रत्न कुमारी र नेत्र कुमारीको हत्यारा पत्ता लगाउने ‘टाइगर’ सर्वोत्कृष्ट

  • कार्तिक १५, २०८१ | ३६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । अपराध अनुसन्धान गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको हो ।अनुसन्धान गर्ने कुकुर उत्पादन र व्यवस्थापन महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयले गर्छ । केनाइन कार्यालयको प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. देउती गुरुङ हुन् ।

अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको डीआईजी डा. गुरुङले रातोपाटीलाई बताइन् ।अनुसन्धान गर्न ६ प्रजातिका कुकुर प्रहरीसँग छ । ल्याबराडोर, जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, गोल्डेन रिट्रिभर, कोकर स्पानियल र बिगल प्रजातिका कुकुरले अनुसन्धान गर्छन् । 

हत्यारा पत्ता लगाउन ट्रयाकर डग प्रयोग गरिन्छ । विपद् व्यवस्थापन, उद्धार, लागु औषध र हत्याको घटनामा पनि अनुसन्धान अधिकृतहरूले कुकुरको सहयोग लिन्छन् ।

महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयमा ३६ वटा कुकुर छन् । ती कुकुरलाई काठमाडौँ उपत्यका र आसपासका जिल्लामा अपराध हुँदा अनुसन्धानमा परिचालन गरिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ११ वटा कुकुर छन् । 

विमानस्थलमा रहेका कुकुर लागु औषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने क्षमता राख्छन् । वेल्जियम मेलिनोई जातको कुकर चाहिँ सबै प्रकारका अनुसन्धानमा पोख्त मानिन्छ । 

विमानस्थलमा एयर इन्डिया र भिस्तारा एयरमा बम राखिएको हल्ला फैलिएपछि चेकजाँचमा कुकुर परिचालन गरिएको थियो । कार्तिक १२ मा एयर इन्डिया एआई–२१६ मा र कार्तिक ६ मा भिस्तारा एयरको विमानमा चेकजाँचपछि प्रहरीका कुकुरले विस्फोटक पदार्थ नरहेको सङ्केत गरे ।

प्रहरीलाई अहिले ब्लडहाउण्ड प्रजातिको कुकुरको खाँचो छ । सुँघ्ने क्षमता अत्यधिक भएको ब्लडहाउण्ड जातको कुकुर हत्या अनुसन्धानमा प्रयोग गरिन्छ । यसअघि गोंगबु हत्या पत्ता लगाएको ट्रयाकर डग जोजो मरिसकेको छ । बजार मूल्य ६ लाख रुपैयाँ पर्ने ब्लड हाउण्ड विदेशबाट ल्याउने प्रयास भइरहेको डीआईजी डा. गुरुङले बताइन् । 

अमेरिकाबाट वासिङ मेसिनमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको गाँजा पनि पनि कुकुरले नै पत्ता लगाएको थियो । २०८० चैत ४ मा बालुवाटार स्थित सुशान्त इम्पेक्सले आयात गरेको वासिङ मेशिन चेकजाँचमा परिचालित कुकुरले सङ्केत गरेपछि खोलेर हेर्दा २० केजी गाँजा भेटिएको डीआईजी गुरुङले जानकारी दिइन् । 

  • टाइगर सर्वोत्कृष्ट 

जर्मन सेफर्ड प्रजातिको ‘टाइगर’ यस वर्षको सर्वोत्कृष्ट कुकुर बन्न सफल भएको छ । टाइगरले सिन्धुपाल्चोक र नुवाकोटमा भएका दुईवटा हत्याका घटना सफलतापूर्वक अनुसन्धान गरेको छ ।

२०८१ कार्तिक १८ मा बाह्रबिसे नगरपालिका–७ स्थित खनियाबासमा तेज विक्रम थापाकी पत्नी ७२ वर्षीया रत्न कुमारी थापा घरमै मृत फेला परिन् । हत्या आशंकामा सो घटना अनुसन्धान गर्न काठमाडौँबाट टाइगरलाई सिन्धुपाल्चोक पठाइएको डीआईजी गुरुङले बताइन् । 

वरिष्ठ हवल्दार भीमप्रसाद गौतमले टाइगरलाई ह्याण्डल गरेर सिन्धुपाल्चोक गएका थिए । कोदोबारीमा भेटिएको फुट प्रिन्टको छापमा ह्याण्डलरले उसलाई सुँघाएर परिचालन गरे । 

त्यसपछि कुकुरले करिब साढे ३ किलोमिटरसम्म ओरालो तर्फ ट्रयाक लिएर खेतसम्म पुगेको वरिष्ठ हवल्दार गौतमले बताए । रातोपाटीसँग उनले भने, ‘सो सङ्केतको आधारमा काठमाडौँको गोंगबुबाट आरोपी पक्राउ परेका हुन् ।’ 

नुवाकोटको शिवपुरी गाउँपालिका–९ स्थित बखती टोलमा ७५ वर्षीया नेत्र कुमारी क्षेत्री घरसँगै बाख्राको खोरमा मृत भेटिइन् । २०८० कार्तिक ९ मा भएको सो घटना पत्ता लगाउन अनुसन्धान अधिकृतहरूले टाइगरलाई परिचालन गरे । 

नेत्र कुमारी सुत्ने कोठामा फेला परेको खुर्पाको बिँड सुँघाएर छाड्दा टाइगरले टिनको बाकसतर्फ सङ्केत गरेको र शव फेला परेको गोठ हुँदै १ किलोमिटर ट्रयाकमा दौडियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार हत्यामा संलग्न आरोपीले खुर्पा प्रयोग गरेर टिनको बाकस फुटाएका थिए । 

मूल सडकमा टाइगर अलमलिएपछि पुनः कास्टिङ सेन्ट दिएर छाड्दा ५ सय मिटर ट्रयाक लिएको ह्याण्डलर गौतमले बताए । त्यसपछि अनुसन्धान अधिकृतहरूले बेल्जियन सेफर्ड रोज नामको कुकुरलाई खुर्पाको बिँड सुँघाएर छाड्दा कुकुरले हत्यामा संलग्न आरोपी बस्ने घरमा पुगेर रोकियो । सो सङ्केतको आधारमा आरोपी पक्राउ परेका हुन् । 

दुईवटा घटना सफलतापूर्वक अनुसन्धान गरेको हुनाले टाइगरलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको डीआईजी गुरुङले बताइन् । कुकुर तिहारको अवसरमा टाइगरलाई मेडल प्रदान गरिएको छ । साथै, ह्याण्डलर भीमप्रसाद गौतमलाई केनाइन कार्यालयले पुरस्कृत गरेको छ । ह्याण्डरलाई नगद पुरस्कार प्रदान गरिएको डीआईजी गुरुङले जानकारी दिइन् । 

  • रिटायर भएपछि व्यवस्थापन गर्ने ३ तरिका 

ट्रयाकर डग करिब ६ देखि ७ वर्ष काम गरेपछि अनुसन्धानमा खट्न सक्दैनन् । उनीहरूको जोर्नीमा समस्या आउँछ । 

विस्फोटक पदार्थबारे अनुसन्धान गर्ने कुकुर चाहिँ धेरै समय काम गर्न सक्छन् । उनीहरूमा सिक्ने क्षमता र सुँघ्ने क्षमता पनि धेरै हुन्छ । अनुसन्धानमा प्रयोग गरिने कुकुरसँग २५० मिलियन सेल्स हुन्छ । सामान्य कुकुरमा त्यति धेरै सेल्स नहुने प्रहरीको भनाई छ । 

अनुसन्धानको काममा लाग्न नसक्ने भएपछि ३ किसिमबाट कुकुरको व्यवस्थापन गर्ने गरी केनाइन कार्यालयले कार्यविधि पारित गरेको छ । 

ह्याण्डलरलाई जिम्मा लगाउने, प्रहरीका परिवारलाई दिने र सूचना निकालेर सर्वसाधारणलाई समेत जिम्मा दिने गरी कार्यविधि बनाएको डीआईजी गुरुङले बताइन् । उनले भनिन्, ‘प्रहरी महानिरीक्षकबाट निर्णय गराएर कार्यविधि लागु गरेका छौँ ।’ 

रिटायर्ड भएका कुकुरलाई घरमा लगेर राख्ने र पालन पोषण गर्ने पहिलो हकदार सम्बन्धित कुकुरको ह्याण्डर नै हुन्छन् ।  ठुलो प्रजातिको कुकुर कम समय र साना प्रजातिका कुकुर धेरै समय बाँच्छन् । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब