सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

  • भदौ १, २०७७ | ८५७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्‍यो ?

खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया ।

तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता देखिएको छ ।

संघीय संसद सचिवालयले आग्रह गरेपछि मुखियाले दुईखालका लोगो डिजाइन गरेर सिफारिस गरेका थिए । एउटामा जौको बालाले घेरिएको प्रतीक चिन्ह थियो, अर्कोमा महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा थियो ।

महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा भएको डिजाइनलाई संसद सचिवालयले स्वीकार गर्‍यो र सोहीअनुसार लोगो बनाउन बागमती प्रदेशअन्र्तगतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई निर्माणको अर्डर दियो ।
तर, अर्डर दिएको डिजाइनभन्दा लोगो केही भिन्न रुपमा तयार भयो ।

डिजाइन गरेको लोगोको नक्सामा लिम्पियाधुरासहितको वास्तविक नक्सालाई प्रष्ट देखाइएको छ । सांसदहरुलाई वितरीत लोगोमा भने लिम्पियाधुरा क्षेत्रलाई समेटिएको चुच्चो त छ, तर, डिजाइनमा भन्दा अलि फरक र भद्दा ।

वास्तविक नक्सा अनुसार नै डिजाइनवाला लोगोमा नेपालको पश्चिम भाग उठेको छ र पूर्वी भाग अलि तल झुकेको छ । तर, सांसदलाई वितरीत लागोमा नक्सा सिधा, चारपाटेजस्तो देखिएको छ ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ब्यङ्ग्य गरेका छन्, ‘चुच्चो जोड्दा नेपालको अन्य भूभाग छोडेर सांसदले लोगो लगाएछन् !’

हातले कुँदेका कारण भद्दा देखियो !

संसद सचिवालयको तर्क छ, ‘लोगो नराम्रो त छैन, तर, हातले कुँदेका कारण हल्का टिप्पणी आएका छन् ।’

बाहिर भनिएजस्तो लोगो भद्दा नरहेको तर्क गर्छन् संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला । ‘एकजनाले बनाएको होइन, फरक-फरक मान्छेले बनाएका कारण केही कमी कमजोरी भएको हुन सक्छ’ उनले भने ।

लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालय ललितपुरकी प्रमुख अम्बिका ज्ञवाली भने केही भद्दा भएको स्वीकार गर्छिन् । ‘मेसिनमा बनाएको जस्तो नहुने भयो । हातले बनाउँदा हल्का भद्दा भइहाल्छ’ ज्ञवालीले अनलाइनखबरसँग भनिन्, ‘नमुना हेरेरै बनाएको हो ।’

घरेलु तथा साना उद्योग कार्यालयका कलाकारले डेढ महिना लगाएर हातैले कुँदेर नयाँ लोगो बनाएका हुन् । संसद सचिवालयका अनुसार नयाँ लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाएको छ । नक्सा पित्तलबाट तयार भएको छ भने बेश चाँदीको हो । हातमा चाहिँ तामाको प्रयोग भएको छ । लोगोको ब्याच (एक छेउबाट अर्को छेउ) ३.५ सेन्टिमिटरको छ ।

लोगोका डिजाइनर मुखियालाई ५० हजार पारिश्रमिक दिइएको छ । लोगो कुद्नेलाई पर पिस २५ सय ज्याला दिइएको छ । यो उद्योग मन्त्रालयले नै निर्धारण गरेअनुसार भएको सचिवालयले जनाएको छ ।

ज्याला र सुन, चाँदी र धातुको मूल्यसमेत गरी प्रत्येक लोगोको मुल्य ५ हजार ५ सय २७ रुपैयाँ ८६ पैसा पर्न गएको छ । सचिवालयका अनुसार साढे तीन सय लोगो बनाएको छ । यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ ।

सांसद सुब्बा भन्छन्- छिछिछि म त लाउँदिनँ !

जसका लागि लोगो बनाएको हो उनीहरु नयाँ लोगोप्रति असन्तुष्ट छन् । अहिलेको नयाँ लोगो बनाउनेहरु दण्डित हुनुपर्ने माग गरेका छन् ।

सत्तारुढ नेकपाकै सांसद विजय सुब्बाले नयाँ लोगो नलगाउने घोषणा गरे । ‘छिछिछि यस्तो घिनलाग्दो लोगो, मचाहिँ लाउँदिनँ । प्रमाणपत्र बोकेर हिँड्छु, आइडी कार्ड बोकेर हिँड्छु’, सांसद सुब्बाले अनलाइनखबरसँग भने, ‘यति सारो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनू ? नेपालको नक्सा त्यस्तै हो ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला ?’
यस्तो भद्दा लोगो बनाउनेहरु दण्डित हुनुपर्ने सांसद सुब्बाको माग छ, ‘ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ ।’

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले पनि नयाँ लोगो भद्दा देखिएको भनेर आफूले संसद सचिवालयको ध्यानाकर्षण गरेको बताएकी छन् ।

नेकपाका केन्द्रीय सदस्य विजय पौडेलले सांसदको लोगो देख्दा आफूलाई अचम्म लागेको उल्लेख गरे । ‘यो माननीय सांसदहरुले लगाउन नै बनाएको लोगो हो वा कसैले बेइज्जती गर्न पोस्ट गरेको हो ? संसद सचिवालयले आदेश दिएर बनाएकोमा यति सारो रद्दी सामाग्री त नहुनुपर्ने । के हो यो ? अचम्म लाग्यो’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब