सिरहा । गत वर्षको बदला लिँदै सलहेस युवा क्लब सिरहाले तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चर्चब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेसले उपाधि जितेको हो ।
दोस्रो हाफको ७९ औं मिनेटमा सलहेसका सुनिल खड्काले गोलको खाता खोलेका थिए । सुनिलले डि बक्स बाहिरबाट प्रहार गरेर गोल गर्न सफल भएका हुन् । सलहेसको तर्फबाट ९० औं मिनेटमा युसुफ मल्लिकले दोस्रो गोल गरे र आफ्नो टिमको जित सुनिश्चित गर्न सफल भए । उनले हेडमार्फत गोल गरेका हुन् ।
युसुफले प्रतियोगिताभरिमा पाँच गोल गरेको आयोजकले बताएका छन् । प्रतियोगिताको ८१ औं मिनेटमा सलहेसका फागुराम थारू र चर्चब्वाइजका चन्दन दासले रेडकार्ड पाए र खेलबाट एकसाथ बाहिरिए । रेफ्री श्याम दनुवारले दुवैजनालाई रेडकार्ड दिएका थिए । दनुवारले फाइनलको दिन सातौ पहेँलो कार्ड देखाए ।
सलहेसले ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझाउनु पर्यो । उपाधि विजेता र उपविजेतालाई प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री योगेश भट्टराई र कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामलगायतले ट्रफी तथा पुरस्कार वितरण गरे ।
खेलको सर्वोत्कृष्ट खेलाडी सलहेसका छिरिङ गुरुङ भए । उनले यमाहाको मोटरसाइकल पाए । वेष्ट गोलकिपर सलहेसकै रेम्वो चौधरी हुँदा वेष्ट डिफेन्डर आविस्कार खड्का बने । मिड फिल्डर युवराज ढकाल भए । वेष्ट फरवार्ड आकाश राई भए भने हाइस्कोरर पाँच गोलसहित सलहेसका युसुफ र वेष्ट कोच राजीवकुमार यादव भए । उदाउँहो खेलाडीको उपाधि भने आयोजक तेल्लोकबाट खेलेका सुहाङ लिम्बू भए । उनी तेल्लोकका गोलकिपर हुन् ।
गत वर्ष मोरङसँग १–० ले पराजित भएको सलहेस यसवर्ष दोहोर्याएर बोलाइएको एक मात्र टिम हो । आयोजक लाखे जात्रा संचालन समितिले बाँकी सात टिम नयाँ बोलाएको थियो । सलहेस यस वर्ष चारजना विदेशी खेलाडीसहित सहभागी भएको थियो । उसले खेल अवधिभर एक गोल पनि खाएन ।
लाखे जात्राको अवसरमा साउन २४ गते जनै पूर्णिमा तथा रक्षा बन्धनदेखि सुरु भएको प्रतियोगितामा भारतको एकसहित आठ टिम सहभागी थिए । स्पोर्टिङका सुहाङ लिम्बू भए । उनी तेल्लोकबाट गोलकिपर खेलेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved