ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कैथ रोलीले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा आतंकवादी हमलाको ‘थ्रेट’ आएको बताएका छन् । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा विश्वकप गर्दै छ । प्रधानमन्त्री रोलीले वेस्ट इन्डिजमा रहेका सुरक्षा एजेन्सीले सम्भावित हमलाको निगरानी गरिरहेको जनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र क्रिकेट वेस्ट इन्डिजले विश्वकपलाई सुरक्षित रूपमा आयोजना गर्न सबै किसिमको सुरक्षा योजना तयारी अवस्थामा जनाएका छन् ।
विश्वकप वेस्ट इन्डिज र अमेरिकामा गरी कुल नौ सहरमा हुुनेछन् । जसमध्ये वेस्ट इन्डिजका ६ र अमेरिकाका तीन सहरमा खेल आयोजना हुनेछन् । अमेरिकामा भन्दा वेस्ट इन्डिजमा हुने खेलमा सुरक्षा खतरा भएको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । ‘२१औँ शताब्दीमा आतंकवादको खतरा विभिन्न रूपमा देखिएका छन्, टी–२० विश्वकपमा पनि आतंकवादी हमलाको चेतावनी छ,’ प्रधानमन्त्री रोलीले क्लिकइन्फोसँग कुराकानी गर्दै भने, ‘हामीले प्रतियोगीलाई सुरक्षित रूपमा आयोजना गर्न सबै किसिमका तयारी गरेका छौँ ।’ उनले आतंकवादीको चेतावनी आए पनि कुन समूहबाट ‘थ्रेट’ आएको भनी खुलासा गरेका छैनन् ।
ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कैथ रोलीले आगामी जुनमा हुने विश्वकपमा आतंकवादी हमलाको सूचना पाएको खुलासा गरेका छन् । अमेरिकामा भन्दा वेस्ट इन्डिजमा आतंकवादी हमलाको ‘थ्रेट’ आएका छन् ।
यसैबीच, आइसिसीले समेत आतंकवादी हमलाको सम्भावनालाई पुष्टि गरेको छ । आइसिसीले खेलाडीदेखि दर्शकलाई सुरक्षित राख्ने दायित्व हाम्रो पनि हो, यसमा हामीले सतर्कता अपनाएका छौँ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइसिसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना बनाएको छ ।’ आइसिसीले दुवै आयोजक राष्ट्रसँग पछिल्लो घटना सम्बन्धमा छलफल गरेको जनाएको छ ।
‘हामी आयोजक मुलुक र स्थानीय प्रशासनसँग निकट रहेर काम गरिरहेका छौँ, हाम्रो नजर कुनै पनि जोखिम हटाउनेतर्फ केन्द्रित छ,’ आइसिसीले भन्यो । यसैबीच, बिसिसिआईका अध्यक्ष राजीव शुक्लाले विश्वकपलाई सुरक्षित रूपमा आयोजना गर्ने दायित्व आयोजक राष्ट्र भएको बताए । ‘विश्वकपमा आतंकवादी हमला हुने प्रश्न छ, यसविरुद्ध लड्न आयोजक राष्ट्रहरू तयार हुनुपर्छ, उनीहरूले नै खेलाडीदेखि समर्थकसम्मलाई सुरक्षित रूपमा राख्नुपर्छ,’ शुक्लाले भने, ‘हामी पनि यसमा सहयोग गर्न तयार छौँ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved