७ पुस, काठमाडौं । सरकारले पुसको अन्तिम सातादेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिए पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने बताएका हुन् ।
बुस्टर डोज दिँदा क्रमशः फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी, वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई दिने मन्त्री खतिवडाले बताए ।
यसअघि राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने बताएका थिए । जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई बुस्टर डोज दिन सकिने भनी सल्लाहकार समितिले सिफारिस पनि गरिसकेको छ ।
ठूला नाकामा कडाइ गरिने
स्वास्थ्यमन्त्री खतिवडाले खुला नाका भएका कारण कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम संक्रमणको जोखिम बढी भएको भन्दै नाकाबाट आउजाउमा क्रमशः कडाइ गर्दै लैजाने बताए ।
ठूला नाका भएर आवातजावत गर्दा खोप लगाउन र खोप लगाएको प्रमाण पत्र बोकेर हिँड्न मन्त्री खतिवडाले आग्रह गरेका छन् ।
अस्पताल तयारी अवस्थामा
स्वास्थ्यमन्त्री खतिवडाले कोरोना संक्रमितको उपचार गर्न देशभरका अस्पताललाई तयारी अवस्थामा राखेको पनि दावी गरेका छन् । अस्पताहरुमा आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको उनको भनाइ छ ।
सरकारको सम्पूर्ण ध्यान कोरोना मुक्त गर्नमा केन्द्रित रहेको भन्दै उनले ओमिक्रोन भेरियन्ट देखिएसँगै यो अभियानमा थप चिन्ता बढाएको बताए । उनले अघि भने, ‘सरकार र मन्त्रालयले आफ्नो तर्फबाट जनशक्ति, अस्पताल तथा आवश्यक पर्ने सबै चिज सजग र सतर्कता अवस्थामा राखेका छौं ।’
मन्त्री खतिवडाले हाल १८ वर्षमाथि उमेर समूहका नागरिकलाई कोभिशिल्ड र भेरोसेल खोप अभियान सञ्चालन भइरहेको बताए । यसैगरी पुस ४ गतेदेखि १२ देखि १७ वर्षका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाउने अभियान पनि शुरु भइसकेको उनले बताए ।
१२ देखि १७ वर्ष उमेर समूहका विद्यालय नजाने किशोर किशोरीलाई नजिकको खोप केन्द्रमा खोप दिइने मन्त्री खतिवडाले बताए ।
के छ तयारी ?
स्वास्थ्य मन्त्री खतिवडाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखापर्ने वित्तिकै ओमिक्रोन प्रभावित दक्षिण अफ्रिकासहित ९ देशहरुबाट हुने हवाइ यात्रालाई प्रतिबन्ध लगाएको बताए ।
ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर ओमिक्रोन देखिएको देशमा ट्रान्जिट भएर आउने यात्रुलाई समेत सात दिनसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका उनको भनाइ छ ।
क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको स्वास्थ्य अवस्था राम्रो देखिएपछि मात्रै बाहिर जाने व्यवस्था गरेको उनले बताए । यस्तै स्थलमार्ग भएर आउनेलाई समेत नेपाल भारत सीमा नाकामा हेल्थ डेक्स राखेर परीक्षणको व्यवस्था मिलाएको उनले बताए ।
‘परीक्षणको क्रममा शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरी आवश्यक परेको अवस्थामा थप अनुसन्धान गर्ने गरेका छौं । त्यस्ता व्यक्तिहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था पनि मिलाएका छौं’ मन्त्री खतिवडाले भने ।
स्वास्थ्यमन्त्री खतिवडाले नेपालमा एन्टिजेन पोजेटिभ देखिएको नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने गरिएको समेत बताए ।






















