रौतहटमा दशगजा अतिक्रमण विवाद संयुक्त सर्वे टोलीले टुंग्यायो

  • असार २३, २०७७ | १,१८९ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । वर्षा सिजन सुरु भएसँगै रौतहटका सीमा क्षेत्रका बासिन्दा त्रासमा हुन्छन् । दशगजा क्षेत्रमै जोडेर भारतले निर्माण गरेको अग्लो बाँधका कारण नेपाली भूभाग वर्षेनि डुबानमा पर्ने गरेका कारण सीमावर्ती क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रासमा रहने गरेका हुन् ।

पानीको प्राकृतिक बहावलाई रोक्ने गरी भारतले दशगजा छेउमै अग्लो बाँध बनाएर आफ्नो भूभाग र बस्तीलाई डुबानबाट जोगाउने गरेको छ । वर्षा अघि नै यसपटक उक्त बाँध मर्मतका क्रममा भारतले दशगजा क्षेत्र मिचेपछि नेपाली पक्षले आपत्ति जनाउँदै बाँध मर्मत रोक्न लगाएको थियो ।

हालै दुई देशबीचको संयुक्त सर्वे टोलीले ईशनाथ–१ बनजरहा गाउँनजिक जिपिएस प्रविधिबाट नाँपजाँच गर्दा भारतीय पक्षद्वारा करिव २ मिटर दशगजा क्षेत्र मिचेर बाँध बनाइएको प्रमाणित भएको छ ।

उक्त बाँध भत्काउन निर्देशन दिइसकेको र बाँध भत्काउन भारतीय पक्ष तयार रहेको स्थानीय प्रशासनले जनाएको छ ।

दुई दिन अघि नेपाल भारतको ज्वाइन्ट सर्वे टोलीले जिपिएस प्रविधिबाट नापजाँच गरेर ११ स्थानमा अस्थायी रुपमा जिआई फलामको पाइप गाडेर रेखांकन गरेको छ । यस क्रममा भारतले करीब २०० मिटर सीमा मिचेको प्रमाणित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

भारतीय पक्षबाट अनुराग कुमार र नेपाली पक्षबाट उमेश कुमारसहितको प्राविधिक टोलीले जिपिएस प्रविधिबाट सीमा पहिचान गरेर सीमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडेको छ । 

यद्यपि ती पिलर गाडिएका क्षेत्र तत्काल खाली नगराए वर्षाको समयमा ती पाइप हराउन सक्ने, गोठालाहरुले उखेल्न सक्ने र फेरि सीमा विवाद सिर्जना हुन सक्ने स्थानीयबासी बताउँछन् ।

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि भइसक्दा समेत स्थानीय प्रशासनले दशगजा क्षेत्रलाई खाली गराउन ढिलासुस्ती गर्नु आफैमा अनौँठो देखिन्छ ।

पिलर नम्वर ३४६/५ देखि ३४६/७ को विचमा ३ वटा अस्थायी पिलर र ३४६/६ देखि ३४६/७ सम्म ८ वटा अस्थायी रुपमा सांकेतिक चिन्ह खडा गरिएको छ । यस क्रममा भारतले करिव २०० मिटरसम्म दशगजा क्षेत्रलाई मिचेर बाँध निर्माण गरेको पुुष्टि भएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछन् ।

भारतले अतिक्रमण गरेको दशगजा क्षेत्र वर्षा पश्चात खाली गराउने गरी भारतीय अधिकारीसँग सहमति भएको छ । साउनसम्म दशगजाभित्रको बाँध भारतले हटाइसक्ने सहमति भएको बताइएको छ ।

‘वर्षाको समय भन्दै उक्त अवधिमा हटाउन सम्भव भएन भनेर भारतले आलटाल गर्ने त होइन ?’ भन्ने प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी घिमिरे दुवै पक्षबीच समझदारी भइसकेका कारण भारतीय पक्षले बाँध हटाउनेमा आफूहरु विश्वस्त रहेको बताए । 
भारतीय पक्षले दशगजा खाली नगरे आफूहरुले नै दशगजा क्षेत्रमा परेको बाँधको हिस्सा भत्काउने उनको भनाइ छ ।

डुबानबाट भारतीय क्षेत्रलाई जोगाउन दुुईदशक अघि सो क्षेत्रबाट पश्चिम करिव दुई किलोमिटर लामो बाँध भारतले एकतर्फी रुपमा निर्माण गरेको हो । सो बाँधका कारण बर्सेनि वर्षामा बन्जरहा गाउँ डुबानमा पर्दै आएको स्थानीय गृषनन्दन सिंहले बताए ।

हरेक वर्ष भारतीयले दशगजाको बाँधलाई स्तरवृद्धिको नाउँमा थप अग्लो बनाउदै जाँदा डुुबानको जोखिम बढ्दै गएको सिंहले जानकारी दिए ।

यसका अतिरिक्त बाँध अग्लो बनाउने नाममा बाँधको चौडाईसमेत बढाइएका कारण अहिले उक्त बाँधको केही हिस्सा दशगजासम्म आइपुगेको देखिन्छ ।

त्यसैगरी जिल्लाको पूर्वीभेगमा बागमती नदी र पश्चिममा लालबकैया नदी नियन्त्रण गर्न निर्माण भएको तटबन्ध   कमजोर भएका कारण बर्सेनि भत्कने खेत तथा बस्तीमा बाढी पस्ने गरेको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वसभापति शैलेन्द्र गुप्ताले बागमती र लालबकैया नदीको तटबन्ध समयमै मर्मत नहुनु असारतिर हतार हतार मर्मतका नाममा बजेटमात्र खर्चिने गरिएका कारण स्तरीय काम नहुनुुले तटबन्ध भत्किएर बर्सेनि डुुबानको समस्या हुने गरेको बताए ।

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले चुुरेक्षेत्रमा ब्यापकरुपमा हुने गरेको रुखकटानी तथा नदीजन्य पदार्थ निकासीले पानीसँगै आएको बालुवाले दुुबैनदीको सतह अग्लो बनेको बताए । ‘बालुवाले नदीको सतह अग्लो भयो तर तटबन्धको उचाई जतिको त्यति भएकाले पनि बाढीको समय ओभरफ्लो भएर डुुबान हुने गरेको छ,’ उनले भने ।

हरेकबर्ष नदी नियन्त्रणको बजेट वैशाखपछि आउने गरेको तर यस वर्ष हालसम्म पनि बजेट नआएकाले डुबान नियन्त्रणका लागि भरपर्दो काम हुन नसकेको उनको भनाइ छ ।

त्यतिमात्र नभई भारतीय पक्षले सीमानामा बनाएको साईफन कल्भर्टको ढोका बाढीको बेला बन्द गर्ने गरेकाले हप्तौँसम्म डुुबानको समस्या रहदैँआएको उनको भनाइ छ ।

रौतहटलाई डुुबानबाट जोगाउन समयमै मास्टरप्लान बनाएर द्रूतगतिमा काम गर्ने र नदीको पानी निकासका लागि भारतीय पक्षसँग सहमति गरेमा मात्र सम्भव हुने श्रीवास्तव बताउँछन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब