सिरहा । प्रदेश २ मा बिहीबार थप ८ जनामा कोारोना भाइरसको देखिएको छ । बारामा एक महिला र ६ जना पुरुषसहित ७ जना तथा पर्सामा एकजना १५ वर्षकी बालिकामा संक्रमण पुष्टि भएको हो ।
बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक महिला र ६ जना पुरुषसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले जानकारी दिए ।
संयोजक यादवका अनुसार उनीहरु सातैजनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको छ । भारतको ईन्दोर, मुम्बई, गुजरात लगायतका स्थानबाट १० दिन अघि फर्किएका सातैजना गाउँपालिकाको वडा नम्बर १ स्थित विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टिनमा बस्दै आएका ५४ जनाको जेठ १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि हेटौँडा स्थित प्रयोगशालामा पठाइएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको यादवले बताए । संक्रमित मध्ये एकजना १२ वर्षका बालक समेत रहेका छन् ।
यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की १५ वर्षकी किशोरीमा कोरोना संक्रमण देखिएको भएको नारायणी अस्तालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।
किशोरीमा उनको बुवाबाट नै कोरोना सरेको पाइएको छ । गत जेठ ६ गते भारतबाट फर्केर आएका ती किशोरीकी बुवालाई पनि कोरोना संक्रमण भएको थियो ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ६७ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved