह् अथर्वणः ।।
दियो, कलश र गणेशको पूजा गरिसकेपछि लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीको पूजा गरी आरती, दीपदान र मन्त्र उच्चारण गरिन्छ । आरतीपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहेकोछ । घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ । लक्ष्मी देवी भगवान् विष्णुको पत्नी हुन् । लक्ष्मीको आगमन जसको घरमा हुन्छ, त्यहाँ सदा धन, सुख, शान्ति र ऐश्वर्यले बसोबास गर्छन् भन्ने शास्त्रीय मान्यता रहेकोछ ।
समुद्रमन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन् । त्यस दिन कार्तिक महिनाको आजकै रात थियो । त्यसैले यस दिनबाट लक्ष्मीपूजा गर्ने परम्परा सुरु भएको हो । लक्ष्मी धनको मात्र प्रतीक नभई शुद्धता, सकारात्मकता र कर्मशीलताको पनि प्रतीक हुन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ ।
मन्त्र :
“ॐ श्रीं ह्रीं क्लीं महालक्ष्म्यै नमः” वा
“ॐ महालक्ष्म्यै च विद्महे, विष्णुपत्नी च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात् ।”

लक्ष्मीपूजा संकल्प
पूर्णसंकल्प सिद्धिरस्तु .....गोत्रोपन्न सपपरिवारोऽहो हं मम श्रुतिस्मृतिपुराणोक्तफलप्राप्तीद्धारा माहालक्ष्मी प्रशन्नद्धारा अप्राप्तलक्ष्मीप्राप्त्र्थं प्राप्तलक्ष्मीचिरकालपर्यन्तं स्थातुम् अस्यां सुखरात्यां महालक्ष्म्या इन्द्रकुबेरयोश्च पूजनमहं करिष्ये ।

यसपछिॐमनोजूति ईत्यादि मन्त्रले ईन्द्र,कुबर र लक्ष्मीको प्राणप्रतिष्ठा गरेपछि निम्नअनुशार षोडशोपचार पूजा गर्नु पर्दछ ।
ॐ अमलकमलसस्था–तद्रजःपुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।।
मणिमुकुट बित्रलङकृता कल्पजालै ।
र्भवतु भुवनमाता सन्ततं श्रीःश्रियै नम ः
१ ध्यान समर्पयामि,लक्ष्मै नमः
२ आसन समर्पयामि,लक्ष्मै नमः
३ पाद्यं समर्पयामि,लक्ष्मै नमः
४ अर्घम् समर्पयामि,लक्ष्मै नमः
५ आचमनीयं समर्पयामि,लक्ष्मै नमः
६ स्नानीयं समर्पयामि,लक्ष्मै नमः
७ पञ्चामृतस्नानं समर्पयामि,लक्ष्मै नमः
८ शुद्धोदकस्नानंसमर्पयामि,लक्ष्मै नमः
९ वस्त्र,यज्ञोपवितं उपवस्त्रं च समर्पयामि,लक्ष्मै नमः
१० श्रीखण्डादी चन्दन समर्पयामि,लक्ष्मै नमः
११ अक्षतान् समर्पयामि,लक्ष्मै नमः
१२ पुष्पं,पुष्पमाता,दूवाङकुरान् , समर्पयामि,लक्ष्मै नमः
१३ नानाविद्यानि नैवेद्यानि,फलानी च समर्पयामि,लक्ष्मै नमः आचमनियं च समर्पयामि,लक्ष्मै नमः
१४ ऋतुफलं ताम्बुलं च समर्पयामि,लक्ष्मै नमः सुगन्धिद्रव्य समर्पयामि,लक्ष्मै नमः
१५ न्यूनतातिरिक्तय द्रव्यदक्षिाण समर्पयामि,लक्ष्मै नमः
१६ यसपछि धुप दीप गरेर
धूप आघ्रापयामि,दीपं च दर्शयामी,लक्ष्मै नमः
१७ लक्ष्मीका विशेष अलंकार,सौभाग्य,सिन्दुर,टीका,मंगलसुत्र,छाता,चमर,चरणपादुखा,पंखा,ऐना आदि चढाउने ।
सौभाग्द्रव्याणि समर्पयामि,लक्ष्मै नमः
१८ आरती, पूष्पाञ्जलीं, प्रदक्षिणां, क्षमापनं च समर्पयामि, लक्ष्मै नमः
संस्कृत श्लोक उच्चारण गर्न सक्ने कर्ताको लागि निम्नानुसार को श्री सूक्त मंत्र बाचन गर्न सकिन्छ
श्री सूक्त मंत्र
ॐ हिरण्यवर्णां हरिणीं, सुवर्णरजतस्त्रजाम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं, जातवेदो म आ वह ।।१।।

तां म आ वह जातवेदो, लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं विन्देयं, गामश्वं पुरूषानहम् ।।२।।

अश्वपूर्वां रथमध्यां, हस्तिनादप्रमोदिनीम् ।
श्रियं देवीमुप ह्वये, श्रीर्मा देवी जुषताम् ।।३।।

कां सोस्मितां हिरण्यप्राकारामार्द्रां ज्वलन्तीं तृप्तां तर्पयन्तीम् ।
पद्मेस्थितां पद्मवर्णां तामिहोप ह्वये श्रियम् ।।४।।

चन्द्रां प्रभासां यशसा ज्वलन्तीं श्रियं लोके देवजुष्टामुदाराम् ।
तां पद्मिनीमीं शरणं प्र पद्ये अलक्ष्मीर्मे नश्यतां त्वां वृणे ।।५।।

आदित्यवर्णे तपसोऽधि जातो वनस्पतिस्तव वृक्षोऽक्ष बिल्वः ।
तस्य फलानि तपसा नुदन्तु या अन्तरा याश्च बाह्या अलक्ष्मीः ।।६।।

उपैतु मां दैवसखः, कीर्तिश्च मणिना सह ।
प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन्, कीर्तिमृद्धिं ददातु मे ।।७।।

क्षुत्पिपासामलां ज्येष्ठामलक्ष्मीं नाशयाम्यहम् ।
अभूतिमसमृद्धिं च, सर्वां निर्णुद मे गृहात् ।।८।।

गन्धद्वारां दुराधर्षां, नित्यपुष्टां करीषिणीम् ।
ईश्वरीं सर्वभूतानां, तामिहोप ह्वये श्रियम् ।।९।।

मनसः काममाकूतिं, वाचः सत्यमशीमहि ।
पशूनां रूपमन्नस्य, मयि श्रीः श्रयतां यशः।।१०।।

कर्दमेन प्रजा भूता मयि सम्भव कर्दम ।
श्रियं वासय मे कुले मातरं पद्ममालिनीम् ।।११।।

आपः सृजन्तु स्निग्धानि चिक्लीत वस मे गृहे ।
नि च देवीं मातरं श्रियं वासय मे कुले ।।१२।।

आर्द्रां पुष्करिणीं पुष्टिं पिंगलां पद्ममालिनीम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं, जातवेदो म आ वह ।।१३।।

आर्द्रां य करिणीं यष्टिं सुवर्णां हेममालिनीम् ।
सूर्यां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।। १४।।

तां म आ वह जातवेदो लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं प्रभूतं गावो दास्योऽश्वान् विन्देयं पुरुषानहम् ।।१५।।

यः शुचिः प्रयतो भूत्वा जुहुयादाज्यमन्वहम् ।
सूक्तं पंचदशर्चं च श्रीकामः सततं जपेत् ।। १६

आज राति भैलो खेल्ने परम्परा रहेकोछ ।  भैलो खेल्ने परम्परा भगवान् विष्णु र राजा बलीको कथासँग जोडिएको छ । पुराण अनुसार, बली दानवीर र भक्तिपूर्ण राजा थिए । जब भगवान् विष्णुले वामन अवतार लिएर बलीसँग तीन पाउँ जमिन मागे, तब बलीले आफ्नै राज्य र जीवन अर्पण गरे । विष्णुले प्रसन्न भई उनलाई स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान दिए र तिहारको दिनमा आफ्नो राज्य भ्रमण गर्न निमन्त्रण दिए । त्यस सम्झनामा लक्ष्मीपूजाको रातमा भैलो खेल्ने परम्परा चलनमा आएको हो । भैलो खेल्दा “बलिराजाको भलो होस्” भन्ने भावना व्यक्त गरिन्छ ।

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

गोलबजार उद्योग व्यापार संघमा महेश साह प्यानलसहित न

सिरहा । सिरहा गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा म ...

स्थानीय र प्रदेश निर्वाचन एकै मितिमा कि अलग–अलग ?

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्ने कि स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब