जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता पक्का, संसद्‌मा छैटौँ ठूलो दल बन्दै

  • फागुन १, २०८१ | २८७ पटक पढिएको | सीमा संदेश
alt

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुने पक्का भएको छ।

अहिले एकताको 'मजबुत' आधार तयार पार्नका लागि जनमतका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी लागिपरेका छन्। उनीहरूका बीचमा शृङ्खलाबद्ध रूपमा संवादसमेत हुने गरेका छन्।

पार्टी एकता हुने पक्का भइसकेको र अन्तिम संवाद मात्रै बाँकी रहेको नेताहरूले बताएका छन्। अन्तिम संवाद नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी नेपाल फर्केपछि हुने संरक्षक रेशम चौधरीले जानकारी दिए। अहिले रञ्जिता देश बाहिर छिन्।

चौधरीका अनुसार पार्टी एकताको आधार तयार भइसकेको छ। 'एकताका लागि आधार लगभग तयार भइसकेको छ। हाम्रा बीचमा समान विचारधारा भएकाले पनि एकताका लागि सहज छ। फेरि हामी दुबै आन्दोलन, सडकबाट उठेको नेता हौँ। जनताका खातिर जेलनेल भोगेका नेता हौँ। त्यसकारण एकताका लागि आधार तयार भइसकेको छ। शुभखबर चाँडै सुन्न पाउनुहुन्छ,' चौधरीले नागरिकसँग भने, 'सकेसम्म चाँडै गर्दैछौँ। अध्यक्षज्यू (रञ्जिता श्रेष्ठ चौधरी) नेपाल फर्किनुभएपछि अन्तिम संवादमा बस्छौँ।'

त्यसो त जनमत र नागरिक उन्मुक्तिको बीचमा पार्टी एकताको प्रयास पछिल्लो संसदीय निर्वाचनलगत्तै सुरु भएको हो। यद्यपि, यसबारे धेरै कुराहरू बाहिर आएका थिएनन्। तर, यहाँसम्म आइपुग्दा एकताको आधार तयार भइसकेको जनमतका प्रवक्ता डा. शरदसिंह यादव बताउँछन्। 'एकता हुने भनेरै अगाडि बढिसकेका छौँ। त्यसको आधार तयार भइसकेको छ। उच्च तहमै सहमति भएको छ, थप संवाद हुँदैछन्,' प्रवक्ता यादवले नागरिकसँग भने।

यादवले राज्यसत्ताको विभेदविरुद्ध शक्ति निर्माण गरेरै खडा हुनुपर्ने निष्कर्ष आफूहरूले निकालेको पनि सुनाए। 'थारूहरूमाथि पनि विभेद छ। यसमा हामी मिलेरै अगाडि बढ्ने भन्ने सहमति भएको छ। पहिले पनि हामीले कार्यगत एकता गरेका हौँ। जनताका हक र हितका लागि अब हामी मिल्दैछौँ,' उनले भने।

कसले गर्छ एकीकृत पार्टीको नेतृत्व ?

एकतापछिको पार्टीको नेतृत्व कसले गर्छ ? भन्नेबारे टुङ्गिन बाँकी रहेको दुबैतर्फका नेताहरूले बताएका छन्। तर, त्यसमा कुनै समस्या नरहेको उनीहरूको दाबी छ।

पार्टीको नाम के हुने, सङ्गठनात्मक स्वरूप कस्तो हुने, कसले नेतृत्व गर्ने, विचारधारात्मक रूपमा कसरी अगाडि जाने भन्ने कुरामा सहमति हुन बाँकी रहे पनि त्यसमा समस्या नरहेको चौधरी बताउँछन्। 'हेर्नुस् यो ठूलो कुरा होइन हाम्रा लागि। पहिलो त विचारधारात्मक कुरामा हामीबीच समान छ। डा. साब (चन्द्रकान्त राउत) सँग कुराकानी हुँदा त उहाँले तपाईं गर्नुस् भन्ने अनि मैले तपाईं गर्नुस् भन्ने भइरहेको छ। त्यसमा समस्या हुँदैन। मिलिहाल्छ,' उनले भने, 'हाम्रो प्रमुख स्वार्थ जनसेवा हो। उत्पीडितहरूको पक्षमा लाग्ने हो।'

त्यसबाहेक पार्टीको नाम, सङ्गठनात्मक स्वरूपबारे पनि आफूहरू चाँडै निष्कर्षमा पुग्ने उनले बताएका छन्। जनमतका प्रवक्ता यादव पनि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा समस्या नरहेको बताउँछन्। तर, संस्थागत रूपमा टुङ्गिन भने बाँकी रहेको उल्लेख गर्दै उनले भने, 'दुबै पार्टीको नीति जनसेवा हो। यही प्रष्ट नीति भइसकेपछि अरु गौण कुरा हुन्। समस्या हुँदैनन्,'उनले भने।

नेताहरूले यस क्रममा समान विचार भएका दलहरूलाई एकताका लागि प्रस्तावसमेत गरेका छन्। विचार मिल्ने दलहरू छुट्टै बसेर केही नहुने तर्क दुबैतर्फका नेताहरूको छ।

संसद्‌मा छैटौँ ठूलो दल

जनमत र नागरिक उन्मुक्तिबीच एकता भएपछि बन्ने एकीकृत दल संसद् (प्रतिनिधिसभा) को छैटौँ ठूलो दल बन्नेछ। अहिले संसद्‌मा रहेका १३ वटा दलमध्ये जनमत आठौँ र नागरिक उन्मुक्ति एघारौँ ठूला दलहरू हुन्। यदि यी दुई दलका बीचमा एकता भयो भने त्यो पार्टी छैटौँ ठूलो दल बन्नेछ। 

अहिले संसद्‌मा क्रमश: कांग्रेस (८९), एमाले (७८), माओवादी (३२), रास्वपा (२१), राप्रपा (१४), एकीकृत समाजवादी (१०), जसपा (७), जनमत (६), जसपा नेपाल (५), लोसपा (४), नागरिक उन्मुक्ति (४), राष्ट्रिय जनमोर्चा (१) र नेमकिपा (१) छन्।

यी दुई पार्टीबीच एकता हुँदा जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १० सिट हुन्छ। त्यो सिटको हैसियत संसद्‌मा छैटौँ हो। संसद्‌मा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सिट नै छ। यसरी हेर्दा दुईवटा छैटौँ ठूला दल हुन्छन्। त्यो सिटले सरकारलाई घच्घच्याउनका लागि पनि सहज हुने नागरिक उन्मुक्ति र जनमतका नेताहरूले बताएका छन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब