काठमाडौँ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालले खर्च गर्न नसक्ने भएकाले दातृ निकायले सहयोग दिँदैनौँ भनेको खुलासा गरेका छन्।
आफ्नै मन्त्रालयले शुक्रवार काठमाडौँमा आयोजना गरेको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) को समीक्षात्मक बैठकमा मन्त्री महतोले यस्तो खुलासा गरेका हुन्।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लगानी गर्न आफूले आग्रह गर्दा दाताले नेपालमा खर्च गर्नसक्ने क्षमता नै नभएकाले सहयोग दिन नसकिने जवाफमा दिएको र त्यसले आफूलाई लज्जित बनाएको गुनासो गरे।
यसैले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे।
उनले जलवायु परिवर्तनसम्बन्धी बजेट समयमै खर्च गर्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई सचेत गराए। त्यसो भएमात्रै थप बजेट माग्न सकिने मन्त्री महतोको भनाइ थियो।
मन्त्री महतोले भने, ‘यसपालिको कोपमा हामी विश्वको ध्यानाकर्षण गराउन सफल भयौँ। फण्ड त आएको छ। त्यो पैसा हामीले कहिले खर्च गर्ने? ५ वर्षको प्रोग्रामका लागि १२ वर्ष भइसक्यो। त्यो पैसा जहाँको त्यहीँ छ। म्याक्सिमम तलबभत्तामा खर्च गर्यौँ तर डेभलभमेण्ट सेक्टरमा आएको सहयोग हामीले छुन पनि सकेनौं। नेपाललाई देखिने गरी गर्नुपर्यो भन्दा सानो खर्च गर्न त सक्दैनौ भन्ने कुरा आएपछि कस्तो लाज। आएको फण्ड र ग्रान्ट हामीले टाइममै खर्च गर्यौँ भने माग्न सजिलो हुन्छ।’
मन्त्री महतोले कोप–२८ मा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्याबारे विश्वलाई जानकारी गराउन सके पनि त्यस्तो सहयोग परिचालन गर्न भने ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
सचिव खरालले कोप–२८ सफल बनाउन सशक्त र प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गरे।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved