सिरहा । सिरहाको गोलबजारमा छुरा प्रहार गरेर एक दलित यूवकको ज्यान लिएको र अर्का दलित युवकलाई घाईते बनाएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेको पहिचान भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा असर पुग्ने भएकाले पक्राउ परेका व्यक्तिको परिचय तत्काल गोप्य राखिएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो भने उनकै साथी १९ वर्षिय निकेश सदाय घाइते भएका छन् । उनी अस्पतालमा उपचाररत छन् ।
घटनाको विरोधमा डोहटियाका बासिन्दा आईतवार र सोमवार घण्टौंसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग खोलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा आन्दोलनकारीसँग झडप समेत भयो । त्यसपछि प्रशासनले पीडित परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई पक्राउ गर्ने सहमती गरेको छ ।
मृतक परिवारलाई किरिया खर्चका लागि गोलबजार नगरपालिकाले ५० हजार रुपैया उपलब्ध गराएको बुझिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयले पनि ५ लाख रुपैया क्षतिपूर्ति बापत मृतक परिवारलाई उपलब्ध गराउने र घटनामा संलग्नमाथि कडा कारबाही गर्ने सहमती पनि भएको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved