को हो राष्ट्रपतिमा आठ दलको साझा उमेदवार ?

  • फागुन १३, २०७९ | ४५९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय तय गरिएको छ । यसका लागि उमेदवार टुंगो लगाउन आज बिहान नेपाली कांग्रेस, नेकपा एमालेले दलको बैठक बोलाएका छन् । 
 
संसदमा प्रतिनिधित्व गर्ने आठ दलले राष्ट्रपतिमा कांग्रेसको उमेदवारलाई सघाउने निर्णय गरेसँगै नेपाली कांग्रेसबाट राष्ट्रपति हुने लगभग पक्का भएको छ । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव राखेपछि सहभागी कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएपछि नेपाली कांग्रेसको उमेदवार नै राष्ट्रपति हुने वातावरण बनेको हो । 

नेपाली कांग्रेसले भने राष्ट्रपतिको उमेदवार कसलाई बनाउने भनेर निर्णय गरिसकेको छैन ।  यसका लागि आज बिहान साढे ८ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।

बैठकले औपचारिक रूपमा जसलाई निर्णय गर्छ उसले नै नेपालको राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पद सम्हाल्ने लगभग पक्का छ । 

अहिले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता मानबहादुर विश्वकर्माको नाम चर्चामा छ ।

देउवाको नाम पार्टी नेताहरुले प्रस्ताव गरिरहेका छन् भने बाँकीले आकांक्षा प्रकट गरिरहेका छन् । 

त्यसमध्ये कांग्रेस नेतृत्व र प्रभावशाली नेताहरुलाई विश्वासमा लिने प्रयास रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले गरिरहेको कांग्रेस नेताहरु बताउँछन् । उनीहरुको बुझाइमा राष्ट्रपतिको उमेदवार बन्ने सम्भावना भने रामचन्द्र पौडेलको नै बढी छ । 

“रामचन्द्र पौडेल र कृष्ण सिटौला दुबैजना राष्ट्रपतिको रेशमा हुनुहुन्छ । सिटौलाजीको तीव्र आकांक्षा छ, उपयुक्त उमेदवार पनि हो,” कांग्रेस संस्थापनका एक नेताले बाह्रखरीसँग भने, “तर, सभापति शेरबहादुर देउवाजीको इच्छा रामचन्द्र पौडेललाई नै बनाउने पक्षमा देखिएपछि निर्णय पनि सोही अनुुरुप नै हुन्छ ।” 

ती नेताका अनुसार औपचारिक निर्णयका लागि कार्यसम्पादन कुर्नु उपयुक्त भए पनि निर्णय अर्को हुने आधार भने आफूले नदेखेको बताए । 

नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसी भने पार्टीका कुनै पनि तहमा छलफल नभएको भन्दै कसका विषयमा निर्णय हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउँछन् । 

“हाम्रो पार्टीले बैठकअघिसम्म राष्ट्रपति पाउने सुनिश्चित नभइसकेको हुँदा अहिलेसम्म कार्यसम्पादन समिति वा केन्द्रीय समिति कतै पनि राष्ट्रपतिको उमेदवार बनाउने विषयमा छलफल भएको छैन,” केसीले बाह्रखरीसँग भने, “त्यसैले अहिले नै यस विषयमा अनुमान गर्नु उपयुक्त हुँदैन ।” 

उनले राष्ट्रपति उमेदवार विषयमा निर्णय गर्न शनिबार कार्यसम्पादन समिति बैठक डाकिएको भन्दै यति महत्वपूर्ण विषयमा कार्यसम्पादनले मात्र निर्णय लिनु उपयुक्त नहुने धारणा राखे । 

“राष्ट्रिय जीवनमै महत्व राख्ने राष्ट्रपतिको विषयमा निर्णय लिन केन्द्रीय समितिकै बैठक डाक्नु उपयुक्त हुन्थ्यो,” केसीले भने, “यस विषयमा कार्यसम्पादन समितिमा कुरा उठ्छ । निर्णय प्रक्रियालाई  फराकिलो पार्ने नपाउर्ने कुरा पदाधिकारीहरुको भूमिकामा निर्भर हुनेछ ।” 

कांग्रेसमा संस्थापनइतर पक्ष पनि पौडेलकै पक्षमा निर्णय हुने विश्वासमा छन् । 

उनीहरु सिटौलाका पक्षमा निर्णय गराउन सहज नभएको भन्दै कार्यसम्पादन समितिको निर्णयअघि नै सभापतिको इच्छाले काम गर्ने बताउँछन् । 

“कार्यसम्पादन समिति त औपचारिकताका लागि बस्ने हो । सभापतिको इच्छा नै रामचन्द्र पौडेललाई बनाउने भएपछि निर्णय त्यसमै हुने हो,” संस्थापनइतरका एक नेताले बाह्रखरीसँग भने, “हाम्रो पनि रामचन्द्रजीका विषयमा कुनै असहमति नरहेकाले अरु नाममा सम्भवतः छलफल नहुन पनि सक्छ ।”  

उनले सिटौला आफैँले इच्छा देखाएर प्रस्ताव राखेमा मात्र त्यो विषय छलफलमा आउने बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब