धरान उपमहानगरपालिकाको संयोजकत्व र नेपाल सितोरियो कराते संघ धरानको आयोजनामा आज सम्पन्न भएको "तेस्रो बी.पी. मेमोरियल महिला राष्ट्रिय कराते प्रतियोगिता २०८२" मा गोलबजार नगरपालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि जितेको छ।
गोलबजार नगरपालिकाले कुल ३ स्वर्ण पदक र ४ कास्य पदक हात पार्दै प्रतियोगिताको प्रथम स्थान हासिल गरेको हो। उत्कृष्ट सामूहिक प्रदर्शनका साथ प्रतियोगितामा अग्रणी रहेको गोलबजारको यो सफलता सबैका लागि प्रेरणादायी बन्यो।
त्यसैगरी, आयोजक धरान उपमहानगरपालिकाले २ स्वर्ण र ४ रजत पदक जित्दै दोस्रो स्थान हासिल गर्यो भने धनकुटा टिमले १ स्वर्ण र २ रजत पदक हात पार्दै तेस्रो स्थानमा सन्तोष मान्नुपर्यो।
यस ऐतिहासिक उपलब्धिप्रति गोलबजार नगरपालिकाले सम्पूर्ण खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापनलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको छ।
प्रतियोगिताले महिला खेलकुद क्षेत्रमा आत्मविश्वास, प्रतिस्पर्धा र क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ। नेपालका विभिन्न स्थानबाट सहभागी टिमहरूले कराते खेलको विकास र महिला सहभागिता विस्तारमा सशक्त भूमिका निर्वाह गरेको देखिएको छ।
गोलबजार नगरपालिकाको तर्फबाट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै पोर्सिया चौधरी थारु, बिनिशा गुरुङ र मोनलिका कुमारीले आ–आफ्नो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जिते। यस्तै, परिना शाही ठकुरी, सोनिया बानियाँ, सपना पासवान र रबिना परियारले दमदार खेल देखाउँदै कास्य पदक हात पार्न सफल भए। उनीहरूको उत्कृष्ट प्रदर्शनले गोलबजारलाई समग्रमा टिम च्याम्पियन बनाउने गौरव प्रदान गर्यो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved