काठमाण्डौ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत 'टिम अफ दी ईयर'को अवार्ड राष्ट्रिय महिला कबड्डी टोलीले जितेको छ । चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो ।
त्यस्तै २०८० को वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन् । हेमन्तले भारतमा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।
नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि जितेको यो पहिलो कास्य थियो । करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । श्रेष्ठको नेतृत्वमा १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन ।
एनएसजेएफ स्पोर्ट्स अवार्डअन्तर्गत स्पेसल अवार्ड भलिबलकर्मी कुमार राईले पाएका छन् । पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन् । तर यो अवार्ड उनले १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन् ।
काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी विभिन्न विधामा २०८० को अवार्ड घोषणा गरिएको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved