संविधान दिवसमा कैद मिनाहा पाएका व्यक्तिले गरे पूर्वश्रीमती र दुई बच्चाको हत्या

  • जेठ १५, २०८२ | ३८१ पटक पढिएको | सीमा संदेश
alt

सहोदर दाइको हत्या कसुरमा जन्मकैद सजाय तोकिए पनि नौ वर्षमै राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेका बुटवलका सुजन कोइरालाले पूर्वश्रीमती र उनका दुई छोरीको ज्यान लिएका छन् । सुजनले दीपा बस्याल र उनका ७ वर्ष र २ वर्षका दुई छोरीलाई बुटवल उपमहानगरपालिका–११, मिलिजुली पथस्थित आफ्नो घर बोलाएर हत्या गरेका हुन् । 

२०६९ पुसमा माइला दाइ सुदीपको हत्या गरेर जेल चलान भएका सुजन संविधान दिवसका अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजाय मिनाहा पाएर ३ असोज २०७८ मा छुटेका थिए । प्रहरीका अनुसार हत्या घटनाको एक वर्षअघि सुजनले दीपासँग विवाह गरेका थिए ।

सुजन जेलमै रहेका बेला २०७२ सालमा दीपाले सम्बन्धविच्छेद गरेकी थिइन् । उनले नवलपरासीका युवकसँग विवाह गरेकी थिइन् । त्यसपछि दीपाका दुई छोरी जन्मिएका थिए । उनका श्रीमान् भने वैदेशिक रोजगारीका लागि दुबईमा छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षत्रीका अनुसार पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुन्सरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दीपा आमाजुको बिहेका लागि मंगलबार दुई छोरीसहित बुटवल झरेकी थिइन् । राति भने उनी छोरीसहित सुजनको घरमा बसेकी थिइन् । सुजनले भान्साकोठा मर्मतका लागि बोलाएका अर्जुन रन्जन नामका व्यक्तिले बुधबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजन पक्राउ परिसकेका छन् । झगडा भएपछि तनाव खेप्न नसकेर हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार सुजनले चक्कु र हतौडा प्रयोग गरेर तीनै जनाको ज्यान लिएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । सुजनको मूल घर तानसेन–७ बाघखोर प्रभास हो । उनले २०६९ सालमा भने पसल धितो राखेर ऋण निकाल्न नमान्दा दाइको ज्यान लिएका थिए ।

त्यति बेला सुजनले घरमै दाइको हत्या गरेर शव कारमा राखेर सिद्धार्थ राजमार्गको केराबारीनजिकै भीरबाट खसालेका थिए । दाइको हत्याका लागि उनले चौराह, दैलेखका कालु चन्दको सहयोग लिएका थिए । हत्यापछि सुजनले बेपत्ता दाइको लास या सास नभेटे पाल्पा बन्द गर्नेसम्मको अभिव्यक्ति दिएका थिए । घरपरिवारले भने सुदीप घरबाट बेपत्ता भएको भन्दै प्रहरीमा खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएको थियो ।

प्रहरी अनुसन्धानमा हत्या सुजनले नै गरेको देखिएपछि पक्राउ गरेर अदालतमा पेस गरिएकामा २७ पुस २०६९ मा पुर्पक्षका लागि कारागार पठाउने आदेश आएको थियो । २९ माघ २०७० मा जिल्ला अदालत पाल्पाले सुजनलाई जन्मकैदको फैसला गरेको थियो । २० वर्ष कैद सजाय पाएका सुजनलाई सर्वोच्च अदालतले राय प्रयोग गरेर १६ वर्षको जेल सजाय तोकेको थियो ।

पाल्पा कारागारमा रहेका सुजनलाई २७ असार २०७१ मा सिन्धुपाल्चोक कारागार चलान गरिएको थियो । त्यहाँको कारागारबाट भागेका सुजनलाई पाल्पा प्रहरीले ३१ वैशाख २०७२ मा पक्राउ गरी जेल पठाएको थियो ।

१८ फागुन २०७३ मा भने उनलाई मकवानपुरस्थित भीमफेदी कारागारमा बुझाइएको पाल्पा कारागारले जनाएको छ । त्यसपछि पोखरालगायतका कारागारमा बसेका उनी साढे तीन वर्षअघि बाँकी कैद मिनाहा पाएर छुटेका थिए । कारागारबाट छुटेपछि बुटवलस्थित आफ्नै घरमा व्यापार–व्यवसाय गर्दै आएका थिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब