भाँडा माझेको पैसा फिर्ता पाउन अदालतमा दौडधुप

  • भदौ २९, २०७९ | ६६० पटक पढिएको | सीमा संदेश
alt

बाँके  । धम्बोझीकी माया पासी हरदेवबक्स चौधरी अदालतमा आएको छ भन्ने थाहा पाउनेबित्तिकै दौडेर अदालतमा आइपुग्नुभयो । चौधरी अदालतमा तारिख दिन आउनुभएको थियो । चौधरी अदालतबाट बाहिर निस्किनेबित्तिकै गेटमै पासीलगायतले घेराबन्दी गरे ।

चौधरी सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जका अध्यक्ष हुन् । यो सहकारीले पासीजस्ता ११ हजार ४ सय ८ जना बचतकर्ताको ५८ करोड रुपियाँ हिनामिना गरेको छ । विगत तीन वर्षदेखि पासीको दैनिकी सहकारी पीडितका रुपमा सडकमा नारा लगाउनेदेखि अदालतमा तारिख दिन आउने रकम हिनामिना गर्नेलाई घेराबन्दी गर्ने रहेको छ ।

पासीले छोरीको विवाहका लागि सहकारीमा पैसा राख्नुभएको थियो । ‘अर्काको घरमा भाँडा माझेर सहकारीमा पैसा राखेको थिएँ । सहकारीका सञ्चालक र कर्मचारीले खाइदिए’, पासीले भन्नुभयो– ‘आफ्नो पैसा फिर्ता पाउनका लागि सडकमा नारा लगाइरहेका छौं ।’

विनय सोनी र सुवास मुराउ अध्यक्ष चौधरीलाई ‘हाम्रो पैसा कहिले पाउँछौं’ भन्दै प्रश्न गरिरहनुभएको थियो । विनयको १८ लाख ५० हजार र सुवासको ३ लाख रुपियाँ सहकारीले हिनामिना गरिदिएको छ । ‘मजदुरी गरेको पैसा जम्मा गरेका थिएँ । सहकारीले खाइदियो’, मुराउले भन्नुभयो– ‘अदालतले छिटो फैसला गरेर हाम्रो पैसा दिलाइदिओस् ।’अध्यक्ष चौधरी २१ लाख धरौटीमा छुटेका छन् । कर्मचारीले रकम हिनामिना गरेको रकमबाट किनिदिएको यूपी ४० एसी ६६२५ नम्बरको गाडीमा चौधरी अदालतमा तारिख दिन आउनुभएको थियो । रकम हिनामिनामा प्रत्यक्ष नजोडिए पनि पनि चौधरीले कर्मचारीबाट गाडी उपहार लिएको र मासिक १ लाख रुपियाँ बुझ्ने गरेको पीडितहरु बताउँछन् ।

अध्यक्ष चौधरीलाई दिनभरि घेरेर राखेका पीडितको एउटै प्रश्न थियो– ‘हाम्रो पैसा हामीले कहिले पाउँछौं ?’ चौधरीले आफूले रकम नखाएको र सबैसँग सल्लाह गरेर रकम उठाई सबैलाई दिने आश्वासन दिइरहनुभएको थयो । चौधरीको यो कुरालाई पीडितले विश्वास मानिरहेका छैनन् । सहकारी पीडित संघर्ष समितिका संयोजक विजय गुप्ताले अध्यक्ष चौधरी मेलमिलाप गरौं भनेर आइरहेको र आफूहरुले कसले कति हिनामिना गरेको छ, त्यो कुरा अदालतमा स्वीकार गर्न आग्रह गरिरहेको बताउनुभयो ।

हामीलाई त थाहा छैन । कुन सञ्चालक वा कर्मचारीले कति रकम हिनामिना गरेका छन् । उनीहरुलाई थाहा छ । त्यो कुरा उनीहरुले छलफल गरेर कसले कति तिर्ने भनेर आएमा पीडितलाई सम्झाएर मेलमिलाप गर्न सकिने गुप्ताको भनाइ छ । अध्यक्ष चौधरीले सहकारी सञ्चालन गर्न दिएमा बजारमा फसेको पैसा उठाएर तिर्ने बताइरहनुभएको पीडितहरु बताउँछन् ।
सहकारीको घोटालामा ४१ जनाविरुद्ध मुद्दा परेको छ । त्यसमध्येमा ६ जना जेलमा छन् भने अरु धरौटीमा छुटेका छन् ।
अदालती प्रक्रिया ढिलो हुँदा पीडित अझ पीडित बनेका छन् ।

सहकारी पीडित संघर्ष समितिका संयोजक गुप्ताले यो मुद्दालाई अदालतले छिटो टुंग्याइदिनुपर्ने बताउनुभयो । ‘अदालत धाउँदा धाउँदा दश जना पीडितको मृत्यु भइसक्यो । फैसला हुन अझै कति कुर्नुपर्ने हो । अनि, कतिले ज्यान फाल्नुपर्ने हो ?’, वरिष्ठ अधिवक्तासमेत रहेका गुप्ताले भन्नुभयो– ‘अदालतले छिटो मुद्दा टुंग्याइदिनुपर्छ । जति छिटो मुद्दा टुंगिन्छ । त्यति नै पीडितले न्याय र राहत पाउँछन् ।’

नेपालगञ्जमा मुख्य कार्यालय रहेको सहकारीले खजुरा र बैजापुरमा शाखा खोलेको थियो । घरघरमा कर्मचारी आउने भएकाले थोरै आम्दानी भएका व्यक्तिले समेत थोरैथोरै गरेर पैसा जम्मा गरेका थिए । मजदुरी गरेर, पसल चलाएर, भाँडा माझेर, विदेशबाट पठाएको पैसा राखेका पीडितहरु त्यही आफ्नो पैसा फिर्ता पाउन तीन वर्षदेखि नेपालगन्जको सडकमा कराइरहेका छन् । जिल्ला प्रहरी, सरकारी वकिल कार्यालयदेखि अदालत धाइरहेका छन् । अहिले आएर पीडितले पीडक भनिएकाहरुलाई घेराबन्दी गर्न थालेका छन् । यसले पीडक भनिएकाहरुको ज्यानको खतरा बढ्न सक्ने केहीले आशंका गरेका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब