प्लास्टिक खाने कीरा पत्ता लाग्यो, वैज्ञानिकहरू किन उत्साहित भए ?

  • जेठ २७, २०७९ | ५०४ पटक पढिएको | सीमा संदेश
alt

बीबीसी । प्लास्टिक खान रुचाउने एक किसिमको लार्भाले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन् ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले “सुपरवर्म”को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाएका हुन् ।

उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम (पाचनरस) ले प्लास्टिक पचाउन सहयोग गर्छ । उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुन:प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ ।

“सुपरवर्म सानो पुन:प्रयोग कारखानाजस्तै हो। मुखले पोलिस्टाइरीन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने,” डा. क्रिस रिन्कले भने ।

कसरी पत्ता लाग्यो ?
यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए ।

पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाए । उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए ।

रेस्टुराँले बेच्ने खानेकुरा राख्न प्रयोग गरिने टेकअवे कन्टेनर र इन्सुलेशन तथा कारका पाटपुर्जा बनाउन पनि पोलिस्टाइरीन र स्टाइरीन चाहिन्छ । यो अनुसन्धानले प्लास्टिक रिसाइकल गर्ने कारखानाका रूपमा काम गर्न सक्नेगरी ती कीराको खेती गर्न सघाउँदैन ।

यद्यपि वैज्ञानिकहरूले ती कीराको पेटमा हुने सर्वाधिक प्रभावकारी जैविक रस चिन्ने प्रयास गर्ने छन्। त्यसबाट प्लास्टिक रिसाइक्लिङका लागि प्रयोग गर्न मिल्नेगरी ठूलो परिमाणमा ती जैविक रसको उत्पादन गर्न सकिने छ ।

माइक्रोबिअल जीनोमिक्स नामक वैज्ञानिक जर्नलमा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ । उक्त शोधपत्रका अनुसार एन्जाइम हालेर प्लास्टिक गाल्नका लागि उपकरण प्रयोग गरेर पहिला प्लास्टिकका ससाना टुक्रा पार्नुपर्छ ।

डा. रिन्कका अनुसार त्यो विधिबाट बनेको पदार्थ प्रयोग गरेर अरू सूक्ष्मजीवले बायोप्लास्टिकजस्ता मूल्यवान् यौगिकहरू बनाउन सक्छन् ।

के हो विशेषता ?
अनुसन्धानले यसअघि नै केही प्रजातिका खपटेकीराका लार्भाले पोलिस्टाइरीन खाने देखाएको थियो । तर यो अनुसन्धानले “एक कदम अगाडि” बढाएको अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका अनुसन्धानकर्ता कोलिन ज्याक्सनले बताए ।

उनी यो अनुसन्धानमा संलग्न थिएनन् । “यो अध्ययन धेरै अघि बढेको छ र यसले (सुपरवर्मको) पेटमा भएको ब्याक्टेरियाले कसरी अणुको तहसम्म काम गर्छ भन्ने बुझाउँछ,” प्राध्यापक ज्याक्सनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भने ।

त्यसैले यो बुझ्नु र यस प्रकारको विधि प्रयोग गर्नु यो अनुसन्धान महत्त्वपूर्ण रहेको उनको भनाइ छ । यसअघि अन्तर्राष्ट्रिय स्तरमा अन्य अनुसन्धानकर्ताहरूले पनि प्लास्टिक गाल्न सक्ने क्षमता भएका ब्याक्टेरिया र ढुसी पत्ता लगाएका थिए ।

“यस्तो प्रकारका अनुसन्धानमा थप अध्ययन सधैँ चुनौतीपूर्ण हुन्छ । किनभने प्लास्टिकले सिर्जना गरेको ठूलो समस्या र भविष्यमा प्लास्टिकको उत्पादन कति सस्तो पर्छ भन्ने कुराहरूसँग यो जोडिएको छ,” ज्याक्सनले भने ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब